एसके थकाली, मुस्ताङ
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्डअन्तर्गत प्याकेज नं. ४ को मुस्ताङ खण्डमा सडक निर्माणको काम गरिरहेको स्काभेटर बुधबार कालीगण्डकी नदीमा खसेको छ ।
कालीगण्डकी नदीमा खसेको डोजर बाहिर निकाल्ने प्रयास गरिएपनि नदीको बाहव उच्च रहेकाले निकाल्न सकिएको छैन। मुस्ताङको घरपझोङ-२ मार्फा सामग्री नजिकको सडकमा रिटेरिङ वालको लागि कालिगण्डकी नदीबाट ढुङ्गा निकाल्ने क्रममा बा २ क ३८८१ नम्बरको होन्डा स्काभेटर उपकरण अनियन्त्रित भई कालिगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्डको प्याकेज नं ४ मा सडक स्तरोन्नतिको जिम्मा कोशी एण्ड न्यौपाने जेभीले लिएको थियो । उक्त स्काभेटर निर्माण कम्पनीले भाडामा लिएको थियो ।
सडक निर्माण स्थलनजिक कालीगण्डकी नदीबाट ढुङ्गा निकाल्ने क्रममा स्काभेटर खसेको थियो । अचानक कालिगण्डकी नदीमा खसको स्काभेटर कालिगण्डकी नदीले बगाएर करिब २५ मिटर तल पुर्याएको जिप्रका मुस्ताङले उल्लेख गरेको छ ।
कालीगण्डकीमा स्काभेटर खसेपनि स्काभेटर अपरेटर भने सुरक्षित रहेको जनाइएको छ । स्काभेटर नदीमा खसेपछि पुरै इन्जिनभित्र पानी पसेको थियो । बर्खायामको मौसममा कालीगण्डकी नदीको सतह उच्च हुँने भएकाले स्काभेटर कालिगण्डकी नदीबाट बाहिर निकाल्न अप्ठ्यारो परेको छ ।
यस्तै, दुई वर्षअघि बेनी-जोमसोम सडक स्तरोन्नति गर्ने क्रममा मुस्ताङको थासाङ गापा-४ घाँसा नजिक स्काभेटर कालीगण्डकी नदीमा खसेको थियो ।