एमाले बागलुङका सुझाव हेडक्वाटरमा बुझाइयो

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको संशोधित विधानका लागि बागलुङका नेता कार्यकर्ताले दिएको सुझाव पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको छ । एमाले बागलुङले बुधवार सांझ भर्चुअल माध्यमबाट जिल्लाका नेता कार्यकर्ताहरुसंग सुझाव संकलन गरेको थियो ।

पार्टीका जिल्लामा रहेका र जिल्ला बाहिर र प्रवासमा समेत रहेका नेता कार्यकर्ताहरुबाट संकलित सुझाव पार्टीका महासचिव इश्वर पोखरेल र पार्टी केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङलाई बुझाइएको छ ।

जिल्लाका नेता कार्यकर्ताहरुको सझाव पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मन कुमारी केसी जिसीले केन्द्रीय कार्यालयमा पुगेर महासचिव र कार्यालय सचिवलाई बुझाउनु भएको हो ।

पार्टीका नेता कार्यकर्ताहरुले दिएका महत्वपूर्ण सुझावहरु पार्टी महासचिवलाई बुझाइएको र उहाले सुझावहरुका विषयमा पार्टीमा छलफल गर्ने बताउनु भएको केसीले जानकारी दिनुभयो ।

भदौ २७ र २८ गतेका लागि आयोजित विधान अधिवेशनमा प्रस्तुत हुने संशोधित विधानमा जिल्लाका नेताहरुले दिएका सुझाव महत्वपूर्ण रहेको र सुझाव कार्यान्वयनका लागि केन्द्रमा बुझाइएको केसीको भनाइ छ ।

भर्चुअल कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालीले प्रस्तावित विधानका बारेमा सहजीकरण गर्नु भएको थियो । जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुले विधानले नेपालको कम्युनिष्ट आन्दोलनको मर्म र भावनालाई आत्मसात गर्नु पर्ने, संविधानमा भएको व्यवस्था अनुसारको संरचनाहरु निर्माणसंगै सोही अनुसारको सहभागिता गराउनु पर्ने, अध्यक्ष प्रत्यक्ष र पदाधिकारी केन्द्रीय कमिटिबाट निर्वाचित गर्ने विधि भन्दा पदाधिकारीहरु पनि प्रत्यक्ष निर्वाचित हुने विधि कायम गर्नु पर्ने, जनताको बहुदलीय जनवादको मर्म अनुसार पार्टीको आन्तरिक प्रतिस्पर्धालाई मर्न दिन नहुने, आयोग तथा विभागहरुमा प्रमुखले सचिव चयन गर्ने नभई निर्वाचित हुने व्यवस्था गर्नु पर्ने लगायतका सुझाव दिएका थिए ।

सहभागीहरुले दिएका सुझाव पार्टी हेडक्वाटरमा बुझाएका छौ, जिल्ला इन्चार्ज केसीले भन्नुभयो, थप सुझाव विधान महाधिवेशनसम्म दिन सकिनेछ । सुझावलाई मध्यनजर गरेर पार्टीको विधान अधिवेशन पार्टीको आगामी विधान तयार गर्नेछ ।

भर्चुअल माध्यमबाट सञ्चालित विधान मस्यौदामाथिको छलफलमा जिल्लाका नेता कार्यकर्ताहरु जिल्ला, देश र विदेशबाट समेत गरी २ सय जनाको सहभागिता रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *