बागलुङमा आत्महत्याको घटना बढ्दो

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा अन्य घटनाका तुलनामा आत्महत्याको घटना बढी हुन थालेको छ । जिल्लामा हुने विभिन्न घटना मध्ये आत्महत्याको घटना गत आर्थिक वर्षमा केही घटे पनि अन्य घटनाको तुलनामा भने बढी देखिन्छ ।

पछिल्लो तीन वर्षको अवधिमा बागलुङमा अन्य घटनाको तुलनामा आत्महत्याका घटना सबैभन्दा भन्दा बढी भएको जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्दा आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै जिल्लामा ३७ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा ३८ जनाले आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ४७ जनाले आत्महत्या गरेका छन् ।

अन्य घटनाको तुलनामा आत्महत्या गर्नेको संख्या तीन वर्ष नै बढी देखिन्छ । झुण्डिएर, विषय सेवन, हाम फालेर आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक छ । पछिल्लो समय, डिप्रेसन, पारिवारिक, समाज, अवैध सम्बन्ध, प्रेम सम्बन्धमा विचलन, परिवारिक विवाद विग्रह, गरिबी लगायतका कारणले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्ण पल्ली मगरले बताउनुहुन्छ ।
‘खासमारी मान्छे समाज, परिवार, प्रेम सम्बन्ध, अवैध सम्बन्ध, गरिब लगायतका कारण आत्महत्या गरेको देखिन्छ, परिवारमा झगडा, प्रेम सम्बन्धमा खटपट र अवैध सम्बन्धका कारण पनि आत्महत्या गर्ने गरेको पाइन्छ,’ उहाँले भन्नुभयो ‘अर्को कारण मान्छेहरुले विभिन्न योजना बनाउने गर्छन् र त्यो योजना सपना पुरा नभएपछि आत्महत्याको निर्णयमा पुग्ने गरेका छन् ।’

अधिवक्त राम शर्माले जिल्लामा पीडितहरु कानुनी उपचारको दायरामा आउन नसक्दा आत्महत्याका घटना बढ्ने गरेको बताउनुहुन्छ । विभिन्न कारणले गर्दा मानिसहरु अन्यायमा पर्ने र त्यसको न्याय पाउन नसक्दा आत्महत्या गर्ने गरेको उहाँको भनाई छ ।

अधिवक्ता शर्माले प्रेम सम्बन्धका कारणले गर्दा पनि धेरैले आत्महत्या गरेको बताउनुहुन्छ । ‘आत्महत्या गर्नुको कारण मध्ये प्रेम सम्बन्ध प्रमुख कारण हो, प्रेम सम्बन्धका रहेका मानिसहरु बिच यौन सम्बध राख्छन् र त्यसबाट अनेक किसिमका समस्या उत्पन्न हुन्छ, त्यही बिचमा वैमनस्यता पैदा हुन्छ, अनि त्यो समस्या अन्तिममा आत्महत्यासम्म पुग्ने गरेको पाइन्छ ।’

वैदेशिक रोजगारका कारणले पनि जिल्लामा आत्महत्याका घटना हुने गरेको छ । बागलुङबाट धेरै वैदेशिक रोजगारमा जाने घर फर्किने बेला श्रीमति र आफूले कमाएको सम्पत्ति समेत नहुँदा यसले पनि आत्महत्या निम्त्याउने गरेको शर्मा बताउनुहुन्छ ।

‘वैदेशिक रोजगार पछिल्लो समय झन् भयानक हुँदै गएको छ, विहे ग¥यो, बालबच्चा जन्मायो, श्रीमतिलाई बजार लिएर श्रीमान विदेश जान्छ, यता श्रीमति सामाजिक सञ्जालको प्रयोगले विभिन्न व्यक्तिसँग विभिन्न सम्बन्ध राख्छन्, अझ केही सम्पत्ति सहित अर्कैसँग लाग्ने गर्छन्,’ उहाँले भन्नुभयो ‘विदेशबाट श्रीमान आउँदा न श्रीमति घरमा हुन्छे, न आफूले दुःख गरेर कमाएका धन सम्पत्ति हुन्छ, अन्तिममा ऊ पनि आत्महत्या गर्ने अवस्था र निर्णयमा पुग्ने गर्दछ ।’

उहाँले अवैध सम्बन्धका कारण पनि आत्महत्याका घटना बढ्ने गरेको बताउनुहुन्छ । शर्माले अवैध सम्बन्धका कारण गर्भ बस्ने र त्यसको व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्नु पर्ने अवस्था सिर्जना हुने बताउनुभयो ।

आत्महत्याका घटनाहरु कम गर्न स्थानीय सरकार जागरुक हुनु पर्ने उहाँको भनाई छ । उहाँले डिप्रेशनमा परेका मानिसहरु बढी आत्महत्या गर्ने गरेको भन्दै स्थानीय पालिकाले मनोपरामर्श दिने खालका कार्यक्रहरु ल्याउन सके यस्ता घटना कम हुने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *