–हिरालाल रेग्मी
उपप्राध्यापक, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ
लेखसारः
मध्यकालीन नेपालको इतिहासमा बाइसी चौबीसी राज्यका राजाहरुले स्थापना गरेका विभिन्न कोटघरहरु पर्वत जिल्लामा छन् । कोटघर भएको स्थानमा तत्कालीन समयमा निर्माण गरिएका राजदरबार तथा अन्य संरचनाहरु भग्नावशेष भइसकेका छन् । तर पनि कोटघरहरुमा भुमे देवताको थान तथा देवी भगवतीको मन्दिर स्थापना गरेर बडादसैं, चैत्राष्टमी लगायत अन्य पर्वहरुमा पूजा–आजा हुने गर्दछ । मध्यकालमा अस्तित्वमा रहेका चौबीसे राज्यहरु नेपालमा गाभिएपछि तत्कालीन राजदरबार तथा त्यहाँ रहेका अन्य संरचनाहरु राज्य र स्थानीयबासीको उचित संरक्षणका अभावमा विस्तारै ध्वस्त र धराशायी हुँदै गए । हाल पर्वत जिल्ला अन्तर्गत महाशिला गाउँपालिकाको होश्राङ्दीमा अवस्थित पैयुँकोट धार्मिक तथा पर्यटकीय र पुरातात्विक महत्वका दृष्टिले पर्वत जिल्लाकै महत्वपूर्ण धार्मिक सम्पदास्थल र सांस्कृतिक धरोहरका रुपमा परिचित छ । १६ औं शताब्दीदेखि १९ औं शताब्दी (वि.स. १५०२–१८४२) सम्म अस्तित्वमा रहेको पैयुँ राज्य अन्तर्गतको राजधानीका रुपमा यो कोट रहेको थियो । यस क्षेत्रको महत्वपूर्ण धार्मिक सम्पदास्थलका रुपमा चिनिएको पैयुँकोट विकास र संरक्षणका खातिर पर्खिएर बसेको छ भने तत्कालीन पैयुँ राज्यको पैयुँकोट दरबार र शितकालीन राजधानी रहेको फूलबारी दरबार भने भग्नावशेष भइसकेका छन् । ऐतिहासिक र धार्मिक महत्वका दृष्टिले महत्वपूर्ण मानिएको साथै आर्थिक र पर्यटकीय विकासको उच्च सम्भावना बोकेको पैयुँकोटको स्थापना लगायत यससँग सम्बन्धित ऐतिहासिक तथ्य एवम् यससँग जोडिएका जनश्रुतिका बारेमा अध्ययन–अनुसन्धान गरी यथार्थ तथ्यको उजागर गर्ने अभिप्रायका साथ कोट रहेको स्थानको स्थलगत अवलोकन, यसको स्थापना र विकास सम्बन्धी ऐतिहासिक तथ्यहरु, पैयुँ राज्यको इतिहास एवम् कोटका सम्बन्धमा लेखिएका पुस्तक, कोटका सम्बन्धमा स्थानीयबासी, सम्बन्धित वुद्धिजीवीका राय, परामर्श साथै कोटसँग सम्बन्धित जनश्रुतिहरु सङ्कलन गरी प्राप्त भएका तथ्यहरुका आधारमा वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक रुपमा यो आलेख तयार गरिएको छ ।
पृष्ठभूमि
मध्यकालसम्म नेपाल बाइसी, चौबीसी तथा अन्य साना–साना राज्यमा विभाजित रहेको थियो । यी छरिएर रहेका राज्यमा विभिन्न समयमा विभिन्न वंशका भुरेटाकुरे लगायतका राजाले राज्य गर्दै आएको इतिहास छ । आफ्नो शासनकालमा राजाहरुले राज्यको सुरक्षा र सामरिक महत्वलाई ख्याल गर्दै राज्यको अग्लो स्थानमा राजदरबार तथा कोटघरहरुको निर्माण गरेका थिए । नेपाल एकीकरण पश्चात् यी राज्यको अस्तित्व पनि लोप हुँदै गएकोले तत्कालीन कोटघर तथा राजदरबारहरुको अवस्था पनि नाजुक बन्दै गयो । कोट प्राचीन एवम् मध्यकालीन समयमा राज्य सञ्चालन गर्न र राज्यको सुरक्षा गर्नका लागि अग्लो स्थानमा बनाइएको किल्लालाई बुझिन्छ । त्यसबखत कोट रहेका स्थानलाई शक्तिपीठ मान्ने, त्यहीँ पूजापाठ गर्ने र बलि दिने गरिन्थ्यो । यो व्यवस्था हालसम्म पनि निरन्तर चलिरहेको पाइन्छ । कोट प्राचीनकालमा राज्यको सीमा सुरक्षाको व्यवस्था गर्ने ठाउँ, किल्ला, दुर्ग, गढी जस्तै चुली परेको र गढी तुल्याउन योग्य स्थान तथा मौला पूज्ने ठाउँलाई बुझिन्छ (नेपाली वृहत शब्दकोश, २०७२) ।
प्राचीन समयमा राज्यका शासकहरुले आफ्नो राज्यको सुरक्षार्थ भौगोलिक रुपमा अनुकुल र सामरिक दृष्टिले महत्वपूर्ण तथा सुरक्षित कोट वा दरबार भवन वा प्रासादहरुको निर्माण गर्ने प्रचलन चलेको कुरा ऐतिहासिक तथ्यहरुको अध्ययनबाट पत्ता लाग्दछ । अग्लो स्थान, चारैतिर देख्न सकिने, शत्रुहरु आइलागे भनेपनि माथि उचा स्थानबाट प्रहार गर्न र जाइलाग्न सजिलो हुने उद्देश्यले साथै शस्त्रअस्त्र, गोलाबारुदको भण्डारणका लागि कोटघरको निर्माण गर्ने प्रचलन इतिहासमा चलेको पाइन्छ । कुनै समयमा शासकहरु कोटघरमा नै बसी राज्य सञ्चालन गर्ने गरेका तथ्य पनि इतिहासमा पढ्न पाइन्छ । सामरिक र सुरक्षाका दृष्टिले पनि राजदरबार र कोटघरहरु बनाउँदा अग्लो स्थानमा बनाउने प्रचलन चलेको हुनुपर्दछ (श्रेष्ठ, २०५९) ।
कोटहरुमा विजयको प्रतिकका रुपमा देवी भगवती वा विजयकालीको मौलो स्थापित गरी रस्ती रसाउँदै र बस्ती बसाउँदै हिड्ने चलन तत्कालीन समयका भुरेटाकुरे राजाहरुमा रहेको थियो । लिच्छवीकालीन शाासनकालमा कोतपाल Kotpal उच्च सुरक्षाको पद थियो । राजाहरुले आफ्नो सुरक्षाको लागि कोट वा दुर्गको निर्माण गर्ने र त्यसको सुरक्षा गर्ने जिम्मा कोतपाललाई दिने गर्दथे ।
कोटघरहरु रहेका स्थलहरु पुरातात्विक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छन् । तत्कालीन समयमा धार्मिक तथा सांस्कृतिक धरोहरका रुपमा रहेका बाइसी चौबीसी राज्य अन्तर्गतका सम्पदास्थलको अहिले नाम निशाना मेटिदै गएको छ । पर्वत जिल्लामा पनि यस किसिमका प्राचीन, ऐतिहासिक सम्पदा र धरोहरहरुको पुरातात्विक विभागद्वारा उत्खनन् गरी तत्कालीन कला र संस्कृतिको पहिचान झल्कने गरी पुनःर्निमाण गर्नसक्ने हो भने वर्तमानमा आर्थिक, सामाजिक, पर्यटन तथा धार्मिक क्षेत्रको विकासमा ठूलो टेवा पुग्न सक्ने कुरालाई कसैले नकार्न सक्दैन । जिल्लामा रहेका विभिन्न कोटहरु मध्ये तत्कालीन पैयुँ राज्यको राजधानी रहेको पैयुँकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक सम्पदास्थलका रुपमा छ । यस कोटको ऐतिहासिक र धार्मिक महत्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी ऐतिहासिक सत्य तथ्यलाई उजागर गर्न सके यस क्षेत्रकै सामाजिक, सांस्कृतिक, आर्थिक, पर्या–पर्यटन तथा धार्मिक क्षेत्रको विकासमा ठूलो टेवा पुग्न सक्ने देखिन्छ ।
पैयुँ राज्यको संक्षिप्त इतिहास
मध्यकालमा अस्तित्वमा रहेका बाइसी चौबीसी राज्य अन्तर्गतको एक प्रमुख राज्य पैयुँ हो । कालीगण्डकीको बायाँ किनार पर्वतको दक्षिणी भेगमा उत्तरबाट दक्षिणतर्फ फैलिएको टापुमा अवस्थित पैयुँकोटको नामबाट नै मध्यकालमा यस क्षेत्रमा रहेको राज्यको नाम पैयुँ राज्य रहन गएको अनुमान गर्न सकिन्छ । मध्यकालको पैयुँ राज्य हालको पर्वत जिल्लाकै महत्वपूर्ण क्षेत्र हो । पैयुँकोट, धुवाँकोट, लुङ¥याङकोट, सुलीकोट, नायब साहेबको दरबार, जस्ता प्रसिद्ध ऐतिहासिक स्थलहरु यस राज्यमा पर्दथे । यिनीहरु अहिले पनि पर्वत जिल्लाका आर्थिक र पर्यटकीय विकासका उच्च सम्भावना बोकेका महत्वपूर्ण स्थल मानिन्छन् । पैयुँ राज्य १६ औं शताब्दीदेखि १९ औं शताब्दी (वि.स. १५०२–१८४२) सम्म अस्तित्वमा थियो । पैयुँ राज्यका प्रथम राजा रामसिंह सेन र अन्तिम राजा नायब अकवरसिंह सेन थिए । झण्डै ३४० वर्षसम्म सेनवंशका राजाले पैयुँ राज्यमा शासन गरेको इतिहास छ ।
पूर्वमा भिरकोट, पश्चिममा कालीगण्डकी र पाल्पा, उत्तरमा पर्वत र दक्षिणमा पाल्पा, गुल्मी, खाँची र अर्घा राज्यको चौकिल्ला भित्र पैयुँ राज्य थियो । लिच्छवी शासनको पतन पश्चात् मगरात प्रदेशमा मगरहरुको बाहुल्य भएका कारण पैयुँ राज्य मगरहरुको बलढेङ्गी राज्य अन्तर्गत समाहित भएको थियो । पाल्पाली राजा मुकुन्द सेन प्रथमले गुल्मी, अर्घा र खाँचीको मद्दतले मगरहरुको बलढेङ्गी राज्यलाई परास्त गरेपछि पैयुँ क्षेत्रमा आले, राना, चितौरे र थापा मगरहरुको संयुक्त मुख्यौली शासन चल्न थाल्यो । यिनीहरुको मुख्यौली शासन, परस्परको विरोधका कारण र वरिपरिका राज्यहरुमा राजपुत वंशका राजाहरुको शासनको शुरुवात भइसकेकोले त्यसको प्रभावका कारण पनि हुन सक्दछ यी चारथरी मगरहरुले पैयुँ राज्यमा राजपुत वंशका राजा थाप्ने र उनैको हुकुम शिरोधार्य गर्ने सल्लाह गरेअनुरुप गञ्जु आले, पिउर राना, शेरु चितौरे र बदल थापा गरी चारजना राजा खोज्न हिंडे (शर्मा, २०७१) ।
राजा खोज्न हिंडेका यी चारजना मगरहरु वनारसको घाँसपानीस्थित राजपुतहरुको गाउँ बाँसी भन्ने ठाउँमा पुगी त्यहाँबाट राजपुत नाइकेका छोरा रामसिंह सेन र उनकी गर्भिणी श्रीमतीलाई समेत बोकेर ल्याए । रामसिंह पैयुँकोटमा पुगेपछि वि. स. १५०२ मा बडादसैंको अष्टमीका दिन उनलाई पैयुँ राज्यको राजपुत सेनवंशका प्रथम राजा बनाइएको पाइन्छ ।
पैयुँकोटमा नयाँ राजा बनाइएको खुशीयालीमा पैयुँ राज्यभित्रका विभिन्न गाउँका बासिन्दाले राजालाई उपहार चढाएका थिए । राजा रामसिंहले रैतीको भारा नलागोस भनेर उपहार ल्याइदिनेहरुलाई जमिन उपलब्ध गराइ कर माफी गरीदिएका थिए भने आफूलाई वनारसबाट बोकील्याइ राजा बनाउने चारवटा मगरलाई चारकाजी बनाइ चारवटा क्षेत्रको क्षेत्रपाल बनाएका थिए । यी चार क्षेत्रका क्षेत्रपालले पैयुँ राज्यलाई मानेकोले यस क्षेत्रलाई चारपाला पैयुँ भन्ने चलन चलेको हो भन्ने भनाइ रहेको छ । पैयुँ राज्यमा रामसिंह सेनपछि उनका छोरा लाभसिंह सेन वि. स. १५५० मा राजा भएका थिए । यिनले पैयुँकोटमा खड्गदेवीको मन्दिर स्थापना गरेका थिए । लाभसिंह सेनपछि चामसिंह सेन वि.स. १६०० मा पैयुँका राजा भए । उनको शासनकालमा पैयुँको धुवाँकोट लुंखुमा फलामखानी, वेउलीबासको डाँडामा कोइलाखानी, सेतीबेनी पश्चिमको पहाडको सुरुङमा तामाखानीको उत्खनन् गर्ने काम भएको थियो । चामसिंह सेनपछि धार्मिक प्रकृतिका दागम्वरसिंह सेन वि.स. १६५० मा पैयुँका राजा भए । यिनको ध्यान राजकाजपट्टि भन्दापनि भजन किर्तन र तिर्थाटनमा बढी हुने गर्दथ्यो । यिनको पालामा पाल्पा राज्य शक्तिशाली बन्दै गएकोले पाल्पाबाट आफ्नो राज्यको सुरक्षाका लागि कालीकोटबाट थापा मगरहरु झिकाई सैन्य तालिम दिई पैयुँ राज्यको सुरक्षाको जिम्मा लगाएका थिए ।
चामसिंह सेनपछि संग्रामसिंह सेन पैयुँका राजा भए । संग्रामसिंह सेनको शासन कालपछि भूपभैरव सेन पैयुँका राजा भए । यिनले पैयुँ राज्यको आर्थिक उन्नतिमा ध्यान दिएकोले यिनको शासनकालमा पैयुँ राज्य समुन्नत अवस्थामा पुगेको पाइन्छ । सेतीखोलाको दुवै किनारपट्टि नहर र कुलो निर्माण गरी सिंचाइको प्रबन्ध गरेका थिए । खानीहरुको व्यापक उत्खनन गरी बाहिर पठाउने वा निर्यात गर्ने काम समेत गरेका थिए । भोटको सामान हटियामा जम्मा गरी बिक्री गर्ने प्रबन्ध मिलाए । जुन ठाउँ अहिले पैयुँ हटियाको नामले प्रचलित छ । यिनले पैयुँकोटको सिधा तल सेतीखोलाको पश्चिमी फाँटमा दरबार बनाई पैयुँ राज्यको शितकालीन राजकाज चलाउने प्रबन्ध मिलाएका थिए । राजा भूपभैरवसिंह सेनपछि उनका नाबालक छोरा सच्चितसिंह सेनको तीन वर्षको उमेरमा निधन भएकोले भतिजाको नायबी चलाएर बसेका अकबरसिंह सेन वि.स. १८०२ मा पैयुँ राज्यको अन्तिम राजा भएका थिए । वि.स. १८४२ मा बलभद्र शाह र नरु शाहको नेतृत्वमा आएको गोरखाली सेनाले पैयुँ र सतहुँ राज्यमाथि आक्रमण गरी यी दुई राज्यलाई आफ्नो अधिनमा लिएपछि दुईहजार पैयुँ भनेर चिनिने यो राज्य दुई पटकसम्म गोरखाली फौजसँग लडाइ लडी गोरखासँग हार्नुप¥यो । यस सँगसँगै पैयुँ राज्य विशाल नेपालमा विलय भएपछि यसको अस्तित्व पनि समाप्त भएर गएको पाइन्छ ।
पैयुँकोटको भौगोलिक तथा ऐतिहासिक परिचय
वर्तमान पर्वत जिल्लाको महाशिला गाउँपालिका–१ अन्तर्गत (साविकक होश्राङ्दी गा.वि.स.–१) मा पैयुँकोट छ । यसै कोटको नाम र मध्यकालमा पैयुँ राज्यका नामबाट शासित पर्वतको दक्षिणी पूर्वी क्षेत्रलाई अहिले पनि पैयुँखोला भनेर चिनिन्छ । चौबीसी राज्य अन्तर्गत पैयुँ राज्यको सबैजसो भाग अहिले पर्वत जिल्लामा समावेश गरिएको छ । कालीगण्डकीको वाँया किनार पर्वतको दक्षिणी भेगमा उत्तरबाट दक्षिणतर्फ फैलिएको र गोल्र्याङको डाँडाको काखमा अवस्थित एउटा टापु पैयुँकोट नामबाट परिचित छ । अग्लो डाँडाकोे टुप्पामा रहेको यस कोटको भौगोलिक अवस्थालाई नियाल्दा सामरिक र सुरक्षाका दृष्टिले अत्यन्तै उपयुक्त तथा महङ्खवपूर्ण स्थानमा पैयुँकोट रहेको देखिन्छ । पैयुँकोट कसरी नाम रहन गयो भन्ने बारेमा विभिन्न प्रकारका जनश्रुति पाइन्छ । पैयुँ भन्ने रुखको बाक्लो घारी वा जङ्गल भएको स्थानमा कोटघर निर्माण गरिएकोले यस ठाउँलाई पैयुँकोट भनिएको हुन सक्छ । हाल पैयुँकोट रहेको ठूलो चौरमा घोडालाई पैयाँ कुदाएर तालिम गर्नसक्ने फराकिलो ठाउँमा कोट दरबार भएकोले यसलाई पैयुँकोट भन्न थालिएको हो भन्ने भनाइ पनि प्रचलित छ ।
लिच्छवी शासनको पतनपश्चात् मगरात प्रदेशमा पैयुँ राज्य मगरहरुको बलढेङ्गी राज्य अन्तर्गत समाहित भएको थियो । अभय राना, रनवीर राना आदि मगर राजाहरुले पैयुँमा राज्य गरेका थिए (अधिकारी, २०७३) । सेनवंशीय राजाहरुको तत्कालीन दरबार र हाल खड्गदेवी मन्दिर रहेको ठाउँ नै पैयुँकोटका नामले प्रसिद्ध रहेको छ । सेनवंशका राजा रामसिंह सेनले राज्यारोहण गरेपछि त्यसठाउँमा दरबार बनाइयो । राज्यका हातहतियार तथा सैन्य सामग्रीहरुको सुरक्षार्थ कोतघरको निर्माण गरियो । त्यही कोतघरलाई नै पछि कोटघर भन्न थालियो । रामसिंह सेनपछि पैयुँ राज्यका राजा भएका लाभसिंह सेनले आफ्नो बिबाहमा ससुराली ढोलठाने राजाबाट खड्गदेवी दाइजो प्राप्त गरेका थिए । यो वास्तवमा देवीको मूर्ति नभएर तामाको बाकसभित्र राखिएका भाले पोथी खड्ग थिए । खड्गदेवी दाइजो ससुरालीबाट पाएकोले पैयुँकोट प्राङ्गणमा यिनले खड्गदेवीको स्थापना गर्न लगाएका थिए ।
तसर्थ, पैयुँकोटको यो मन्दिर करिब ५२५ वर्षजति पुरानो भएको अनुमान गर्न सकिन्छ । तत्कालीन समयमा ढोलठाने राजाले खड्ग राखेर दिइएको त्यो तामाको बाकस र त्यसभित्र राखिएका दुईवटा खड्ग मन्दिरभित्र सुरक्षित रहेका छन् । यो बाकस छुँदा मानिसहरुका हात काम्ने र देवी उत्रने गरेको भन्ने विश्वास रहेकोले जो पायो त्यहीले यसलाई छुने आँट गर्दैनन् । पैयुँ राज्य गोरखामा विलय हुँदा गोरखालीहरुले धेरैजसो हातहतियार र कोटघर भित्रका सामान लुटेर लगे तापनि तामाको बाकस र यसभित्रका खड्गहरु छोएका थिएनन् । खड्गदेवीको शक्तिका कारण नै उक्त बाकसको सुरक्षा भएको कुरा पैयुँकोट व्यवस्थापन समितिका अध्यक्ष कर्णप्रताप सेन बताउँछन् । मन्दिरभित्र तामाको बाकस र केही मात्रामा तत्कालीन तरबार, खुँडा आदि अहिले पनि देख्न सकिन्छ । गोरखाली सेनाले कोटमा रहेका तामाका ताउला तथा खडकौला जस्ता भाँडाकुँडा कोट नजिकैको डिलबाट गुल्टाइदिएका थिए । एउटा खडकौलो गुल्टीएर सेतीखोलाको रहमा पुगेको थियो । यस ठाउँलाई अहिले खडकौले रह भन्ने गरिन्छ । मन्दिरभित्र तत्कालीन समयमा सेनाहरुले प्रयोग गर्ने गरेका एकदर्जन जति मात्र पुराना तरबार र खुँडाहरु छन् । शुरुमा यो मन्दिरको छानो खरले छाएको र पछि ढुंगाले छाएको थियो भन्ने भनाइ छ ।
स्थापनाकालमा जुन ठाउँमा मन्दिर स्थापना गरिएको थियो त्यसको जगलाई यथावत कायम गरी हाल सिमेण्ट र बालुवाको प्रयोग गरी पक्की मन्दिर बनाइएको छ । पैयुँकोटमा तत्कालीन राजदरबारको भग्नावशेष रहेको स्थानमा एकढलानको पक्की पौवा निर्माण गरिएको छ । मन्दिरको अगाडिपट्टि देवी र आलमको गरी दुईवटा मौला गाडिएको छ । यस स्थानमा बलि दिने गरिन्छ । कोट परिसरमा तत्कालीन राजाहरुको पालामा निर्माण गरीएका दर्जनौं टे«ञ्च, सेण्ट्रीपोस्ट रहेका स्थलहरुको अवशेष देख्न सकिन्छ । अत्यन्तै कडा र बलिया तेलिया इट्टा र झिंगटीबाट बनेको दरबार भत्किएर भग्नावशेषमा परिणत भएको ठाउँमा अहिले पौवाको निर्माण गरिएको छ । दरबारमा प्रयोग भएका इट्टाहरु जमिनमुनि पुरिएर रहेको अवस्थामा भेटाउन सकिन्छ ।
कोटमन्दिरको पश्चिमपट्टि नायब साहेबको पनि सानो मन्दिर स्थापना गरिएको छ । कोटमन्दिरको उत्तरी भागमा भैरवको मन्दिर स्थापना गरिएको छ । कोट परिसरको उत्तरपट्टि रानीहरुले सुनका गहनाहरु धुने गरेको सुनपोखरी भन्ने सानो तलाउ छ । सुनपोखरीभन्दा अलि तल गुर्दुम भन्ने स्थानमा राजदरबारका सदस्यहरुको प्रयोगका लागि निर्माण गरिएको ठूलो पोखरी देख्न सकिन्छ । यस पोखरीमा माटो भरिंदै गएकोले वर्षायाममा बाहेक अन्य दिनहरुमा पानी जम्मा हुँदैन । यस पोखरीबाट उत्तरतर्फ लाग्दा सैन्यपोष्ट रहेका थुम्काहरु देख्न सकिन्छ । कोटघरको उत्तरपट्टि गैरीपोखरी भन्ने स्थानमा सेनाहरुको व्यारेक र यिनीहरुको प्रयोजनका लागि भनेर पोखरी निर्माण गरिएको थियो । हाल त्यहाँ खेलकुद मैदान निर्माण गरिएकोले पोखरीको नाम निशाना देख्न सकिदैंन । गैरीपोखरी भन्दा अलि तल गुर्दुम भन्ने स्थानमा सेनाको व्यारेक रहेको भनिएको स्थानमा हाल गुर्दुम प्राथमिक विद्यालय सञ्चालन गरिएको छ । अग्लो स्थानमा पैयुँकोट दरबार रहेकोले दरबारमा पानीको असुविधा नहोस भन्नका लागि यसरी पोखरी खनाइ पानीको व्यवस्था गराएको स्पष्ट हुन्छ (रेग्मी र पन्त, २०७४) ।
तत्कालीन समयमा राजाहरुले गुर्दुमपोखरी भन्दा अलि तल रहेको कुवापानी भन्ने स्थानबाट पानी ल्याइ खानेपानीको प्रबन्ध गर्ने गर्दथे । पैयुँकोट मन्दिर रहेको जग्गाको परिसर चारैतिर खुला सीमाना भएका कारण स्थानीयहरुको अतिक्रमणले गर्दा साँघुरो हुँदै गएको छ । कोटमन्दिर रहेको जग्गालाई अतिक्रमणबाट जोगाउनका लागि सेनवंशी राजाका सन्तति कुलप्रताप सेनकी श्रीमतीले आफ्ना श्रीमान्को मृत्यु भएपछि वार्षिक पुण्य तिथिमा कोट परिसरमा नुन छरी एउटा आयाताकारको पोखरी निर्माण गर्न लगाएकी थिइन् । हाम्रो समाजमा पूर्वजले नुन छरेको जग्गामा खेतिपाती तथा आवादी गर्नुहुँदैन भन्ने प्रचलन रहेकोले नुन छरेपछि कोटको जग्गा सुरक्षित हुनसक्ने विश्वासले उनले यो काम गरेकी हुनुपर्दछ । कोटपरिसर रहेको जग्गालाई तारजाली लगाइ संरक्षण गर्न र परिसरभित्र अकबरसिंह सेन÷रामसिंह सेन स्मृतिपार्क निर्माण गरी ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको पैयुँकोटको विकास, संरक्षण र संवद्र्धन गरी पर्वत जिल्लाको पर्यटन विकासलाई समेत टेवा पुग्ने उद्देश्यका साथ हाल नेपाल सरकार नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयबाट विनियोजन गरिएको रु. दश लाखको बजेटबाट निर्माणको काम भइरहेको छ । पैयुँकोट मन्दिरको नाममा तत्कालीन सेन राजाहरुले त्यस क्षेत्रको विभिन्न ठाउँमा सातवटा मुखीयाका नाममा प्रशस्त गुठी जग्गाको प्रबन्ध गरेका थिए । यही गुठी जग्गाबाट प्राप्त हुने आम्दानीबाट कोटघरमा पूजा व्यवस्थापन हुँदै आएकोमा गुठी जग्गा व्यक्तिगत जग्ग्गामा परिणत भएपछि पूजा सञ्चालन गर्न कठिन भएकोले केही वर्ष अघिदेखि यस मन्दिरमा पूजाका लागि बलि लिएर आउनेहरुलाई बलिकर लगाइ तथा भक्तजनहरुबाट उठेको रकमबाट कोटमा हुने पूजाआजा तथा अन्य खर्चको व्यवस्थापन गरींदै आएको छ ।
पैयुँकोटको सन्दर्भलाई उठान गर्दा यससँग जोडिन आउने फूलबारी दरबार परिसरमा रहेको नायब साहेबको मन्दिरको छुट्टै ऐतिहासिक महत्व रहेको पाइन्छ । वि.स. १७५९ को हिउँदमा व्यापक हिमपात भई ठण्डीले पैयुँकोटमा बसोबास गर्न कठिन भएपछि पैयुँकोटको सिधा तल सेतीखोलाको पश्चिमी फाँटमा भूपभैरवले ३५ हात लम्वाइ र ३५ हात चौडाइ भएको विशाल दरबार बनाएका थिए । यही दरबारलाई फूलबारी दरबार भनिन्छ । आगलागीबाट जलेर खण्डहर भएको यो फूलबारी दरबार अहिले भग्नावशेष अवस्थामा छ । दरबार वरिपरिको जग्गा स्थानीयबासीबाट अतिक्रमणको सिकारमा परेको छ ।ं फूलबारी दरबार रहेको ठाउँमा थुप्रिएका इट्टालाई अहिले तारजाली लगाइ संरक्षण गरेर राखिएको छ । यस दरबारमा पैयुँ राज्यको शितकालीन राजकाज चल्ने गर्दथ्यो । राजा भूपभैरवसिंह सेनले आफ्नो शासनको अन्तिम समयमा (परमधाम हुने बेलामा) छोरा सच्चित सेन नाबालक भएकोले माहिला भाइ अकबरसिंह सेनलाई छोराको नायबी बनाएका थिए । सच्चितसिंह सेनको तीन वर्षको उमेरमा निधन भएपछि नायब अकबरसिंह सेन पैयुँ राज्यको अन्तिम राजा भएका थिए । आफ्नो भतिजाको नायबी चलाएकोले अकबरसिंह सेनलाई नायब साहेब भनिएको हो । हाल नायब साहेबको मन्दिर रहेको ठाउँमा अकबरसिंहले बारुदखानाको निर्माण गरेका थिए । वि.स. १८४२ मा गोरखाली सेनाले पैयुँ राज्यको शितकालीन दरबारलाई चारैतिरबाट घेरा हाली अघि बढ्दा शत्रुको हातबाट मर्नुभन्दा आँफै मर्नु वेस ठानी राजा अकवरसिंह सेन रानीसहित दरबार नजिकैको आँफैले निर्माण गरेको बारुदखानामा आगो लगाइ त्यसैमा जलेर मरेका थिए । बारुदखानामा गएर आगो लगाइ जिउँदै आत्मदाह गर्दा उनको शरीरमा फोकाहरु उठेकाले पैयुँ क्षेत्रका मानिसहरुमा अहिले पनि शरीरमा आगोले पोलेजस्तै फोकाहरु उठे भने नायब साहेब लागेको भनेर भन्ने चलन छ । धुप धजा उठाएर नायब साहेबको मन्दिरमा गएर पूजा गरेपछि फोकाहरु हराएर जाने विश्वास यस क्षेत्रमा रहेको छ । राजाले आत्मदाह गरी मरेको त्यसै ठाउँमा हाल नायब साहेबको मन्दिर निर्माण गरिएको छ । यस मन्दिरमा एकादशी र औंसीका दिन बाहेक हरेक दिन नियमित रुपमा पूजाआजा हुने गर्दछ । आफ्नो मनले आँटेताकेको पुग्छ भन्ने विश्वासका आधारमा यो मन्दिरमा मानिसहरु पूजा गर्न आउने गर्दछन् ।
प्रायः प्रत्येक कोटघरहरुमा बडादसैं र चैत्राष्ठमी जस्ता चाडपर्वमा विशेष मेला र पर्व लाग्ने गर्दछ । पैयुँकोटमा पनि यी दुईवटा चाडमा ठूलो उत्सवका साथ खडगदेवीको पूजाआजा हुने गर्दछ । राजा चामसिंह सेनको पालादेखि नियुक्त गरिएका रिजाल थर भएका (पछि पगेनी भन्न थालिएको) ब्राह्मणलाई पूजारीको जिम्मेवारी दिए पश्चात् हालसम्म पनि उनै रिजालका सन्ततिहरुले यस कोटमा पूजारीको कार्य गर्दै आएका छन् । बडादसैंमा घटस्थापनाको दिनदेखि नै रिजाल थरका पूजारी, कर्ताका रुपमा सेनवंशी ठकुरी, चारपाला मगरहरुबाट सातजना उपासुहरु, कलश लिएर आउने खवास थर भएका मगर द्वारे कोटमा जम्मा भई विधिवत रुपमा नवरात्रीको पूजा शुरु गर्दछन् । घटस्थापनाका दिन जमरा राख्दा जमरामा बलिको रगत पर्नेगरी पाठाको बलि दिइन्छ । फूलबारी दरबार क्षेत्रमा स्थित नायब साहेबको मन्दिर नजिकैको शंखे पिपलका पातहरु लगायतका पत्रिकासहित सारु र कालीकोटे मगरले फूलपाती लिएर मन्दिरमा आउँछन् । फूलपाती पर्सदा पनि पाठाको बलि दिइन्छ । अष्टमी वा कालरात्रीका दिन पाठो र रांगाको बलि दिइन्छ । नवमीका दिन केरा, पाठो, रांगो, हाँसको फुल र मेवा सहितको पाँचवटा मेडोको बलि दिइन्छ । राजाहरु युद्ध गर्न जानलाग्दा सबैभन्दा अघि लिएर हिंड्ने आलमको मौलोमा पाठाको बलि दिएपछि देवीको मौलोमा बलि दिइन्छ । कोटमन्दिर अगाडिको बलिदिने स्थानमा देवी र आलमको गरी दुईवटा मौलाहरु थापना गरिएको छ । दशमीका दिन टीका जमरासहित शुभ साइतमा मौलामा पूजा गरीसकेपछि कोटमा उपस्थित भएका कर्ता, उपासु लगायत सबैले टीका जमरा लगाउँदछन् । विशेष गरेर सप्तमी, अष्टमी र महानवमीका दिन टाढाटाढाबाट समेत कोटमा हजारौँको सङ्ख्यामा मानिसहरु पूजा गर्न आउने गर्दछन् । चैतेदशैंका बेला पनि यस कोटमा पूजा हुने गर्दछ । रामनवमीका दिन बलि नचल्ने भएकाले अष्टमीका दिन नै बलि दिने गरिन्छ । यी दुईवटा दशैंका अतिरिक्त पानी माग्नका लागि भनेर प्रत्येक वर्षको वैशाख पञ्चमीका दिन पञ्चबलि सहित चारपालाको पूजा हुने गर्दछ ।
पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा नं. १ मा पर्ने पैयुँकोटमा सदरमुकामबाट लुँखु देउराली, बालाकोट हुँदै तथा वहाकी, उरामपोखराको पैदलमार्ग तथा सडकमार्ग हुँदै सजिलैसँग पुग्न सकिने ठाउँमा रहेको छ । यहाँ अवलोकन गर्न जाने मानिसहरुले हलुका खालका खानेकुराहरु, जुस, तथा प्राथमिक उपचारका औषधीहरु आफै व्यवस्था गरेर जानुपर्ने हुन्छ । स्याङजाको वालिङबाट हुवास सम्मको सडकमार्गको यात्रा तय गरेपछि हुवास हटिया र नायब साहेबको मन्दिर रहेको फूलबारी दरबारबाट होश्राङदीको डाँडासम्म करिब दुई घण्टा जतिको जीपमा यात्रा गरेपछि त्यहाँ पुग्न सकिन्छ ।
पैयुँकोटको पर्यटकीय विकासका चुनौती तथा सम्भावनाः
पैयुँकोट क्षेत्र प्रशस्त मात्रामा पर्यटकीय विकासको सम्भावना बोकेको क्षेत्र हो । यहाँको साँस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा प्राकृतिक सम्पदाहरुले यस क्षेत्रको पर्यटन तथा आर्थिक विकासको उज्जवल सम्भावनालाई देखाएका छन् तर पनि यस क्षेत्रमा पर्यटन विकासका धेरै चुनौती एवम् समस्या छन् । उकाला, भिराला तथा साँघुरा गोरेटा बाटाहरु, पदमार्गमा आवश्यक मात्रामा होटेल तथा लजहरुको सहज व्यवस्था नहुनु, चाहेको बेलामा यातायातको सुविधा नहुनु, ठूलो लगानी बिना त्यहाँ रहेका ऐतिहासिक तथा पुरातात्विक संरचनाको उत्खनन् गर्न नसकिनु जस्ता समस्या तथा चुनौतीहरु यस क्षेत्रको विकासका लागि रहेका छन् । राज्य तथा स्थानीयबासीको आवश्यक मात्रामा ध्यान जान नसकेको र उचित संरक्षणको अभावमा ऐतिहासिक सम्पदाहरु धराशायी बन्दै गएको देखिन्छ । कोटघर रहेको क्षेत्र र फूलबारी दरबार रहेको स्थान स्थानीयबासीहरुको अतिक्रमणको सिकार बन्दै गएका छन् । कोटघरमा रहेका ऐतिहासिक तथा पुरातात्विक महङ्खवका मूर्ति, हतियार आदि सामग्रीको संरक्षण र सूरक्षा गर्ने कार्य चुनौतीपूर्ण छ ।
कोटघर रहेको स्थान वरिपरि बसोबास गर्ने मानिसहरुको परम्परागत जीवनशैली र जीवनपद्धतिमा अझैसम्म पनि व्यापक परिवर्तन ल्याउन नसकिनु, स्थानीय भाषा, संस्कृति, भेषभूषा, नृत्य, कोटघरहरुमा लाग्ने मेला पर्व आदि लोपोन्मुख अवस्थामा रहनु, स्थानीय क्षेत्रमा आय आर्जनका वैकल्पिक क्षेत्रहरुको पहिचान र विस्तार गर्न नसक्नाका कारण युवावर्गलाई कोट संरक्षण तथा विकासमा आकर्षण पैदा गराउन नसकिनु, कोटघरको संरक्षण तथा व्यवस्थापन गर्ने कार्य बढी खर्चिलो हुनु, राज्यले आवश्यक लगानी र सम्भावनको खोजीका लागि पहल नगर्नु र स्थानीयबासीहरुलाई कोटको संरक्षण तथा विकासका लागि प्रोत्साहित गर्ने वातावरण सिर्जना नहुनु जस्ता चुनौतीहरु पैयुँकोटको विकासमा देखिएका छन् । राज्यका तर्फवाट व्यवस्थित रुपमा अनुगमन, निरीक्षण, अनुदान, आवश्यक पृष्ठपोषण दिने व्यवस्था नहुनु साथै कोटहरुको ऐतिहासिक महङ्खवका बारेमा व्यापक प्रचार–प्रसार गरी यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नपट्टि चासो कम देखिनु पनि यस कोटको विकासको एक अर्को चुनौती हो ।
चौबीसी राज्य अन्तर्गतको एउटा प्रमुख राज्यका रुपमा स्थापित पैयुँ राज्यमा रहेको प्रसिद्ध स्थल पैयुँकोट हो । तत्कालीन राज्यको ग्रीष्मकालीन राजधानी रहेको यस स्थलको प्रशस्त मात्रामा पर्यटकीय सम्भावना रहेको छ । पैयुँकोट रहेको स्थान हरिया डाँडाकाँडा, भञ्ज्याङ चौतारी, इतिहास झल्काउने पुरातात्विक महत्वका संरचनाका कारण अत्यन्तै महत्वपूर्ण मानिन्छ । पैयुँकोट आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय विकासका दृष्टिले ठूलो सम्भावना रहेको क्षेत्र हो । उच्च स्थानमा रहेकोले धेरै स्थानहरुको दृश्यावलोकन गर्न सकिने तथा ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण स्थान भएकाले पनि यसको पर्यटकीय विकासको बलियो सम्भावना छ । पैयुँकोटमा रहेका पुरानो भग्नावशेष दरबार रहेको स्थान, दरबारमा प्रयोग भएका तेलिया इट्टाहरु, सैन्य प्रयोजनका लागि निर्माण गरिएका बंकर, टे«ञ्च, पोष्ट, तत्कालीन पोखरीहरु, पैयुँकोटमा रहेको खडग्देवीको मन्दिर, भग्नावशेष फूलबारी दरबार निकट रहेको नायब साहेबको मन्दिर, पैयुँकोटबाट देखिने धुवाँकोट र लुङ¥याङकोट, गोल्र्याङको लेक र यहाँ रहेको प्राकृतिक ढुङ्गाले घेरिएको र बीचमा मन्दिर जस्तै देखिने प्राकृतिक मन्दिर र गोरखाली सेनाले पैयुँमा आक्रमण गर्दा निर्माण गरेका बंकरहरु, जमपुरको पुछारमा रहेको प्वाङ छहरा, फूलबारीस्थित नायब साहेबको मन्दिर नजिकै रहेको छतिवन आदिलाई यस क्षेत्रको पर्यटन विकासका लागि महत्वपूर्ण आधार मानिन्छन् । यस क्षेत्रमा रहेका यी प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदा स्थलको उचित संरक्षण गरी यिनीहरुको प्राचीन र मौलिक स्वरुपमा विकास गर्न सक्ने हो भने पर्यटन विकासमा ठूलो टेवा पुग्नसक्ने देखिन्छ । यसबाट आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या बढ्नुका साथै संस्कृतिको संरक्षण, सम्वद्र्धन, आर्थिक विकास, रोजगार सिर्जना आदिका माध्यमबाट स्थानीयबासीलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउनमा ठूलो योगदान पुग्न सक्दछ । पैयुँकोटको आर्थिक, सामाजिक तथा तथा पर्यटकीय विकासका संभावनाहरुलाई देहायअनुसार उल्लेख गर्न सकिन्छ :–
कोटघर क्षेत्रले समेटेका गाउँ तथा बस्तीहरुमा केरा, कफि, चिया, आलु, अदुवा, लसुन, प्याज, अमिलो, तेलहन, वेमौसमी तरकारी, अम्रिसो, धान, मकै, कोदो, फापर, गहुँ आदिजस्ता बालीनालीको खेतिपाती व्यवस्थित र व्यवसायिक रुपमा गर्न सकेमा अझै बढी लाभ लिन सकिने सम्भावना छ ।
पैयुँकोटमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङ जस्ता साहसिक खेलहरुको सफल परिक्षण भइसकेकोले सो सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरी पर्यटन व्यवसायलाई अघि बढाउन सकिने बलियो सम्भावना छ ।
कालीगण्डकी करिडोरको निर्माण भएको र यही क्षेत्र हुँदै कालीगण्डकी लोकमार्ग निर्माणाधीन अवस्थामा रहेकोले यिनको उपयोगबाट पैयुँकोट क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने सम्भावना छ ।
महाशिला, लुङ्¥याङकोट, धुँवाकोट, सुलीकोट, फूलबारी दरबार, छतीबनको रुख, चिसापानी डाँडा, गोर्ल्याङको लेक, सेतीबेनीस्थित शालग्राम शिला आदिजस्ता पुरातात्विक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, धार्मिक र आर्थिक दृष्टिकोणले महङ्खवपूर्ण क्षेत्र यस क्षेत्रमा भएकाले पर्यापर्यटनको प्रवल सम्भावना छ ।
कोट परिसर रहेको क्षेत्रमा वृद्ध वृद्धाहरुका लागि वृद्धाश्रम बनाइ मन्दिरको सेवा गर्न, पूजापाठ गरी शान्त जिवन व्यतित गर्नका लागि पनि यो क्षेत्र कोषेढुङ्गा सावित हुन सक्छ ।
कोटघर रहेको क्षेत्रमा विभिन्न महोत्सव, उत्सव र अन्य कार्यक्रम सञ्चालन गर्न सकिने प्रवल सम्भावना रहेको छ । मनमोहक दृश्य अवलोकन गर्न सकिने, परम्परागत रहन सहन, संस्कृतिमार्फत सांस्कृतिक विकास गर्न सकिने प्रशस्त सम्भावना छ ।
पैयुँकोटबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण हिमश्रृंखला जस्ता हिमाल पहाडहरु दृष्यावलोकन गर्न सकिने विभिन्न मनोरम डाँडाकाँडाहरु, उकाली ओराली, भञ्ज्याङ्ग चौतारीहरु, बन जङ्गलहरु, खोला नदीनालाहरु, राम्रो वातावरण, रमणीय दृष्य भएको क्षेत्र भएकाले यस क्षेत्रमा पर्यटकीय विकासको उच्च सम्भावना छ ।
यस क्षेत्रमा सुनखानी, तामाखानी, फलामखानी, पेट्रोलखानी, ग्यासखानी, चुनखानी, कोइलाखानी, बालुवा र गिटीखानी, स्लेटखानी आदि लगायतका विभिन्न खनिज सम्पदाहरु रहेकोले यिनीहरुको व्यवस्थित तथा आधुनिक प्रविधिको प्रयोग गरी उत्खनन् गर्न सकियो भने यस क्षेत्र लगायत जिल्लाकै आर्थिक संवृद्धिमा ठूलो योगदान पुग्ने सम्भावना छ ।
निष्कर्षः
राज्यको सुरक्षाका लागि तत्कालीन भुरेटाकुरे राजाहरुको शासन तथा बाइसी चौबीसी राज्यको अस्तित्व रहेका समयमा सुरक्षित र सामरिक दृष्टिले उपयुक्त स्थानमा कोटघरहरु निर्माण गर्ने र त्यहाँ शक्तिपीठको स्थापना गर्ने गरेको तथ्य इतिहासमा पाइन्छ । पैयुँकोट ऐतिहासिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिन्छ । चौबीसी राज्यको अस्तित्व समाप्त भए संगसंगै तत्कालीन राज्यका दरबार तथा अन्य संरचना विलुप्त हुँदै जान थाले । ऐतिहासिक सम्पदास्थलको महत्व बुझ्न नसक्दा तत्कालीन समाजको वास्तविकता झल्कने धरोहरहरु संरक्षण र विकासका दृष्टिले उपेक्षित भएका देखिन्छन् । कोटघरमा रहेका हतियार, मूर्ति तथा अन्य बहुमूल्य सामग्रीहरु हराउँदै जान थाले । पैयुँकोट पर्या–पर्यटन तथा धार्मिक पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ । यहाँको प्राकृतिक संरचना र पुरातात्विक महत्व अनुरुप धार्मिक क्षेत्र पूर्तिघाट, सेतीवेनी, पैयुँकोट, लुङ¥याङकोट, फूलबारी दरबार, छतिवनको रुख, धुँवाकोट, गोर्ल्याङको चुचुरो आदिजस्ता प्राकृतिक, पौराणिक, ऐतिहासिक र धार्मिक स्थलहरुको व्यापक प्रचार प्रसार गरी यिनीहरुको वास्तविक पहिचान झल्कने गरी एकिकृत धारणाबाट कार्यक्रम तयार गरी प्राकृतिक भूमि एवम् धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलका रुपमा यस क्षेत्रकोे दिगो विकास गर्ने लक्ष्य अब सम्बन्धित स्थानीय तहले राख्नुपर्दछ । पर्याप्त आर्थिक व्यवस्थापन गर्न नसक्दा कोटमा हुने पूजा–आजा र कोटको संरक्षण तथा सम्वद्र्धन गर्न कठिनाइ पुगेको देखिन्छ । विगतमा कोटघरहरुको सञ्चालनका लागि भनेर व्यवस्था गरिएको गुठी जग्गा यसको उपभोग गरिरहेका व्यक्तिहरुलाई नै आ–आफ्ना नाममा दर्ता गराउन दिनुमा सरकारको कमजोरी रहेको देखिन्छ । कोट मन्दिर रहेको स्थानको वरिपरिको जग्गा स्थानीय व्यक्ति र सरकारी निकाय समेतबाट अतिक्रमित भएको देखिन्छ ।
सुझावः
पैयुँकोट ऐतिहासिक, पुरातात्विक, पर्यटकीय र आर्थिक विकासका दृष्टिले पनि जिल्लाकै महत्वपूर्ण सम्पदास्थल हो । यसको संरक्षणमा वर्तमान पुस्ताले बेवास्ता गर्ने र समाजको आवश्यक ध्यान नपुग्ने हो भने भोलीको पुस्ताले धेरैले गुमाउनु पर्नेछ । राज्यस्तर र नागरिक समाज दुबै पक्षको क्रियाशीलतामा निश्चित योजना तथा कार्यक्रमका साथ आवश्यक बजेटको समेत व्यवस्थापन गर्दै यस किसिमका सम्पदास्थलको संरक्षणमा लाग्नु जरुरी हुन्छ । ऐतिहासिक पैयुँकोटको संरक्षण र विकासका लागि यससंग जोडिएका गाउँपालिकाहरु नै स्पष्ट कार्ययोजनाका साथ लाग्नुपर्ने देखिन्छ । पैयुँकोट र फूलबारी दरबारको संरक्षण र विकास गरी यसलाई सामाजिक, आर्थिक तथा पर्यटन विकासको महङ्खवपूर्ण क्षेत्रका रुपमा विकास गर्न कत्तिपनि ढिलाई गर्नु हुँदैन । गोल्र्याङको लेक, होश्राङ्दीको पहाड यसै पैयुँ क्षेत्रमा पर्ने भएकाले यो क्षेत्र पर्यटकीय विकासको बलियो सम्भावना बोकेको क्षेत्रका रुपमा देखिन्छ । पैयुँकोट क्षेत्रको अवलोकन र स्थानीय विभिन्न व्यक्ति तथा सरोकारवालाहरुसंग गरिएको छलफल अनुसार सरकारी तथा निजी सहभागितामा देहाय अनुसारका कार्यक्रमहरु गर्न सकेमा यस क्षेत्रको संरक्षण र पर्यटकीय गन्तब्यका रुपमा यसलाई विकास गर्न सकिन्छः–
पैयुँकोटसम्म सहज रुपमा पुग्न सकिने पदमार्ग तथा सडकमार्गको विकास गर्ने ।
ऐतिहासिक तथा पुरातात्विक महङ्खव भएका कोटघर र राजदरबार रहेको क्षेत्र स्थानीयबासीको अतिक्रमणमा पर्दै गएका छन् । यो कामलाई अविलम्व रोक लगाउनुपर्ने र अतिक्रमित जग्गाको खोजी गरी ट्रष्ट खडा गरी संरक्षण गर्नुपर्ने ।
पैयुँकोट र नायब साहेबको मन्दिर नजिकै रहेका राजदरबार, वारुदखाना, सैन्य पोष्ट, टे«ञ्चहरुको उत्खनन् गरी अतिक्रमित जग्गालाई फिर्ता गराइ मध्यकालीन कला र संस्कृति झल्कने गरी दरबारहरुको पुनर्निर्माण गर्ने ।
पैयुँकोटमा रहेका तत्कालीन पोखरीहरुको मर्मत संभार गरी पुरानै स्वरुपमा विकास गर्ने ।
दरबारको वरीपरी फूलबारी बँगैचा वा आधुनिक शैलीको बँगैचा बनाइ पर्यटकहरुका लागि आकर्षक गन्तब्यस्थलका रुपमा विकास गरिनुपर्ने ।
पैयुँकोटमा हाल बाँकी रहेको जग्गालाई तारजाली लगाइ संरक्षण गर्ने (यस कार्यको थालनी गरिएको छ ) । छतिवन नाहेब साहेबको मन्दिर फूलबारी दरबार परिसर आदि क्षेत्रमा पनि यो कार्य गरिनुपर्ने ।
नायब साहेबको मन्दिर फूलबारी दरबारबाट पैयुँकोटसम्म जानका लागि व्यवस्थित र फराकिलो घोडेटो बाटोको निर्माण गर्ने ।
मगर राजाहरुको पालामा कचहरी बस्ने भनिएको नाहेव साहेब दरबार नजिकैको छतिवनको रुखलाई संरक्षण गर्ने र त्यहाँपनि एउटा सुन्दर पार्कको निर्माण गर्ने ।
पैयुँकोटको विकासका लागि यसको ऐतिहासिक तथा पुरातात्विक महङ्खव झल्काउने गरी व्यापक प्रचार प्रसारका माध्यमबाट आकर्षक पर्यटकीय गन्तव्य स्थलका रुपमा यसलाई विकास गर्ने ।
पैयुँकोट, सेतीवेणी, महाशीला, धुँवाकोट, लुङ¥याङकोट, भतेरपाटा, गोल्र्याङको लेक, होश्राङदीको पहाड, जमपुरको छहरा, फूलबारी दरबार रहेको स्थल, नायब साहेबको मन्दिर, छतिवनको रुख रहेको स्थल आदिलाई एउटै प्याकेजमा समावेश गरी एकिकृत पर्यटन विकास योजना अन्तर्गत विकास गर्ने कार्यक्रम अगाडि ल्याइ यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने ।
पैयुँकोट क्षेत्रमा निर्माणको प्रक्रियामा रहेका संरचनालाई मन्दिरको बास्तुकलासँग मेल खाने गरी निर्माण गरिनुपर्ने । आधुनिक संरचनाको सट्टा प्राचीन मौलिकतालाई जोड दिने ।
नायब साहेबको मन्दिर रहेको ठाउँ नजिकबाट पैयुँकोटसम्म निजी क्षेत्रको सहभागितामा केबलकार निर्माण गर्ने । जसबाट पर्यटन विकासमा टेवा पुग्न सकोस् ।
गोल्र्याङको लेकमा करिब बीस हेक्टर जति क्षेत्रफलमा फैलिएको सम्म परेको चौरलाई मृगकुञ्जका रुपमा विकास गर्ने र पैयुँकोट अवलोकन गर्न आउने पर्यटकहरुलाई यहाँसम्म आवत्–जावत् गर्नका लागि व्यवस्थित घोडेटो बाटोको निर्माण गर्ने ।
पैयुँकोटमा पाइने विभिन्न किसिमका जडिबुटी, सुनाखरी तथा रैथाने प्रजातीका वनस्पतिको संरक्षण गरिनुपर्ने ।
त्यस क्षेत्रमा रहेको कला तथा संस्कुतिको संरक्षणका लागि विशेष पहल गर्नुपर्ने ।
कोटक्षेत्रभित्र रहेका तत्कालीन दरबार तथा अन्य संरचनालाई उत्खनन् गरी मध्यकालीन कला र संस्कृति झल्कने गरी पुनर्निर्माण गरिनुपर्दछ ।
कोट क्षेत्रमा यातायात, सञ्चार, मनोरञ्जन स्थल, होटल व्यबसाय होमस्टे आदिको विकास र विस्तार गरी यिनीहरुलाई व्यवस्थित, अर्थपूर्ण र मनोरञ्जनात्मक बनाइ आन्तरिक र बाह्य पर्यटकको बसाइलाई बढाउनु पर्ने ।
लोक संस्कृतिको संरक्षणका लागि हरेक वर्ष महोत्सव, मेला पर्वहरु सञ्चालन गरिनु पर्ने ।
कोटघरमा रहेका ऐतिहासिक तथा पुरातात्विक वस्तुहरुको संरक्षण गर्नु पर्ने ।
सन्दर्भ सामग्री सूची
अधिकारी, हेमाङ्गराज र वद्रिविलास भट्टराइ (२०६१), प्रयोगात्मक नेपाली शब्दकोष, काठमाडौंः विद्यार्थी प्रकाशन, ।
उपाध्याय, श्रीरामप्रसाद (२०५५), नेपालको समिक्षात्मक इतिहास, काठमाडौंः साझा प्रकाशन ।
जि.वि.स. पर्वत (२०७०), जिल्ला पर्यटन विकास गुरुयोजना, कुश्माः जिल्ला विकास समिति पर्वत तथा पर्वत विकास समाज, काठमाडौं ।
ढकाल, पुरुषोत्तम (२०६२), मन्दिरै मन्दिरको देश नेपाल, ललितपुरः शोभाकर ढकाल ।
नेप्रप्र (२०७२), नेपाली वृहत शब्द कोश काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
मल्ल, मोहन बहादुर (२०२८), पर्वतको इतिहास , प्राचिन नेपाल पत्रिका ।
रेग्मी, हिरालाल र सरोजराज पन्त (२०७४), पर्वत जिल्लाका ऐतिहासिक कोटहरु, कुश्माः जिल्ला समन्वय समिति, पर्वत ।
शर्मा, गोपीनाथ (२०७१), चौबीसी राज्यको इतिहास, काठमाडौंः मकालु प्रकाशन ।
श्रेष्ठ, टेकबहादुर (२०५९), पर्वत राज्यको ऐतिहासिक रुपरेखा, भाग ३, काठमाडांैः नेपाल र एशियाली अनुसन्धान केन्द्र ।
कर्णप्रताप सेन, पैयुँकोट संरक्षण तथा व्यवस्थापन समिति,महाशीला–१ होश्राङदी, पर्वतका अध्यक्षसंग मिति २०७४ साल जेठ ८ गते गरिएको कुराकानी ।