गीता कँडेल
नेपालमा पर्याप्त रोजगारको अवसर नहुँदा दैनिक हजारौ युवाहरु विदेश पलायन भइरहेका छन् । झण्डै ५० लाख युवा जनशक्ति परदेशी भूमिमा कार्यरत छन् । मुलुकका विभिन्न भू–भागबाट कामको खोजीमा जाने अधिकांश कामदारहरु समान्य परिवारका नै बढी छन् । गरिबीकै कारण विदेश जानेहरुको संख्या नेपालमा अधिक छ । गरिबीले व्यक्तिमा सामान्य र स्वस्थ जीवन जिउन समस्या पारिरहेको हुन्छ । स्वदेशमा राम्रो अवसर र आम्दानी हुने वातावरण नभए पछि हजारौँ युवाहरु विदेशिन बाध्य भएका छन् ।
रोजगारीको लागि बसाइसराइँ गर्नेहरूको एउटा साझा लक्ष्य भनेकै आर्थिक प्रगति हो । तर, यसले निम्त्याउने घटना र पीडा भने अझै कहालीलाग्दा छन् । अधिकांश गाउँ युवाविहीन छन्, जसले गर्दा सामाजिक सांस्कृतिक निरन्तरतामा कठिनाई त आएकै छ । विकासका कामहरूमा समेत बाधा पुगेको छ । कति युवा वैदेशिक रोजगारीको चक्करमा ठगिएर घर खेत गुमाएर आत्महत्या जस्तो कहालीलाग्दो घटनाको सिकार भएका छन् भने कतिपय युवा सहरमा फगत चार आना जग्गाको खोजीमा सारा आफन्त गुमाएर परदेशमा आफ्ना उर्जाशील उमेर र उर्जा बिताउने गरेका छन् ।
व्यक्तिको योग्यता अनुसार एउटा जागिर खोज्ने र आफ्नो परिवार तथा आफ्नो लागि आरामदायी जिवनको शुरुवात गर्ने सपना हुन्छ । यो सपना प्रायः सबैको हुन्छ तर, सबै नेपाली युवाले आफ्नो सपनाको जागिर आफ्नो मातृभूमिमा राम्रो तलब भएको जागिर पाउदैनन् । नेपाल श्रम सर्वेक्षण (२०१९) अनुसार प्रत्येक वर्ष कम्तीमा १६ लाखदेखि २० लाखसम्म युवा रोजगारीको खोजीका लागि नेपाली रोजगार बजारमा आउँछन् । उनीहरुमध्ये पाँच प्रतिशतले मात्र देशमै रोजगारी पाउन सक्छन् बाँकी या त रोजगारीका अवसरहरुको खोजीमा कतै टाढा देश छोड्न बाध्य छन् या त आफ्नो योग्यतामा योग्य नभएको र कम तलब भएका रोजगारहरु स्वीकार गर्न बाध्य छन् ।
सर्वेक्षणले करिब ७० हजार व्यक्तिलाई पनि स्नातक वा मास्टर डिग्री गरेर पनि बेरोजगार देखाएको छ । खाडी देश र अन्य मुलुकहरुमा रोजगारीका अवसरको खोजीमा लागेका करिब ८ लाख युवा–युवती मध्ये ७४ हजार मास्टर डिग्री र दुई लाख १६ हजार स्नातक, करिब चार लाख भन्दा बढी इन्टरमेडियट र १५ लाखभन्दा बढी एस.एल.सी÷एस.इ.ई पास गरेकाहरु देशमा हैसियत अनुसारको काम नभेटेर विदेशिएको दावी छ । युरोप, अमेरिका लगायतका विकसित मुलुकमा जाने नेपालीहरु समेत यो पीडाबाट पिल्सिएका छन् ।
केन्द्रीय तथ्यांक ब्युरोले अनावरण गरेको नेपाल श्रमशक्ति सर्वेक्षण २०१८–२०१९ अनुसार नेपालको बेरोजगारी दर ११.४ प्रतिशत अनुमान गरिएको छ । यसलाई सम्बोधन गर्ने कार्यक्रम सरकारले ल्याएता पनि राजनीतिक दलका कार्यकर्ताको मात्र पहुँच छ । यस्तो निराशावादी अवस्थामा कि त युवाहरु कृषिमा निर्भर हुन बाध्य छन् कि त विदेशिन नै बाध्य छन् । देशको दक्ष जनशक्ति विदेशीदा देशको लागि जति घाटा भए पनि त्यसतर्फ सम्बन्धित निकायले सोच्ने र युवाहरुलाई विदेश जानबाट रोक्ने कुनै ठोस योजना बनाउन सकेको छैन । रेमिट्यान्सको भरमा देश चलेको हौवा पिटाएर दक्ष जनशक्ति बेच्न पल्केका दलालहरुको कारण धेरै नेपालिहरुले यतिबेला विदेशी भुमिमा रगत र पसिनासँग आफ्नो श्रम साटिरहेका छन् ।
विदेश जानु धेरैको लागि बाध्यता भएता पनि पछिल्लो समयमा विदेश मोह सपना बन्न थालेको छ । झट्ट हेर्दा विदेश सजिलो र फाइदाजनक देखिएता पनि विदेश सोचे जस्तो सजिलो र आम्दानीको लागि सहज पक्कै छैन । विदेशी भुमिमा गएर काम गरिसकेका नेपाली कामदारहरु विदेशबाट स्वदेशमा फर्किएर आयमुलक काम गर्ने चाहान्छन् भने स्वदेशमा रहेका युवाहरु विदेश जाने र धन कमाएर धनी बन्ने, आरामदायी जिवन बिताउने सपना देख्ने गरेको धेरै उदाहरणहरु देख्न पाइन्छ ।
स्वदेशको उब्जनी योग्य जमीन बाँझो राखेर राम्रो लगाउने र मिठो खाने सपनामा विदेश जानु, अरुको देखासिकी गरेर साहुको महंगो ऋण लिएर वा भएको जायजेथा बन्धकी राखेर विदेशको यात्रा तय गर्नु धेरै हदसम्म गलत हो । विदेशमा गरिने जति मेहेनत आफ्नो देशमा गर्ने हो भने विदेशमा जति कमाउन नसकिएला तर धेरै हदसम्म आत्मसन्तुष्टि मिल्ने कुरामा दुई मत नहोला । विदेश जानका लागि सरकार र सम्बन्धित निकायले जुन खालको नीति नियम तर्जुमा गरेको छ, त्यही अनुसार चल्ने हो र दलालीकरण बन्द हुने हो भने धेरै नेपालीहरुले वैदेशिक रोजगारबाट दुःख भोग्नु पर्दैन थियो । तर, यहाँ नेपाल सरकार र सम्बन्धित निकायमा काम गर्ने कर्मचारीदेखी ठूलो पदमा कार्यरत हाकिम सम्मको मिलेमतोमा नियम विपरित गैरकानुनी धन्दा गरिने भएकाले धेरै सोझा सिधा नेपालीहरु ठगिने गरेको तितो यथार्थ छ, जुन देश र जनताको लागि अभिसाप हो ।
किनकि देशको कानुन सोझा सिधा व्यक्तिको लागि मात्रै लाग्ने हो । पैसा र पावर हुनेहरुका लागि न त नियम न त कानुन । राम्रो कामका लागि नेपालमा दलालहरुले दिएको आश्वासनको भरमा कुनै पनि कामको अनुभव नभएका व्यक्तिहरु विदेश जानु भनेको दुःख बेसाउनु हो । आफ्नै देशमा त दलालीको शिकारमा परिन्छ भने अन्दाज गरौं त परदेशमा झन् कुन हालत होला ? हो, परदेश परदेशनै हुन्छ, न त त्यहाँ विचरा भन्ने कोही छ, न त भोक तिर्खा सोध्ने ? तैपनि बाध्यतामा परदेश पुगेर पछुताउनु शिवाय केही हुदैन ।
अतः विदेशलाई आम्दानीको थलो मात्रै नसम्झौ । जहाँ अनगिन्ती अप्ठ्यारा, जटिलता र पीडाहरु पनि छन् भन्ने नभुलौ । आफ्नै देशमा मेहेनत गरौ, सकेसम्म परदेशी मोहबाट टाढा रहौ । यदि परदेश नै जाने हो भने कामको अनुभव, सम्बन्धित देशको भाषाको ज्ञान, नेपाल सरकार र सम्बन्धित निकायबाट स्वीकृत भएको वैधानिक बाटो मार्फत् मात्रै परदेशको यात्रा तय गरौँ । धेरै कमाउने आशमा फूल जस्तो जीवन अन्धकारतर्फ नधकेलौ । राम्रो मिठोको सपना होइन, परिवारको साथमा बसेर खोले सिस्नो र ढिडोलाई मिठो मानेर खाउँ । अर्काको देशमा दास बनेर हैन, आफ्नो देशमा मालिक बनेर जिउ । सपनाको संसार लिएर आकाश उडेर बाकसमा आउन कसैलाई नपरोस् । विदेशमा गरिने जति दुःख स्वदेशमा गरे आफ्नै ठाउँमा स्वाभिमान सहित शानको जीवन बाँच्न सकिन्छ । यो सम्भावनालाई सबैले आत्मसाथ गरौँ ।