निषेधाज्ञाले मात्रै कहिलेसम्म थेग्ने ?

सम्पादकीय
कोरोना भाइरसले फेरि जनमानस भयभित छ । महिनौदेखि नागरिक घर भित्रै कैद छन् । लकडाउन निषेधाज्ञा निरन्तर छ । बजार र दैनिकीहरु प्रभावित छन् । कोरोना भाइरस (कोभिड १९) को तेस्रो भेरियन्टको चर्चाका बिच संक्रमण दरमा अपेक्षित रुपमा कमी आएको छैन । र त असार मध्य तर्फ कोरोना रोकथाम उन्मुख रहेको ठहर सहित विस्तारै खुकुलो बनाउन थालिएको लकडाउन निषेधाज्ञामा फेरि कडाई गरिएको छ । अहिले देशको मुख्य राजधानी काठमाण्डौं सहित अधिक जिल्लामा संक्रमण दर बढ्दो क्रममा देखिएकाले स्मार्ट लकडाउन छ । दुई वर्ष नेपालको पाँचौ र छैठौं संक्रमित देखिएको बागलुङ सुरुवातदेखि आजको दिन सम्म कोरोना संक्रमणको हट स्पट कै रुपमा छ । र नेपाल सरकारले नै यस जिल्लालाई पटक पटक रेड जोनमा राखिरहेको छ ।

कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि लकडाउन निषेधाज्ञालाई महत्वपूर्ण अस्त्रको रुपमा लिइएको छ । र सरकारले पटक पटक लकडाउन निषेधाज्ञा गरिरहेको छ पनि । बागलुङबासी गत वैशाखदेखि निरन्तर लकडाउनको मारमा छन् । शुक्रबार मात्रै पाँच दिन –आगामी भदौ १० गते सम्म) निषेधाज्ञा थप गरिएको छ । पछिल्लो १० दिन लकडाउनमा कडाई थियो । यस अवधिमा पनि कोरोना संक्रमण दरमा अपेक्षित कमी देखिएको छैन । केही साता अघि २ सय सम्म झरेको संक्रमण दर अहिले बागलुङमा ५ सय भन्दा बढी रहेको अवस्थामा छ । निषेधाज्ञाका बाबजुद पनि किन र कसरी कोरोना संक्रमण दर बढिरहेको छ ? चेन ब्रेक गर्न गरिएको कडाईले कोरोना रोकथाम नियन्त्रणमा कति काम गरेको छ ? के अझै पनि नागरिकको बेवास्ता र लापरवाही बढिरहेकै छ ? अब यी प्रश्नको जवाफ तत्काल खोज्न जरुरी छ । जति यी र यस्ता सवालको जवाफ खोजेर समस्या समाधानमा लाग्दैनौ, त्यति नै जोखिम र क्षति बेहोर्नु पर्ने निश्चित छ ।

कोरोना रोकथाम नियन्त्रणका लागि अहिले कोरोना विरुद्ध खोप अभियान त चलिरहेको छ । दुई वर्षदेखि औषधी नै पत्ता नलागेर विश्व समुदायलाई भयभित तुल्याइरहेको कोभिड नियन्त्रणा खोपले धेरै आशावादी बनाएको छ । तर, यो अझै सबै नागरिकको सहज पहुँचमा पुग्न सकिरहेको छैन । यसका लागि अझै समय लाग्ने देखिन्छ । यस बेलामा कुनै एक नागरिकले गर्ने बेवास्ता, लापरवाहीबाट पनि कोरोना संक्रमण फैलिने खतरा बिद्यमान छ । कोरोना रोक्न अहिले लकडाउन निषेधाज्ञा मात्रै गर्ने लहड छ । यो हाम्रो जस्तो दैनिक मजबुरी गरेर खाने समाजमा कहिले सम्म थेग्न सक्छ ? स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा नागरिकहरुले बेवास्ता गरेको देखिन्छ भने यसमा सरकार राज्यका तर्फबाट पनि गम्भीरतापूर्वक यथेष्ट कदम चालिएको छैन । कोरोना महामारीमा आफ्ना नागरिको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा सरकार अस्थिर राजनीतिको अनेक खेलमा अलमलिएको छ । अब पनि कोरोना रोकथाम नियन्त्रणमा पूर्ववत रुपमा सचेत कदम नचाल्ने हो भने नयाँ भेरियन्टले अझ बढी क्षति र भयावहको अवस्था ल्याउनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *