बागलुङका गाउँ-गाउँमा केन्द्रीय प्रसारण लाइन

आदर्श अनलाइन, बागलुङ

बागलुङका अधिकांश ग्रामीण क्षेत्र केही वर्ष अघि सम्म लघु जलबिद्युत (मिनी हाइड्रोपावर)मा पूर्णतः निर्भर थिए । त्यस मध्ये धेरै गाउँहरु अहिले केन्द्रीय प्रसारण लाइनले झिलिमिली बनिसकेका छन् । यद्यपि, अझै कैयन गाउँ केन्द्रीय प्रशारण लाइनले जोडिन सकेका छैनन् ।

केन्द्रीय प्रशारण लाइनले जोडिन नसक्दा हजारौँ उपभोक्ताले विभिन्न समयमा उज्यालो र उर्जाको सास्ती भोग्दै आएका छन् । स्थानीय हाइड्रोपावर बिग्रिदाँ महिनौँसम्म अन्धकारमा बस्नु पर्ने बाध्यता पनि उनीहरुमा छ ।

बिद्युतको सकस हटाउन नेपाल विद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले शहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि केन्द्रीय प्रशारण लाइन विस्तारलाई तीब्र बनाएको छ । प्राधिकरणले गाउँ–गाउँमा प्रशारण लाइन विस्तार गर्न थाले पछि दुर्गमका गाउँमा पनि केन्द्रीय प्रशारण लाइन बल्न थालेका छन् । प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै एक हजार ९ सय ५ ग्राहक संख्या थपेको जनाएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका तथा ताराखोला गाउँपालिकामा विद्युतको केन्द्रीय लाइन विस्तार गरेपछि ग्राहक संख्या थपिएको विद्युत प्राधिकरण बागलुङका प्रमुख इन्जिनियर शिवनारायण गोशली जानकारी दिनुभयो । उहाँले प्रशारण लाईन विस्तार कार्यलाई भने निरन्तरता दिइएको बताउनभयो ।

‘गत आर्थिक वर्षमा जिल्लाका विभिन्न पालिकाको केही गाउँहरुमा केन्द्रीय लाइन पु¥याएका छौँ, करीब दुई हजार नयाँ ग्राहक थपेका छौँ’ प्रमुख गोशालीले भन्नुभयो ‘बिद्युतको संचरना १५ हजार ग्राहक थप्न पुग्ने गरी विस्तार गरिएको छ तर गाउँमा हाईड्रो प्रोजेक्टका कारण घरेलु उपभोक्ता अझै पनि केन्द्रीय लाइनमा नजोडिनु भएको छैन ।’

गत आर्थिक वर्षमा जैमिनी नगरपालिकाको छिस्ती, रांखानी, सर्कुवा बिनामारे पैयुथन्थाप, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, गलकोटको काँडेवास, पाण्डवखानी, मल्म, बडिगाडको जलजला, दर्लिङ, भिमगिठे, खौलार, ढोरपाटनको बुर्तिबाङदेखि अधिकारीचौर सम्म ५ वटा वडामा विद्युत विस्तार गरेको उहाँको भनाई छ ।

गाउँघरमा सामान्य बत्ती बाल्नका लागि मात्रै विद्युत प्रयोग गर्ने उपभोक्ताहरु अझै पनि केन्द्रीय लाइनमा जोडिन नआएको भन्दै गोशालीले गत वर्ष ३५ सय देखि ४५ हजारको हाराहारीमा ग्राहक थप्ने यो जना भएको तर कोरोना संक्रमणका कारण समस्या भएको बताउनुभयो ।

गत वर्ष बिद्युतीकरणमा विभिन्न क्षमतामा ३० वटा ट्रान्सफर्मर जडान गरिएको उहाँले जानकारी दिनुभयो । गोशालीले बागलुङको पश्चिम क्षेत्रको धेरै क्षेत्रमा केन्द्रीय लाइन विस्तार हुन सकेको भन्दै यस वर्ष निसीखोला र तमानखोला गाउँपालिकामा पु¥याउने योजना रहेको बताउनुभयो ।

‘पश्चिम बागलुङमा यस भन्दा अगाडि केन्द्रीय प्रशारण लाइन पुगेको थिएन, गत वर्ष ढोरपाटन बडिगाड लगायतका स्थानमा पु¥याएका छौँ, यसवर्ष निसीखोला र तमानखोला पुयाउने लक्ष्य छ, प्रमुख गोशालीले भन्नुभयो ‘अहिलेसम्म बागलुङको करीब ६५ प्रतिशत क्षेत्रमा केन्द्रीय विद्युत पु¥याउन सफल भएका छौं, अहिले बुर्तिबाङमा कार्यालय स्थापना गरी नो लाईट सेवा, मिटर वितरण, मिटर रिडिङ तथा महशुल संकलन गर्ने कार्य समेत सुरु गरेका छौँ ।’

उहाँले वितरण लाइन सुदृढीकरण, कन्डक्टर क्षमता वृद्धि लगायतको काम गरेर विद्युत लस पनि घटाएको बताउनुहुन्छ । ‘विभिन्न कारणले गर्दा विद्युत लस हुने गर्छ, हामीले माथिल्लो निकायले दिएको भन्दा अझ कम विद्युत लस राखेका छौं, बागलुङमा वार्षिक विद्युत लस १२ प्रतिशतको लक्ष्य थियो, हामीले ११.६९ प्रतिशतमा राख्न सफल भएका छौं,’ उहाँले भन्नुभयो ।

बागलुङ वितरण केन्द्रबाट हाल पाँच हजार १०० सामुदायिक सहित ३० हजार ८३ ग्राहकले विद्युत उपभोग गरिरहेको प्राधिकरण केन्द्रले जनाएको छ । गत वर्षमा बागलुङ वितरण केन्द्रले एक हजार पाँच सय बढी काठे पोलको ठाउँमा फलामे पोल राखेको समेत कार्यालयले जनाएको छ ।

बागलुङमा साढे चारदेखि पाँच मेगावाट विद्युत दैनिक खपत हुने गरेको छ । प्राधिकरणले गतवर्ष विद्युत बिक्रीबाट साढे १३ करोड रुपैयाँ उठाएको प्रमुख गोशालीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा बडिगाड र ढोरपाटनको बाँकी रहेको ५० प्रतिशत क्षेत्र, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा विद्युतको केन्द्रीय प्रशारण लाइन पु¥याउने भन्दै हरिचौरमा रहेको विद्युत शव स्टेशन मर्मत गरेर नयाँ फिडर जडान गरेपछि बुर्तिबाङ क्षेत्रमा विद्युत वितरणमा सहजता भएको उहाँको भनाई छ ।

हाल रामरेखामा ११ एमभीए र गलकोट हरिचौरमा ३ एमभीएको शव स्टेसन सञ्चालनमा छन् । बुर्तिबाङ र कुस्मीशेरामा निर्माणको प्रक्रिया अगाडि बढेको छ भने खर्बाङमा पनि सव स्टेशन राख्ने गरी प्रस्ताव गरिएको बताइएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङले एक वर्षमा एक करोड ४२ लाख युनिट विद्युत विक्री गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा प्राधिकरणले ३५ लाख रुपैयाँ बक्यौता समेत संकलन गरेको भन्दै विद्युतको उपभोग गरेर समयमा महशुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता रकम संकलन गरेको उहाँको भनाई छ । चार सय ६४ जना ग्राहकको लाइन काटेर उक्त रकम संकलन गरेको गोशालीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *