पुल बनेपछि एक घण्टाको बाटो दुई मिनेटमा छोट्टियो

आदर्श अनलाइन, म्याग्दी

म्याग्दी र बागलुङको सीमानामा भएर बग्ने ढोडेनी खोलामा पुल नहुँदा वर्षौंसम्म सास्ती खेप्न बाध्य दुवै जिल्लाका दर्जनौं गाउँका वासिन्दाहरुले अब भने एक घण्टाको बाटो दुई मिनेटमा नै पार गर्न सक्ने भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ फापरखेत र बागलुङ जिल्लाको बागलुङ नगरपालिका ५ चनौटे जोड्ने ढोडेनी खोला माथि झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका वासिन्दाले एक घण्टा पैदल हिडेर पुग्नु पर्ने ठाउँमा अव दुई मिनेटमा नै पुग्न सक्ने भएका हुन् ।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना) मा बग्ने ढाडेनी खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत सो पुल निर्माण गरेको हो ।

१ करोड ३९ लाखको लागतमा निर्माण भएको सो पुलको लम्वाई २ सय ६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिनुभयो । पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे,रातमाटा, भान्छा,पञ्चकोट,पन्चासे र म्याग्दीका अर्जम,फापरखेत,भकुण्डे,लगाएतका गाउँका सयौं मानिसहरुलाई आवत जावत गर्न सहज भएको स्थानीय युवा भीमबहादुर घिमिरेले बताए ।

त्यसका बागलुङको पन्चासे र चनौटे गाउँका वासिन्दाहरुको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका वासिन्दाहरुको खेत जग्गा बागलुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ, दुई घण्टा हिडेर आवत जावत गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । ठूलो खोलामा पुल नहुँदा निकै सास्ती खेप्नु पर्ने वाध्यतामा रहेका दुवै जिल्लाका वासिन्दाहरु पुल बनेपछि हर्षित भएका छन् ।

पुल निर्माण पछि कृषकलाई मात्रै होइन विद्यार्थी,शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउनु बाध्य चनौटेका विद्यार्थीहरु अव घरबाट निस्केको १५ मिनेटमा विद्यालय र विद्यालय छुटेको १५ मिनेटमा घर पुग्न पाएका छन् । त्यसैगरी शिक्षक र कर्मचारीहरुलाई पनि निकै सुविधा पुगेको स्थानीय अशोक घिमिरेले जानकारी दिए ।

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भइ हाल फापरखेतमा वस्दै आउनुभएका प्रवेश कुवँरले बताए  । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि दैनिक २० भन्दा बढि व्यक्तिहरु गाउँमा आउने गरेको फापरखेतका स्थानीय शिव घिमिरेले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *