स्थानीयको सक्रियतामा पाखाथरमा लिफ्ट खानेपानी

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाको बजार क्षेत्र भित्रै खानेपानीको चरम अभाव खेप्दै आएका उपल्लो पाखाथरका ५० घरमा खानेपानीको सहज सुविधा पुगेको छ ।

लामो समय देखि बत्ती मुनीको अध्यारो जस्तै बनेर खानेपानीको समस्या भोग्दै आएका उपल्लो पाखाथरका स्थानीयले आफै जागरुक भएर खानेपानी योजना सम्पन्न गरेका छन् । यसमा बागलुङ नगरपालिकाले पनि केही सहयोग गरेको थियो ।

योजना नबन्दा सम्म स्थानीयले कुवा र मुलको पानीमा निर्भर हुनुपर्ने बाध्यता थियो । तर, अब यस्तो बाध्यता लिफ्ट खानेपानी आयोजना सम्पन्न भएसंगै सकिएको स्थानीय उपभोक्ता बताउँछन् । स्थानीय उपभोक्ताले रु.१५ लाख संकलन गरी खत्रीबारीमा ७५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरेका थिए ।

पधेराघरको पानीलाई एक सय मिटर माथी खत्रीबारीमा लिफ्ट प्रविधि मार्फत लगेर ५० घरमा एक घर एक धारा निर्माण गरेका छन् । योजना सम्पन्न भए पछि सोमबारदेखि घर घरमै खानेपानी पुगेको सामुदायिक खानेपानी तथा उपभोक्ता संस्था उपल्लो पाखाथरका अध्यक्ष कुमार विक्रम क्षत्रीले जानकारी दिनुभयो । क्षत्रीका अनुसार योजनाको पाइप लाइन विस्तारका लागि भने बागलुङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

“२०३८ सालमा जुरेढुङ्गाको मुलबाट आएको पानी सामुदायिक धारा मार्फत् खाने गरिन्थ्यो, अहिले त्यहाँबाट सानो पानी आउँछ, खानेपानीको अभाव झेल्दै आएका स्थानीयले उपल्लो पाखाथर टोल विकास संस्थामा आवद्ध भइ नयाँ घरले ४१ हजार र पुरानो घरले २६ हजार संकलन गरी १५ लाख जुटाएर लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न लागेका थियौ” क्षत्रीले भन्नुभयो “प्राविधिक सहयोग गर्दै आएको नगरपालिकाले ८ लाख बजेट विनियोजन गरेपछि आयोजनाले सार्थकता पायो ।” उपल्लोपाखाथर बागलुङ नगरपालिका–३ र ४ वडामा पर्दछ ।

जिल्ला सदरमुकामबासी भएर पनि पुरानो पानीकोे मुहान सुक्दै गएपछि कुवाको पानीमा निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य भएको र घरमै खानेपानीको धारा आउँदा स्थानीयमा खुसी छाएको उपभोक्ता धन बहादुर जिसी बताउनुहुन्छ ।

बस्ती भन्दा मुहान तल भएका कारण एक सय मिटरको उचाईमा पम्प मार्फत खानेपानी पु¥याएर घर–घरमा वितरण गरिएको बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माले जानकारी दिनुभयो । “उपभोक्ताकै सक्रियतामा खानेपानी निर्माण भएको हो, नगरपालिकाले प्राविधकि सहयोग गरेको थियो, गत वर्ष नगरपालिकाले खानेपानी आयोजना सार्थकता दिन ८ लाख रुपैयाँ विनियोजन गरेर काम सम्पन्न भएको छ” इन्जिनियर शर्माले भन्नुभयो “मुहानको स्रोत कम हुँदा लिफ्ट मार्फत खानेपानी पु¥याइएको हो, अहिले घरमा मिटर जडान सहितको धारो छ ।”

खानेपानी ट्याङ्कीबाट थप २५ घरमा खानेपानी वितरण गर्ने उपभोक्ता समितिको लक्ष्य छ । १५ लाख सामुदायिक खानेपानी समितिबाट संकलन गरे पनि नगरपालिकाको ८ लाखको काम भने उपल्लोपाखाथर लिफ्ट खानेपानी आयोजना मार्फत सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष खिमराम ढुङगानाले बताउनुभयो । खानेपानीको अभावमा त्यहाँका स्थानीयले बसाई सराई गर्दै आएका थिए भने त्यहाँ जग्गा खरिद भए पनि खानेपानीको अभावमा घर निर्माण कार्य रोकिएका थिए ।

पाँच मुललाई केद्रित गरेर मात्रै खानेपानी आयोजना सम्पन्न भएको छ । २५ एमएमको पाइपमा जुरेढुङ्गाको मुहानबाट सोझै संकलन ट्याङ्कीमा आएको छ भने पधेराघर, रिठाकोट सहितका कुवाको पानीलाई लिफ्ट मार्फत् ४० एमएमको पाइपमा एक सय मिटर माथी लगिएको हो ।

हिउँदको समयमा चार घण्टा र बर्खाको समय ४ घण्टा मात्रै खानेपानी लिफ्ट गरेमा सबैलाई खानेपानी पुग्नेछ । खानेपानी उपभोग गरेवापत विद्युत महशुल र मर्मत सम्भारका लागि मासिक रु. २०० उपभोक्ताले खानेपानी उपभोक्ता समितिलाई तिर्नुपर्ने प्रावधान बनाइएको छ । उपभोक्ताले आवश्यकता अनुसार घरमा धारो निर्माण गर्न सक्नेछन् । ५० मध्ये दुई वटा सामुदायिक धारा समेत निर्माण गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *