विभाजित एमाले र गुमेको सुवर्ण अवसर

सम्पादकीय
नेकपा एमाले अन्ततः वैधानिक रुपमै विभाजित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर लामो समयदेखि तीब्र बिरोधमा उत्रिएको माधव नेपाल समूहले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका छन् । पार्टी भित्र लामो विवाद र अन्र्तसंघर्ष अथक एकता प्रयासका बावजुद फुटमा पुगेको छ । एकताका लागि आफ्नो राजनीतिक जीवनलाई दाउमा लगाउँदै समन्वय र मध्यस्थताको कोशिस गरे तर सफल भएनन् । तेस्रो धारमा रहेका नेताहरु केपी ओलीको संसद विघटन लगायतका गलत कार्यशैलीको बिरोधमा रहे पनि अन्तिम समयमा पार्टी विभाजनको पक्षमा भने नलाग्ने उद्घोष गरे । र धेरै हदसम्म संसदको पहिलो शक्ति बनेको नेकपा एमालेले ठूलो हिस्सा गुमाउनबाट जोगिएको छ ।

विभाजन फुट आफैमा दुखद विषय हो । उसो त एमालेले आन्तरिक पार्टी जीवनमा पटक पटक यस्तो विभाजन, यसका क्षति, पीडा सबै भोगिसकेको छ । र पनि उही पुरानो नियतिबाट गुज्रिन बिबश बन्यो । प्रधानमन्त्रीका हैसियतमा ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि शुरु भएको एमाले विभाजन भदौसम्म आइपुग्दा पार्टी विभाजन भयो । लामो समयदेखि एमालेका लागि महत्वपूर्ण समय उर्जा खर्चिएका वरिष्ठ नेता माधव नेपाल सहितका नेताहरु नयाँ पार्टीमा गएका छन् । विभाजन नहुँदा पनि पछिल्लो केही वर्ष यता एउटै पार्टीका नेता कार्यकर्ता जस्ता व्यवहार र गतिविधि दुवै पक्षबाट देखिएनन् । पार्टी नीति, बिधि, पद्धति, अनुशासन यस्तो विषय केवल कागजी पानामा सिमित गरियो । बरु एकले अर्कोको कद घटाउने मात्रै होइन, सक्दाको बखतमा भित्तैमा पु¥याउने कसरत दुबै तर्फबाट भयो । यो नेपाली राजनीतिमा दुर्भाग्यपूर्ण परिघटना भयो ।

मुलुकको राजनीतिक स्थायित्व, विकास, समृद्धिका लागि कुनै पनि राजनीतिक दल विभाजित हुनु कदापि सुखद कुरा होइन । भलै यसले कुनै अरु राजनीति पार्टी या सिमित स्वार्थ समूहलाई लाभ होला । तर, यसले पार्ने दीर्घकालीन असर गहिरो छ । ऐतिहासिक जनमत प्राप्त गरेर करिब दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेको एमाले सत्ताबाट बाहिरिने मात्र होइन, पार्टी विभाजनकै शिकार हुनु बिडम्बना हो । यसले लय तर्फ उन्मुख नेपालको राजनीतिक स्थायित्व, अर्थतन्त्र, विकास र समृद्धिको सपनालाई पुनः अन्यौलतामा पु¥याएको छ । यसबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पछि पहिलो पटक भएको तीन तहको सरकारको निर्वाचनबाट प्राप्त जनमत मार्फत देश निर्माण गरेर आम नेपाली नागरिकको बिचमा वाहवाही कमाउने ऐतिहासिक अवसरबाट एमाले चुकेको छ । यति मात्रै होइन, एकांकी सोच, व्यक्तिगत कुण्ठाका कारण सिंगो देशको राजनीति र व्यवस्थालाई बदनाम बनाएको छ । यसको क्षति एमाले र यसबाट विभाजित नेकपा एकीकृत समाजवादीले भोग्नुपर्ने नै छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *