कांग्रेस महाधिवेशन, गुट उपगुट र अल्झन

सम्पादकीय
नेपाली कांग्रेस महाधिवेशनको सम्मुखमा छ । यो पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यासका लागि त जरुरी नै छ, यसमा अझ महत्वपूर्ण कुरा त संवैधानिक व्यवस्था अनुसार पनि यसपटक अनिवार्य महाधिवेशन गर्नैपर्ने बाध्यता र दबाबमा छ । निर्धारित समयमै महाधिवेशन हुन सकेन भने पार्टी नै खारेज हुने जटिलताका बिच कांग्रेसले महाधिवेशनको तयारी गरिरहेको पनि छ । तर, क्रियाशील सदस्यता विवाददेखि पार्टी सत्ता कसरी आफ्नो र आफ्नो समूहको पहुँचमा राख्ने भन्ने होडबाजीले महाधिवेशनमा अनेकौ अल्झनहरु देखिरहेका छन् । जसले पटक पटक मिति सरिरहेको महाधिवेशन समयमै सम्पन्न हुनेमा कांग्रेस नेता, कार्यकर्तामा चौतर्फी संशय देखिएको छ ।

कांग्रेसले यसअघि भदौ १६ देखि १९ गतेसम्म निर्धारण गरेको मिति पछि धकेल्दै आगामी मंसिरमा महाधिवेशन गर्ने तय गरेको छ । मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने र यसका लागि वडा अधिवेशन यही भदौ १८ गते गर्ने कार्यतालिका छ । गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ । तर, अझै पनि पार्टी क्रियाशील सदस्यता, गुट उपगुटका अनेक स्वार्थले के हुने भन्ने अनिश्चितता छ । देशभरका सबै स्थानमा एकैसाथ निर्वाचन गर्नुपर्ने लगायतका माग सहित संस्थापनइतर पक्षका जिल्ला सभापतिहरू धर्ना र रिले अनशनमा छन्, जसको केही सम्बोधन र सहमति भएको खबर सार्वजनिक छ । क्रियाशील सदस्यता विवादकै कारण पटकपटक महाधिवेशन कार्यतालिका प्रभावित बन्दै आएको छ । संस्थापन पक्ष र त्यस इतर पक्ष कसरी आफ्नो पल्लाभारी बनाउने भन्ने अश्वस्थ होडबाजीमा छ । यही होडबाजी र रस्साकस्सीले महाधिवेशन र तल्ला तहमा अधिवेशन हुनेमा अन्यौलता छाएको छ ।

नेपाली कांग्रेस मुलुककै सबै भन्दा पुरानो पार्टी मात्र होइन, आफुलाई देशकै सबै भन्दा बढी प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी पनि दाबी गर्छ । तर, पार्टी सञ्चालनमा या सरकारको बागडोर सम्हाल्दा जे जस्तो कार्यशैली, विवादहरु देखिन्छ । त्यसले पार्टी भित्र र बाहिर असली लोकतन्त्रको अभ्यासमा कांग्रेस पनि चुकेको देखिन्छ । यसको एक ज्वलन्त उदाहरण अहिलेको कांग्रेस महाधिवेशनलाई हेरे पनि पुग्छ । कांग्रेसको भातृ र शुभेच्छुक संगठनहरुको अधिवेशन, महाधिवेशन नेतृत्व चयन पनि ठप्प प्रायः अवस्थामा छ । यसले कांग्रेस बिधि बिधान होइन, सीमित सत्ता, गुट उपगुटहरुको स्वार्थ सञ्जालमा जकडिएको प्रष्ट देखिन्छ । कांग्रेसले आफुलाई अब्बल लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्ने हो भने अब महाधिवेशन कुनै पनि बाहनामा नसर्ने बातावरण बनाउनु पर्छ । नेतृत्व चयन पनि खुल्ला, स्वच्छ प्रतिस्पर्धाबाट आउने सुनिश्चितता गरेमा मात्र कांग्रेस बलियो बन्छ, कांग्रेस बलियो देश पनि बलियो बन्न मद्धत पुग्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *