विदेशको अवैध बाटो र विडम्बना

सम्पादकीय
नेपाल र नेपाली अझै परनिर्भरतामा बाँच्न बिबश छ । वैदेशिक ऋण, अनुदान, सहायतामा नेपाल छ भने लाखौ नेपाली युवाहरु आफ्नो र परिवारको जीविकाका लागि परदेशिन बाध्य भएका छन् । नेपालीहरू वैदेशिक रोजगारीका सिलसिलामा विश्वका एक सय ७२ भन्दा बढी मुलुकमा पुग्ने गरेको तथ्यांक छ । यसमा मुख्य गन्तव्य भने मलेसिया र खाडीका राष्ट्रहरू छन् । यी मुलुकहरूले नेपालको वैदेशिक रोजगारको करिब दुई तिहाइभन्दा बढी हिस्सा ओगटेका छन् । साउदी अरबमा ३ लाख ५० हजार (२४ प्रतिशत), कतारमा ३ लाख ५१ हजार (२४.६) प्रतिशत, मलेसिया ३ लाख २५ हजार (२२.७ प्रतिशत), यूएईमा २ लाख ७५ हजार (१९ प्रतिशत) कुबेतमा ८० हजार (५ प्रतिशत) नेपाली कार्यरत छन् । यसबाहेक अन्य देशमा वैध र अवैध बाटोबाट कति नेपाली विदेशका मुलुक पुगेका छन् ? यसको सरकार सँग एकीन तथ्यांक छैन ।

अहिले अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेको छ । अफगान राष्ट्रपति देश छोडेर अन्यत्रै लागेका छन् । राष्ट्रपति कार्यालय तालिबानले कब्जा गरिसकेको छ । यसअघि अफगानिस्तानका अन्य मुख्य शहरहरु पनि आफ्ना नियन्त्रणमा लिइसकेको छ । सोमवार विमानस्थलमै हवाई फायर चलेको छ । तीन जनाको ज्यान समेत गएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेपछि रोजगारीका लागि त्यहाँ पुगेका नेपाली कामदारहरू तत्काल स्वदेश फर्किन प्रतिक्षारत छन् । यसका लागि तत्काल आवश्यक पहल कदमी लिन सरकारलाई चौतर्फी आग्रह र दबाब छ । तर, बिडम्बना सरकार सँग अफगानिस्तानमा कति नेपाली कार्यरत रहेका छन् ? त्यसको तथ्यांक छैन । सरकार अहिले भन्दैछ, कति नेपाली छन् ? त्यसको तथ्यांक संकलन कार्य भइरहेको छ । अहिले ४–५ हजार श्रमिक अफगानिस्तानमा कार्यरत रहेको हुन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ । यद्यपि, परराष्ट्र मन्त्रालयले भने अफगानिस्ताबाट करिब १५ सय नेपाली उद्धार गर्नुपर्ने अवस्थामा रहेको बताइरहेको छ ।

अफगानिस्तानमा नेपाल फर्किन प्रतिक्षारत नेपालीको सरकारले उद्धार गर्न ढिलाई गरिनु हुन्न । आफ्ना नागरिकको सुरक्षामा कुनै कञ्जुस्याई र बाहना स्वीकार्य हुन सक्दैन । तर, यो पाटो पनि बिर्सिनु हुँदैन कि अवैध बाटोबाट विदेश जाने क्रम जारी छ । जसले उद्धार र तथ्यांक संकलन गर्न समेत कठीनाई भइरहेको छ । दुई वर्षयता १ हजार ५ सय नेपाली मात्रै वैधानिक बाटो भएर अफगानिस्तान पुगेका छन् । तर, यो अवधिमा ५ हजारभन्दा धेरै नेपाली रोजगारीका लागि अफगानिस्तान पुगेको सरकारी अनुमान छ । अफगानिस्तान, लिबिया र इराकको रोजगारीका लागि सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ । तर, नेपाली कामदारहरू भने विभिन्न बाटोको प्रयोग गरी यी देश पुगेका छन् । अतः सरकारले यस्ता अवैध बाटोको समयमै पहिचान गरी बन्द गर्न अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *