सम्पादकीय
भनिन्छ—युद्व, प्रेम र राजनीतिमा हरेक कुरा जायज हुन्छ । यो धेरै हद सम्म घटनाक्रमहरुले देखिन्छ पनि । यी तीनमा अझ बढी राजनीतिमा जे गरे पनि लज्जाबोध नहुने व्यथिति आजको समाजमा अझ तीब्र बन्दैछ । हुन त देशमा लामो संघर्ष पछि नयाँ व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित छ । यो व्यवस्थामा हिजोको पुरानो व्यवस्थामा भएका खराब पात्र र प्रवृत्तिहरु बदलेर सुखी नेपाली, समृद्ध नेपाल बन्ने आशा र भरोसा व्यापक थियो । दुर्भाग्य भन्नुपर्छ, नेपालका राजनीतिक दल र नेताहरु अन्ततः पुरानै व्यवस्थाको पात्र र प्रवृत्ति भन्दा कत्ति पनि फरक देखिएनन् । सत्ता जोगाउन र गिराउने खेलमा राजनीतिलाई अन्ततः फोहोरी खेल हो भन्ने मान्यतामा मलजल गरे । राजनीतिक स्थिरता कायम हुने र समृद्धि निकट समयमा प्राप्त गर्ने नागरिकको अभिलाषालाई छिन्न भिन्न पारे । अहिले सरकार र दल अदलबदल तीव्र छ ।
अघिल्लो सरकार ‘प्रतिगमनकारी’ करार गरेरै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतको गठबन्धनबाट ढल्यो । र यतिबेला कांग्रेस नेतृत्वमा ‘अग्रगमनकारी’ सरकार छ । केपी ओली नेतृत्वको सरकार पार्टी भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुग्दै गर्दा सरकार जोगाउन प्रधानमन्त्री ओलीले अनेकन प्रयत्न गरे । दुई पटक त संसद विघटन नै गरे । भलै त्यसलाई सर्वोच्च अदालतले बदर गरिदियो । संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट सरकार चलाउने प्रयास गरे । त्यही बिचमा दल बिभाजन सम्बन्धी अध्यादेश ल्याए । संविधानको भावना, मर्म, मूल्य मान्यता माथि नै प्रहार गरेर ओलीले ‘प्रतिगामी’ कदम चालेको भन्दै गठबन्धनले तीब्र बिरोध ग¥यो । अध्यादेश फिर्ता लिइयो । ओली नेतृत्वको सरकार अन्ततः ढल्यो । नयाँ सरकार बने पछि विगतको ओली नेतृत्वको सरकारका खेदजन्य प्रवृत्ति दोहोरिन्न भन्ने आंशिक अपेक्षा थियो ।
अहिले वर्तमान सरकार पनि केपी ओली नेतृत्वकै ‘प्रतिगामी’ बाटोमै हिँड्न थालेको छ । हिजो जे गर्दा ‘प्रतिगमन’ भनियो, गलत भनियो, बिज्ञप्तीबाजी र बिरोध गरियो । अहिलेको सरकारले संसद अधिवेशन अन्त्य गरेर २० प्रतिशत सदस्य संख्या भए दल विभाजन गर्न सकिने अध्यादेश ल्यायो । यसले मुलुकमा राजनीतिक स्थिरता र नयाँ संविधानले कल्पना गरेको प्रणाली र स्थायित्वमा गम्भीर खलल पुग्ने निश्चित प्रायः छ । राणा र राजाहरुले पहिले जे रणनीति अपनाएर सयौं वर्ष शासन गरे, अहिलेका राजनीतिक दल र नेताहरुमा पनि फुटाउ र शासन गर भन्ने अभिमान देखिन्छ । कुन नैतिकताले दिन्छ होला कि हिजो गर्दा गलत, आज सही या हिजो सही कदम भन्नेहरु आज गलत ? यसले राजनीतिको व्यथितिलाई प्रतिबिम्बित गर्छ । अतः अग्रगमन र प्रतिगमन केबल शव्द स्वार्थ जाल भएको छ, व्यवहारतः अग्रगमनकारी सरकार र प्रतिगमनकारी सरकारमा भिन्नता देखिन छाडेको छ । यी सबै घटनाक्रमको मूल्य लोकतन्त्रले चुकाउने छ ।