राम सुवेदी
अविकसित चेतना भएका मान्छेहरु राजनीतिमा आउनु, नेता बन्नु, नेतृत्वमा समेत चयन हुनुको पराकाष्ठा वर्तमानको राजनैतिक बेथिति हो । जसले समाजलाई मात्र होइन, राष्ट्रलाई अविकसित बनाएर राखेको छ, सामाजिक संस्कार धुमिल्याएको छ । कलंकित पात्रहरु जति हे¥यो उत्ति राजनीतिमा दबदबा बढाएको देखिन्छ । उनीहरुको संस्कार, आचरण, शैली र व्यवहारले संकटपूर्ण धरातलमा राजनीति छ ।
व्यक्तिका निजी स्वार्थले भाँडिएको राजनीतिमा गुट उपगुट, झुण्ड र मण्डलीकरणमा विक्षिप्त नेपालको राजनैतिक यात्रा कहिल्यै उल्लेख्य सुध्रिएको हामीले देख्न पाएनौं । नराम्राहरु यसै नराम्रा हुन् । उनीहरुबाट के आशा गर्नु ? तर, केही राम्रा भनिएका, दिग्गजहरु, समाजलाई पढेका, जानेका, गतिलो÷अगतिलो भिन्याउन सक्ने जो थिए उनीहरु समेत वर्तमानको बेथितिमा च्यापिए । जे विचार व्यक्त गर्थे, सबै निमोठिए । भनौं, राम्राहरु नै राम्रो पथमा किन उभिएनन् ? किन त्यसो भयो ? यी तमाम प्रश्नकर्ताहरु नै त्यसको साक्षी र समझदार तीर्थालुहरु हुन्,जो राजनीतिमा छन् । जसले मौकामा कार्यकर्ताका नाममा उनका मानसिकता उचाल्छन् । समाजमा उनी इतरका खराबीहरु स्वार्थका धकाधडीबाट रोप्छन् । चेतनाको कमजोरीमा राजकाज गरेर स्वयम्को ज्यान पाल्छन् । ती युवाहरु जसले राजनीति भनेको आफ्नो हितका खातिर भनेर बुझ्ने जान्ने र त्यस अनुसारको व्यवहार देखाइरहेको छ । आज एकातिर टीका लगाउँछ, भोली अर्कातिर, आफ्नो इज्जत अविर र खाँदामा तौलिरहेको हुन्छ । बेतुक नेताहरु अरुको निधार रंग्याएर बेइज्जत गरिहेका छन् । खास राजनीति यही हो । जहाँ बेथिति नै बेथिति छ ।
व्यानरमा लेखिएको श्रमजीवि, मजदुर, किसान, गरिब, निमूखा, पिछडावर्ग, राज्यको समावेशितामा नआएको समूह, नागरिक माथि जो धोका आजको राजनीतिले प्रदान गर्दै आएको विसंगतिपूर्ण उपहार हो । त्यो आजको नौजवान भन्ने अर्को अविकसित मानसिकताहरु राजनीतिको व्यापारमा हात हालेको प्रष्ट देखिन्छन् । राजनीतिमा हात हाले पनि राज्यको कोष आफ्नो मनोमानीले रजकज गर्न पाईन्छ भन्ने तथनाम मानसिकताको विकास किन भयो ? आजका जनप्रतिनिधिका गतिविधि हेरेर वा तिनीहरुले आफ्ना कार्यकर्तालाई राज्यकोषमा हात हाल र मोज गर व्यावहारिक कर्तुत यही सिकाएर ? के राजनीतिले यस्तै कुकर्म, कुतर्क सिकाउँछ ? राजनीतिले नागरिकलाई यस्तै गरी अव्यवहारिक बनाउँछ ? जनताको आँखा छलेर राज्यकोषमा दायाँबायाँ गर भन्ने चेतना दिएको हुन्छ ? यदि हुँदैन भने नेता जी तपाइका कार्यकर्ता किन यति लोभी भए ? जो आजको भोली निधार रंग्याएर स्वयंम्लाई बदनाम बनाउन तयार छ ? राजनैतिक संस्कार यत्ति सिकाएको हो त ?
आम मान्छेमा धारणा बनेको छ, राजनीतिमा जे गरे पनि स्वभाविक हुन्छ । नयाँ मानसिकता, उर्जा, जाँगर, सिर्जना, चेतना हुँदैन । झट्ट विश्लेषण गर्दा यो तर्क कसैले मान्दैन तर कस्ता कस्ता मान्छेहरु राजनीति गर्छन् र उनीहरुको निजी नियत के हुन्छ भन्ने तमाम मान्छेलाई पक्का थाहा छ । कमजोर धरातलमा गुज्रँदै गरेको राजनीति, नियतिको घर दलानमा उर्जावालाहरुको सिर्जना, मानसिकता र गति विसर्जन भइरहेको परिवेश छ । यसो हुनुमा वर्तमानको राजनैतिक चिन्तन र व्यापारिक मानसिकताको राजनैतिक रोग नै मुख्य सवाल हो । जो भयंकर बन्दै आएको छ । आफ्नै समर्थनवाला पार्टी, तीनका नेता, उनले बनाएको नीति, निर्देशन उपर प्रश्न गर्न खोजिएकाहरु वा तत्कालीन समस्याको जड माथि सच्याईको सतह खोज्नेहरु त्यहाँबाट बर्खास्त हुन्छन् । हेलाहोँचोको सिकार बन्छन् । वर्षौंसम्म जीवन गुजारेकाहरु उनै नियतिका हातबाट ओरालिएका र स्वार्थको हिस्सेदार बन्न मनोकांक्षा राखिएकाहरु उकालिन्छन् । नयाँ पुस्तालाई गतिलो शिक्षा दिक्षा दिइदैन । आशा र आश्वासनले नजिक ल्याईन्छन् । उनैबाट राजनीति बद्नाम भएको छ । नेताहरुलाई सवाल सामान्य लाग्छ । यही विचार हो रे, समय मिलाएर फेर्न पाइन्छ । नैतिक इमान बेचुवाहरुबाट राजनैतिक नेतृत्व अनि समाजको विकास सम्भव छ ?
न्याय हराएको, नागा बाबा जस्ता नर्तकीहरुको नौटंकी, बानी नपरेका मुखालेहरु, लालचीहरु, बदनामीहरु, ईश्यालुहरु, झगडालुहरु, बेइमानीहरु आजको राजनीतिमा छन् । सबै उस्तै भनेको होइन तर राम्राहरु पनि त्यही अगतिलो रजगज मनपराउन थालेका छन् । राजनैतिक अराजकतालाई स्वार्थसँग साटेर कन्धामा धाप लगाउने राम्रा भनिएका नेताको आचरण पनि हामीले देखे भोगेका छौं । उनका शैली, कर्म, कर्तुतका पर्दाफास बग्रेल्ती सतहमा झरेका छन् । सबै फेहरिस्त हेरेर सामान्य जनताले जान्ने बुझ्ने कुरा हो । आफ्नाहरु, आफन्तका सन्तान, आसेपासेहरु मिसाएर पनि एक दर्जन जनमत नहुनेहरु नेता भइदिने । त्यो पनि उपल्लो ओहोदाको । जनस्तरमा उनीहरुका काम लाग्ने काम नगर्ने, माइक पाए विश्व हल्लाउने ठट्टावाल भाषण गरेर नथाक्ने पनि राजनीतिमा अनुहार देखाउने । मजाक समेत लाजले पानी पानी हुन्छ । मजाकीहरु ठट्टिएर कहिल्यै सकेनन् । किनकि यो भद्धा राजनैतिक संस्कारका पादरीहरु धेरै हुर्किबढी सके । बेथितिको चाङ माथि उभिएर हात हल्याउने बानी सामान्य बनिसक्यो ।
यस्ता तमाम अवतारहरु हरेक राजनैतिक दलमा देखिन्छन् । अझ उनीहरु आफूलाई मूलधारे राजनीतिका मालिक भन्छन् । उमेर गुजारेकोमा संघर्षशील भन्छन् । समाजमा कति हितकारी काम गरियो ? त्यसको दुई अनुच्छेद फेहरिस्त छैन । टालटुले र छलकपटी गफका भरमा गफाडीहरुको भिड सहितको राजनीतिले उनीहरुलाई राजनीतिज्ञ बन्ने लालसा छ । समाजका एक राजनैतिक दलले अर्कोलाई भन्ने र गर्ने तुच्छ, दुषित भावनाको जागरण वर्तमानको राजनीतिमा आवश्यक छैन ।
जहाँ जनताका भोकसँग राजनीति छैन । गरिबीसँगको पीडासँग राजनीति बोल्दैन । बिग्रेको बनाउन राजनैतिक श्रम पोखिन्न । समाजको हित, सर्वमान्य मूल्य मान्यता बोल्ने चेत सहितको राजनीति हुँदैन भने राज्य दोहन गरेर बाँच्ने पिपासु विवेकशुन्य कार्यकर्ताको के काम ? दुनियाँ छलछामका बात मार्ने र एक थान जिन्दगी पाल्न राजनीति नै गरिरहनुपर्दछ ? नैतिकता हराएका पखेरुहरु जता मन लाग्यो उतै उड्ने, आधा गाग्रे मन जहाँ पायो त्यही छचल्किने, ल्याण्डिङ धरातल नभएकाहरु जहाँ मन लाग्यो त्यहाँ थचारिने कस्तो बिडम्बना छ राजनीतिमा ?
सिद्धान्त र आदर्शका भोका मात्र हुन् नेपाली जनता । नेताका निम्छरा बात मात्र शिरोधार्य गरेर उनीहरुको एस मेन बनिदिनुपर्ने अविकसित मानसिकतामा रन्थनीयका बबुरा कार्यकर्ता, तीनै कार्यकर्ताले श्रम गरेर नेताको भोक टारि दिनुपर्ने, तीनका छोराछोरी शिक्षित दिक्षित बनाइदिनुपर्ने अनि तीनैलाई आफ्नोे श्रम माथि भडुवा बनाएर उन्मात्तिएको हेरेर बस्नुपर्ने ? राजनीतिमा देखिएको विसंगति यत्तिकै सुध्रिनेवाला छैन । शब्दमा तानाशाह गयो तर तमाम तानाशाहहरु राजनीतिमा बेग्लाबेग्लै पार्टी बनाएर राजकाज गरिरहेका छन् । यो ढर्रालाई नतोडे सम्म वा तपाइले गरिरहेको राजनैतिक दलभित्रको तानाशाहलाई निस्तेज नपारे सम्म यसले सदियौंसम्म देश, जनता र परिवर्तनलाई ब्यापार बनाएर बाँचिरहने छ । यस्तो दुर्दशामा बाँचेको हुतिहारा मान्छेलाई तपाई राजनेता मान्दै जाने हो र उचो ओहादा कायम गर्दै बस्ने हो भने ढिलो चाँडो आफ्नै बुढेसकालमा फन्दा बन्नेवाला छ वर्तमान राजनीति । जसको समाजमा फुटेकौडीको योगदान छैन । आम नागरिकले त्यसलाई टोल छिमेकमै रुचाउँदैनन् । एकहुल झुण्डको नेतालाई दुनियाँले पत्याईदिएर शाख जोगाई राख्नुपर्दछ भन्ने छैन र हुँदैन । यिनीहरुलाई आफै समाजमा बाँचेर देखाउने, हिम्मत जगाइ दिन पनि उसका कार्यकर्ताले व्यवहारत नैतिक कार्वाही गरिनुपर्दछ । राजनीतिलाई व्यापारको टुयागमात्र होइन । धमिलोबाट संग्ल्याउन सक्नुपर्दछ ।
नेताको पिछलग्गु हुनु, राजनीतिको माली होइन । त्यो त स्वार्थको हली हो । नेतृत्वको सम्मान त उसको व्यवहार, आचरण प्रतिको श्रद्धा हो । नभए स्वार्थको गुलामी गर्नेहरुले चेत गुमाएको अवस्थामा पक्का व्यापार हो । मौकामा विचार, नीति र सिद्धान्त बदल्नुलाई परिवर्तनको अनुयायी भन्छन् तर स्वार्थमा नीति बदल्नेलाई राजनीतिको निचतम बद्ख्वाई भन्छन् । बद्ख्वाई गरेर हाइहाई खोज्नेहरुको दबदबा आजको राजनीतिमा छाएको छ । जसको अघिपछि ग¥यो उस्को गीत गाएको छ । आफ्ने सामान्य चेतको विकास नहुनुमा यही मुर्खता काफी छ । रुपान्तरिकृत समाजका अगुवाहरुको आचरण, चाल चलन र शैली समेत सामान्य हुनुपर्दछ, जसले अरुलाई नाजायज असर नगरोस् ।
सत्यलाई सत्य नभन्ने, अन्याय अत्याचारलाई सही ढंगले विश्लेषण नगर्ने, नागरिकको दैनिकी बुझ्न नसक्ने, उनीहरुको कमजोरी र गम्भीर अवस्था माथि स्वार्थ साट्ने अहिलेको राजनीति हो, यसको आचरण हो । यसले समाज पनि बदल्दैन् । परिवर्तन पनि ल्याउँदैन । तैंले मलाई के सहयोग गर्छस् भनेर जनतालाई उसको अधिकारसँग व्यक्तिगत स्वार्थ साट्ने कुचेष्टा गर्नेहरुबाट देश दुनियाँको परिवर्तन सम्भव छैन । यस्तो राम्रो होइन भन्नेहरुलाई आदर्श र विचारले मात्र बाँच्न सकिन्न भन्ने कुतर्कवालाको राजनीतिमा बोलवाला झाँगिएका कारण समाजको यो दुर्दशा भएको तथ्य जबसम्म जानिदैन, तब सम्म दब्बु भएर जिन्दगी बाँच्ने हो । बेथिति सहितको राजनीतिले देश, समाज र राष्ट्रको सेवा गर्दैन । चेतना भएकाहरु चेत सहितको आलोचनात्मक राजनैतिक टिप्पणी मार्फत सजग र सचेत बनाउनै पर्छ । राजनैतिक कुसंस्कारको राथ चढेकाहरुलाई ओराल्दै, संस्कार सहितको नेतृत्व राजनीतिमा नल्याएसम्म बेथिति मेटिन्न ।