कोरोना कहरकै बिच ढोरपाटनमा पूजा

डम्मर बुढा मगर, बागलुङ
बागलुङको ढोरपाटनमा जनपूर्णिमाका दिन वर्षेनी मनाइने पूर्णिमा पर्व यसवर्ष कोरोना कहरका बिच पनि मनाएका छन् ।

परम्परादेखि मनाउदै आइएको जनैपूर्णिमा पर्व कोरोना महामारीका बिच पनि बिभिन्न स्थानबाट नागरिक ढोरपाटन स्थित बराह मन्दिरमा पुगेर पुजाआजा गरेका छन् ।

यहाँ हरेक वर्ष जनैपूर्णिमाका अवसरमा हजारौँ मानिसहरु पूजाआजाका लागि जाने गर्छन् । तर, यस वर्ष कोरोनाका कारण कम मानिसहरुको उपस्थिति भएको स्थानीय कल्याण कायतले जानकारी दिनुभयो । विगतका वर्षमा पूजाआजासँगै स्थानीय क्लबले विभिन्न खेलकुद तथा प्रतियोगिता सहित मेलाको आयोजना गर्ने गथ्र्यो । यस वर्ष कोरोना कहरका कारण पूजाआजा मात्रै गरिएको कायतको भनाई छ ।

कोरोना कहरमै पनि सयौं मानिसहरुको भिड ढोरपाटनमा देखिन्छ । पर्यटकीय क्षेत्रको रुपमा विकास भएको ढोरपाटनमा पूजाआजसँगै घुमघामका लागि पनि सयौँ मानिस यही अवसरमा ढोरपाटन पुग्ने गर्छन् ।

जिल्लाका कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले केही समय यता कडा निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाको उल्लङ्घन गर्दै सयौं मानिस ढोरपाटनमा पुगेका छन् । जनैपूर्णिमामा ढोरबराह मन्दिरमा भेडाको पाठोको बली दिने गरिन्छ । परिवारमा सुख, शान्ति तथा मनोकांक्षा पुरा होस् भन्ने कामनाका साथ भाकल गरेकाहरुले यहाँ भेडाको पाठो बलि दिने गर्दछन् ।

यस वर्ष ४ सय ७० जनाले नाम टिपाए पनि करिब ३ सय ७० भेडाको बलि दिइएको स्थानीय अरुण घर्ती मगरले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षमा भन्दा यस वर्ष केही कम बलि दिइएको छ । ‘यसवर्ष अलिक कम बलि प¥यो, कोरोनाको कारण पनि होला, विगतका सालमाभन्दा कम परे,’ उहाँले भन्नुभयो ‘यस वर्ष करिब पाँच सय जनाले बलिका लागि नाम टिपाए पनि करिब ३७० जनाले मात्रै भेडा लिएर आउनुभयो ।’

ढोरपाटनमा जनैपूर्णिमा मेला ऐतिहासिक रुपमा लिइन्छ । वर्षौँदेखि जनैपूर्णिमामा बलि चढाउने र पूजाआजा हुने गरेकोमा केही वर्ष अगाडि देखि बैसाखे पूर्णिमामा पनि बलि दिन मिल्ने प्रबन्ध मिलाइएको छ । वर्षात्को समयमा टाढा–टाढाबाट आउने तिर्थयात्रु र श्रद्धालु भक्तजनलाई समस्या भए पछि बैशाखमा पनि पूजाआजा तथा बलि दिइने व्यवस्था गरिएको छ ।

वर्षमा एक पटक मात्रै पूजाआजा हुँदा ढोरबराह मन्दिरमा १२/१५ सय बढी भेडाहरुको बलि दिने गरेको स्थानीय कल्याण कायत बताउनुहुन्छ । हरेक वर्ष दुई पटक पूजाआजा र बलि दिने व्यवस्था गरेपछि तिर्थयात्रु र श्रद्धालुभक्तजनलाई समेत सहज भएको छ ।

‘पहिले–पहिले त निकै समस्या थियो, बर्खामास हिलो उस्तै, बाढी पहिरोको डर, साँघुरो बाटो, टाढा–टाढाबाट आउने दर्शनार्थीलाई त निकै समस्या थियो,’ कायतले भन्नुभयो ‘अहिले बैशाखे पूर्णिमामा पनि पूजाआजा हुन थाले पछि केही सहज भएको छ, बाहिरी जिल्लाबाट आउने तिर्थयात्रुलाई पनि राहत मिलेको छ ।’

ढोरपाटनमा पूजाआजा गर्दा र बलि दिँदा मोनकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । त्यसले गर्दा बागलुङ जिल्ला सहित देशभरबाट हजारौँ तिर्थयात्रुको आगमन हुने गर्छ । विशेष गरी बागलुङसहित, रोल्पा, रुकुम, प्युठान, गुल्मी, अर्घाखाँची, म्याग्दी, पर्वत, बुटवल लगायतका ठाउँबाट मानिसहरु पूजा गर्न आउने गरेको पाइन्छ ।

अहिले बुर्तिबाङबाट ढोरपाटनसम्म सडक सञ्जालले जोडिएपछि धेरै सहज हुने गरेको तिर्थयात्रु रमेश घर्ती मगरले बताउनुभयो । उहाँले पहिले–पहिले बुर्तिबाङसम्म गाडीमा आएर घण्टौको पैदल यात्रा गरि ढोरपाटन पुग्ने गरेकोमा अहिले सवारी साधानमै सहज रुपमा ढोरपाटन पुग्न सकिने बताउनुहुन्छ ।

‘पहिले त निकै कठिन थियो ढोरपाटन पुग्न, गाडी चल्दैन थियो, मान्छे हिँड्ने बाटो पनि साँघुरो थियो, मान्छेहरुको भिडभाड निकै हुन्थ्यो, अहिले त बाटो ढोरपाटन मै पुगेको छ,’ घर्ती मगरले भन्नुभयो ‘सडकले गर्दा स्थानीयसँगै तिर्थयात्रुलाई पनि निकै सहज भएको छ ।’

ढोरपाटन पुग्ने यात्रुहरुले त्यहाँ स्थित बाइसधारामा नुहाउने र पूजा गर्ने गर्छन् भने दिवंगत भएका आफन्तको सम्झनामा विभिन्न सामान उत्तरगंगा नदिमा बगाउने गर्छन् । यसरी दिवंगत परिवारको सम्झनामा सामान उत्तरगंगामा बगाउँदा मृत आत्मालाई शान्ति मिल्ने जनविश्वास रही आएको छ । ढोरपाटन उपत्यका, उत्तर बग्ने उत्तरगंगा र ढोरबराह मन्दिरले ढोरपाटनको पहिचानलाई थप उचो बनाएको छ । तस्बिर : सामाजिक सञ्जाल

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *