नयाँ कर्मचारीलाई सहकारी बैंकको सेवा प्रवेश अभिमुखिकरण

आदर्श अनलाइन, ललितपुर
राष्ट्रिय सहकारी बैंक लिमिटेडमा नयाँ प्रवेश गर्न लागेका कर्मचारीहरुका लागि दुई दिने सेवा प्रवेश अभिमुखिकरण कार्यक्रम बिहीवारदेखि काठमाडौंमा शुरु भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रमार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणमा उत्साहका साथ लाग्न बैंकका नयाँ कर्मचारीहरुलाई आव्हान गर्नु भयो ।

कर्मचारीहरुले संस्थागत तथा व्यक्तित्व विकासका लागि काम, परिवार र क्षमता विकासलाई ध्यान दिनुपर्दछ, अध्यक्ष उप्रेतीले भन्नुभयो–जनशक्तिलाई दक्ष बनाउन सहकारी बैंकले निरन्तर सहजीकरण गर्दै आएको छ ।

बैंकको सेवालाई सदस्यहरुबीच प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले कर्मचारीले सदैव संस्थागत हितलाई ध्यानमा राखेर काम गर्नु पर्ने उहाँको सुझाव थियो ।

बैंकले कनिष्ठ सहायक, बरिष्ठ सहायक र सहायक अधिकृत स्तरका ६१ जना कर्मचारी छनोट गरेको छ । नयाँ कर्मचारीहरुलाई बैंकका सञ्चालन प्रक्रिया लगायत उनीहरुलाई उत्प्रेरित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रमको पहिलो दिन प्रशिक्षक उषा मल्ल सिंह तथा बैकको व्यवस्थापन, सञ्चालन, स्तरीकरण, व्यवसाय प्रवद्र्धन लगायतका विषयमा बैंकका उच्च व्यवस्थापनका अधिकृतहरुले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई र सञ्चालन शिक्षा तथा तालिम विभाग प्रमुख रामबाबु आचार्यले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *