मुटु भन्दा प्यारो मेरो देश

संयोग पन्त
मेरो देश नेपाल मेरो मुटुको टुक्रा हो । मलाई मेरो देश मुटु भन्दा प्यारो लाग्दछ । मेरो देश प्राकृतिक दृश्यले एकदमै सुन्दर, रमणीय र पवित्र छ । पूर्व मेची र पश्चिममा महाकालीको रेखा कोरेर उत्तरतर्फ हिमश्रृखंलाको प्राकृतिक पर्खाल लगाई स्वंयम् प्रकृति मेरो देशको रक्षामा खटिरहेको छ । मेरो देशको चार किल्ला भित्र नदी, ताल, झरना, हिमाल, पहाड र तराईका भूभाग छन् ।

भूगोलमा नेपाल भारत र चीन बिचको सानो देश नेपाल उत्तरमा चीन र पूर्व, पश्चिम र दक्षिणमा भारत छ । भौगोलिक रुपमा नेपालमा तीन क्षेत्रहरु छन् । ती पहाडी, हिमाली र तराई हुन् । हिमाली क्षेत्रले पन्ध्र प्रतिशत नेपालको जमिन ओगटेको छ । नेपालको ६८ प्रतिशत जमिन पहाडी क्षेत्रले र तराई क्षेत्रले १७ प्रतिशत जमिन ओगटेको छ । अहिले नेपालमा सात वटा प्रदेश छन् । काठमाडौं देशको राजधानी हो । नेपाल प्राकृतिक रुपले धनी छ । नेपाल समुन्द्रसँग जोडिएको छैन । नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ । नेपाल धार्मिक र ऐतिहासिक सम्पदाले पनि ज्यादै धनी छ ।

मेरो देशको भौगोलिक विशेषता क्षेत्र अनुसार फरक छ । हिमालमा जाडोमा धेरै चिसो र सुख्खा हुन्छ । पहाडमा सन्तुलित हावापानी पाइन्छ र तराईमा गर्मी हुन्छ । नेपालमा कहिलेकाही आँधीबेहरी, धेरै बर्षा र बाढी पहिरो पनि आउँछ, जसले त्रसित गराउँछ । मेरो देश प्राकृतिक सौन्दर्य र स्रोतहरुमा धनी भएकोले यी दुःखलाई बिर्साउने कोशी, गण्डकी र कर्णाली जस्ता लामो र चौंडा नदीहरूले खुशी दिएका छन् । हामीसँग रुपा, बेगनास, र रारा जस्ता ठूला तालहरू अनि हरिया उपत्यका, सुन्दर पानी बग्ने झरनाहरु छन् । मेरो देश धार्मिक र ऐतिहासिक सम्पदामा पनि धेरै धनी छ । मेरो देश नेपाल सगरमाथा, सुन्दरता र पशुपति मन्दिरको लागि प्रसिद्ध छ । माउन्ट एभरेष्ट सगरमाथा विश्वको सबै भन्दा अग्लो हिमाल हो, जहाँ धेरै पर्यटकहरू आउँछन् । यी बाहेक, हामीले भ्रमण गर्नुपर्ने नेपालका धेरै स्थानहरू छन् । जसमा लुम्बिनी, चितवन, पोखरा, गोरखा, जनकपुर, बागलुङ, पशुपतिनाथ आदि प्रख्यात ठाउँका उदाहरणहरू हुन् । नेपालको राष्ट्रिय चाड़हरू दशै र तिहार हुन् र राष्ट्रिय जनावर गाई, राष्ट्रिय फूल लालिगुँरास र राष्ट्रिय पंक्षी डाँफे हो ।

मेरो देश नेपालमा धेरै जाति, धर्म, भाषा तथा विभिन्न रहनसहन भएका मानिसहरू बस्दछन् । यहाँ किसिम किसिमका कला, संस्कृति, चाडपर्व, परम्परा तथा रीतिरीवाजहरू छन् । त्यसैले, मेरो देश नेपाललाई थरीथरीका फूलहरूको एउटा सुन्दर माला हो । मेरो देश नेपालको राष्ट्रिय भाषा नेपाली भाषा हो । यहाँ एक सय पच्चिस भन्दा बढी भाषाहरू बोलिन्छ तर पनि सबै नेपालीहरूले नेपाली भाषा बोल्दछन । नेपालमा बस्ने मानिसलाई नेपाली भनिन्छ ।

नेपालमा कलकल बग्ने खोला र छंगछंग गर्ने झरनाको आवाजले गर्दा पर्यटकहरु आउने गर्दछन । चराचुरुङ्गी चिरबिर स्वरले असाध्यै आनन्द लाग्दछ । हामी जब प्रकृतिको यस्तो रमणीय ठाउँहरुमा पुग्दछौ अनि मात्र मन फुरुङ्ग हुन्छ, खुशी लाग्दछ । त्यसबेला अरु केही कुराको मोह, स्वार्थ रहदैन, केबल आनन्द आउँछ । यहाँ जब नदी, ताल, खोलानालाको पवित्र पानी हाम्रो शरीरमा पर्दछ, तब एक प्रकारको उर्जा र आनन्द महशुस हुन्छ । त्यो आनन्द हामी विश्वका अरु देशमा पुगेर सायदै पाउँछौ होला । प्रकृतिको वातावरणले सिंगारिएका हाम्रा हिमाल, पहाड र तराईका स्वच्छ हावा र चिसो पानीले हामीलाई बल दिई रहेका छन् । हाम्रा पुर्खाले रात दिन लडेर जोगाएको नेपालमा जब हामी मुस्कुराउँदछौ अनि मात्र उहाँहरु पनि खुशी हुनु हुन्छ ।

बौद्ध धर्मका प्रवर्तक नेपाल र नेपालीका गौरव महात्मा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो । यहाँ धेरै जातजाती, धर्म, सम्प्रदायका मानिसहरु बस्छन् । धेरै जातजाती र धर्मको नाममा झगडा नगरीसँगै मिलेर बस्छन् । नेपालमा बाहुन, क्षेत्री, नेवार, गुरुङ, मगर, थकाली, राई, लिम्बु, दमाई, कामी, सार्की लगायतका झण्डै तीन करोड मानिसहरु छन् । ती मध्ये धेरै मानिसले मान्ने धर्म हिन्दु र बौध हुन् । मेरो देशका मानिसहरूले बिभिन्न चाडपर्वहरू खुशी साथ मनाउँछन् । जसमा दशैं, तिहार,ल्होसाार, होली, शिवरात्री आदि सबैभन्दा लोकप्रिय चाडपर्वहरू हुन् । चाडपर्वमा बिभिन्न प्रकारका मिठा खाने कुराहरु खाने, नयाँ कपडाहरु लगाउने र रमाइलो गर्ने गरिन्छ । नेपालका लोकप्रिय खाने कुराहरुमा दाल, भात, ढिडो, गुन्दुक, रोटी आदि हुन् । नेपालमा बिभिन्न नाँचहरु पनि छन् । जसमा शेर्पाको स्याब्रु नाँच, गुरुङको रोदी, लिम्बुको धान नाँच र नेवारको लाखे नाँच आदि यहाँका अलग–अलग नाँच अनि संस्कृति र जातीका परम्परा तथा पहिचान छन् ।

नेपालका मानिसहरु विभिन्न पेसामा संलग्न रहेका छन् । जसमा कृषि, पशुपालन, उधोगधन्दा, जागिर, व्यापार व्यावसाय आदि छन् । नेपालमा हरेक वर्ष पर्यटकहरु आँउछन् । नेपालले आफ्नो देशको साधन स्रोत र सम्भावनाको उपयोग र विकास गरेर पर्यटकहरुलाई थप आकर्षित गर्यो भने पर्यटनमा बृद्धि गर्न सकिनेछ । यदि हामीले पर्यटकहरुलाई नेपालमा रमाउन, खुसी, आनन्दित तुल्याउन सक्यौ भने विदेशी पैसा स्वेदशमा भित्राउन सक्नेछौ । हामीले उनीहरुलाई खुशी पार्ने चीजहरु बनायौँं भने धेरै पर्यटकहरु नेपाल भ्रमण गर्छन् र हामी धनी बन्न सकिन्छ । हामी सबै मिल्यौँ भने मात्र नेपालमा अनेकताभित्र एकता रहन्छ ।

नेपालमा सरकारले देशको आवश्यकता अनुसारका विकासका कार्यक्रम ल्याउनु पर्दछ । सरकारले देश र जनता सवैलाई फाइदा पु¥याउने विभिन्न सुविधा प्रदान गरी अप्ठ्यारोमा परेकोलाई सहयोग गर्नुपर्दछ । मलाई नेपाली भएकोमा गर्व छ र नेपालको संस्कृति मन पराउँछु । जब म ठूलो हुन्छु म नेपालका दुखी गरीब मानिसहरूलाई सहयोग हुने काम गर्न चाहन्छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *