संकटमा सदरमुकाममै छैन हेलिप्याड

आदर्श अनलाइन, बागलुङ
साविक धौलागिरी अञ्चल सदरमुकाम रहेको बागलुङ बजारमा जनघनत्व सँगै बस्ती विकास तीब्र रुपमा बढ्दै जाँदा खाली जग्गा पाउन मुस्किल हुन थालेको छ ।

पछिल्लो समय स्थानीय तहले सञ्चालन गर्दै आएको ‘एक वडा, एक हेलिप्याड’ले समेत सार्थकता पाउन सकेको छैन । सार्वजनिक स्थान अभावमा थोरै मात्र वडामा हेलिप्याड निर्माण भएका छन् । हेलिप्याड नहुँदा उद्दारमा कठिनाई भइरहेको बजारबासी बताउँछन् ।

कोरोना महामारीमा यसको अभाव झनै खड्किएको छ । जिल्लामा नेपाली सेना र नेपाल प्रहरीको बाहेक कुनै हेलिप्याड नहुँदा कोरोना संक्रमितको उद्दारमा धौलागिरी क्याम्पसको प्राङ्गणमा हेलिकप्टर ल्याण्ड गर्ने गरिएको छ । तर, सुरक्षाका दृष्टिले हेलिकप्टरका लागि हेलिप्याड नै निर्माण गर्न आवश्यक हुन्छ । राष्ट्रपति उद्दार कार्यक्रमका लागि सरकारले वडा–वडामा हेलिप्याड बनाउने योजना बनाए पनि सार्थकता पाउन सकेको छैन । बागलुङ जिल्लाबाट कोरोना संक्रमणबाट ग्रसित दुई दर्जन बढी बिरामीलाई हेलिकप्टर मार्फत पोखरा काठमाण्डौं पठाइए पनि जिल्ला सदरमुकाममै हेलिप्याड नहुनु दुखद् रहेको स्थानीय राजन शर्मा बताउनुहुन्छ ।

धौलागिरी अस्पताल परिसरमा लामो समयदेखि हेलिप्याड बनाउन खोजेको भए पनि जग्गा अभावका कारण हेलिप्याड बनाउन नसक्दा क्याम्पसका भर पर्नु पर्ने अवस्था आएको धौलागिरी अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी रानाले बताउनुभयो ।

“अस्पतालको जग्गा २५ रोपनी छ तर, खाली जग्गा निकै कम छ, सुरुमा गुरु योजना नबनाउँदा आवासीय भवनहरु अस्तव्यस्त रुपमा निर्माण भएका रहेछन्” रानाले भन्नुभयो “अस्पतालको छतमा हेलिप्याड बनाउन प्रयास गरेका थियौ, त्यो प्राविधकि रुपमा कठिन र बढी खर्चिलो भएकाले सकिएन, अस्पताल भित्रै हेलिप्याडको खाँचो छ, जग्गा छैन, बागलुङ बजारमा जग्गा खरिद गर्न सक्ने अस्पतालको आर्थिक अवस्था छैन ।”

धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा हेलिकप्टर ल्याण्ड गर्दा पठन पाठनमा असर पर्दै आएको छ ।
क्याम्पसमा हेलिकप्टर आउँदैछ भन्ने कुरा क्याम्पस प्रशासनलाई समेत सूचना नहुने धौलागिरी क्यापसका क्याम्पस प्रमुख डा.राम प्रसाद उपाध्यायले बताउनुभयो । “कहिलेकाहीँ त दैनिकजसो हेलिकप्टर आउँछ, हामीलाई थाहा हुँदैन, क्याम्पसमा कहिले पढाई त कहिले परीक्षा चलिरहेको हुन्छ, व्यावहारिक रुपमा अत्यावश्यक उद्दारमा त हामीले केही भनेका छैनौं” डा. उपाध्यायले भन्नुभयो “तर भेटघाट, घुमघाम तथा चुनावी प्रचारमा आउने हेलिकप्टर क्याम्पसमा नराख्दा राम्रो हुन्थ्यो, उपल्लाचौरको ब्यारेक तथा बाङ्गेचौरको खेल मैदान विकल्प हुन सक्छ ।”

हेलिकप्टर ल्याउने मध्ये केहीले मात्रै क्याम्पसलाई जानकारी दिने गरेको र अरुले हचुवाको भरमा हेलिकप्टर ल्याण्ड गर्ने गरेका छन् । हेलिकप्टर मात्रै नभएर हेलिकप्टर हेर्नेको समेत क्याम्पसमा भीड बढ््दा सुरक्षा चुनौती समेत बढेको उहाँको भनाई छ ।

एउटा शैक्षिक संस्था भित्र हेलिकप्टर राख्दाक्याम्पस प्रशासनलाई जानकारी दिन आवश्यक रहेको क्याम्पस प्रमुख उपाध्यायको भनाई छ । जिल्लामा पछिल्लो समय विभिन्न पालिकामा हेलिकप्टर ल्याण्ड गर्नै हेलिप्याड बनाएको ले स्थानीय तहसंग समन्वय गरी जिपिएस सहितको विवरण तयार पार्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी गशेण गौतमले बताउनुभयो ।

वैकल्पिक व्यवस्थापनका लागि क्याम्पसको प्राङ्गण प्रयोगमा ल्याइएको र बागलुङ बजारको अन्य स्थानमा समेत हेलिप्याड निर्माण गर्न आवश्यक भइसकेको उहाँको भनाई छ । कोरोना संकटमा हेलिकप्टरबाट संक्रमितको उद्दार व्यापक भएकाले हेलिप्याड आवश्यक भएकाले आपतकालीन अवस्थामा सुरक्षा निकायको हेलिप्याड समेत प्रयोग गर्न सकिने गौतमले बताउनुभयो ।

आर्थिक हैसियत राम्रो भएकाहरु चाडपर्वमा घर फर्कदा समेत हेलिकप्टरको प्रयोग गर्दै आएको भए पनि आपतकालीन अवस्थामा बाहेक अन्य समयमा क्याम्पस हातामा हेलिकप्टर राख्दा समस्या हुने क्याम्पस प्रशासन बताउँछ । धौलागिरी अस्पतालले २ सय शैयामा अस्पताल स्तरवृद्धिका लागि जग्गा अभाव भइरहेको बताउदै आएको छ । हालै मात्र अस्पतालको पुरै जग्गामा डिपिआर बनाइएको छ भने आगामी दिनमा निर्माण गर्ने अस्पताल भवनको छतमा हेलिप्याड राख्न मिल्ने छत बनाउने उद्देश्य राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *