नेकपाको बागी उम्मेदवारी फिर्ता प्रयास बिफल

आदर्श अनलाईन, बागलुङ

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि नेकपाका नेता शेरमान घर्तीको बागी उम्मेदवारी फिर्ता गराउने अन्तिम प्रयास पनि बिफल भएको छ। 

घर्तीको उम्मेदवारी फिर्ता गराउन मनोनयन दर्ता पछि नेकपाका केन्द्र र जिल्ला तहका नेताले निरन्तर प्रयास गरे पनि सफल भएन ।

जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा भएको लामो छलफल पछि शेरमानलाई सदरमुकाम ल्याइए पनि उम्मेदवारी फिर्ता भएन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको अन्तिम समय निर्धारण गरिएको थियो । उक्त अवधिसम्ममा कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता नगरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले जानकारी दिए ।

तर, बागी उम्मेदवार घर्तीलाई दिउसो १:२० मा मात्र हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो । निर्धारित समयमा उम्मेदवारी फिर्ता नभएपछि अब नेकपासँग अन्तिम विकल्प एउटा मात्र बाँकी छ । त्यो भनेको नियमतः उम्मेदवारी फिर्ता नभए पनि घर्ती फिर्ता लिन मनैदेखि तयार भएका हुन् भने सार्वजनिक विज्ञप्तीमार्फत फिर्ताको घोषणा हो । 

यस्तो सम्भावना पनि पश्चिम क्षेत्रका धेरै नेकपा नेताको प्रत्यक्ष अप्रत्यक्ष साथ समर्थन भएकाले कम भएको नेताहरु बताउँछन् । बागी उम्मेदवारी कायम रहे नेकपा राजमो बीचको बामगठबन्धन र नेपाली कांग्रेस बीचको प्रतिस्पर्धा कसिलो हुनेछ । घर्तीको प्रस्तावका नेकपाका रिमबहादुर विक र समर्थकमा दधिराम अर्याल छन् ।

सत्ता बागडोर सम्हालेको नेकपा र राष्ट्रिय जनमोर्चा बीच केन्द्रीय स्तरबाटै बाम गठबन्धन बनाएर जाने सहमति भएको थियो । बागलुङमा नेकपाले राजमो उम्मेदवारलाई सघाउने निर्णयअनुसार, राजमोका खिमबिक्रम शाहीको उम्मेदवारी दर्ता गरिएको थियो। 

पश्चिमको राजनीतिमा सक्रिय नेकपाका घर्तीले पार्टीले सदैव उपेक्षा गरेकाले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएको बताउँछन् । घर्ती २५ वर्ष राजमोमा सक्रिय भएर तत्कालिन बोबाङ गाविसको अध्यक्ष समेत भएका थिए । पछि पार्टी प्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादीका तर्फबाट स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरमा समेत चुनाव लडेका थिए । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *