सन्दर्भ अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवस : खोई उनी कहाँ छन् ?


डम्मर बुढा मगर, बागलुङ
देशमा जारी १० वर्षे जनयुद्व अन्त्य भएको करिब दुई दशक हुन लागि सक्यो । तर, तत्कालीन समयको द्वन्द्वका घाउहरु अझै मेटिन सकेका छैनन् । यसबिचमा बनेका सरकारहरुले न्यायिक वेपत्ता तथा मेलमिलाप आयोग बनाए पनि समस्या समाधान हुन सकेन । जसले राज्य र तत्कालीन नेकपा माओवादी पक्षबाट बेपत्ता पारिएका परिवारका सदस्य थप मर्माहत अवस्थामा छन् ।

बागलुङ निसीखोला गाउँपालिका वडा नम्बर ४ बडाचौकीकी ३२ वर्षीया सुशिला शर्मा २०६२ मसिंर १६ तत्कालीन माओवादीको अपहरण पर्नुभयो । बेपत्ता भएको १६ वर्ष बितिसक्दा पनि परिवारलाई उहाँको अझै ज्युँदो मर्दो केही थाहा छैन । उहाँको खोजीका लागि परिवारले वर्षौँदेखि प्रयास गरिरहेको छ । अहिले पनि सुशिलाका श्रीमान् खुमलाल शर्मा श्रीमतिको केही पत्तो लाग्छ कि भन्ने झिनो आशा बोकेर सदरमुकाम आउनु भएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय बागलुङमा पुग्नु भएका शर्माले श्रीमतिलाई अपरण गरेर बेपत्ता पारेको भन्दै अझै न्यायको झिनो आशा लिएर जाहेरी दिन आएको बताउनुभयो । माओवादीका तत्कालीन जिल्ला इन्चार्ज बागलुङ नगरपालिका वडा नम्बर ११ का टेकबहादुर केसी ‘आजाद’, तत्कालीन गाउँ सभा इन्चार्ज साविक बोहरा गाउँ गाविस वडा नम्बर ९ गोपाल विक ‘अर्जुन’, इरिया इन्चाज मिना र सह–इन्जार्च भिषण नाम गरेका चार जना विरुद्ध शर्माले प्रहरीमा जाहेरी दिनुभएको छ ।

नाबालक दुई छोरा र एक छोरीसहित श्रीमति घरमै छोडेर आफू रोजगारको शिलशिलामा मुस्ताङमा ज्यामी गर्न गएको र श्रीमति बेपत्ता भएको खबर पछि मात्रै घर फर्किएको शर्मा बताउनुहुन्छ । श्रीमतिलाई माओवादीले अपहरण गरेर बेपत्ता पारेपछि स–साना छोराछोरीलाई हुर्काउन निकै मुस्किल भएको उहाँ सुनाउनुहुन्छ । कुटोकोदालो र ढिकी जाँतो गरेर छोराछोरी हुर्काएको र अहिले जेठी छोरी र कान्छो छोराको विवाह भइसकेको उहाँको भनाई छ ।

श्रीमति सम्पर्क विहीन हुँदा कुनै न कुनै समय आफ्नो सन्तानाको मायाले पनि घर फर्किएर आउने आशा गरे पनि आजभोली त्यो आशा विस्तारै हराउँदै गएको शर्मा बताउनुहुन्छ । ‘सुरु–सुरुमा विहान आउँछ की, साँझ आउँछ कि भन्ने हुन्थ्यो, यतिका वर्ष बितिसक्यो, अब त आश पनि मर्न लागि सक्यो’ शर्माले भन्नुभयो ‘कहिलेकाहीँ त आउँछ कि जस्तो लाग्छ, यत्रो समय बित्यो आउने भए त आइसक्थ्यो होला, अब आउँदैन होला जस्तो लाग्छ, तर राज्यले उनी कहाँ छिन् ? कस्तो अवस्थामा छिन् ? त्यतिमात्रै सार्वजनिक गर्दिए पनि हुन्थ्यो नि ।’

तत्कालीन समयमा माओवादीले उहाँको घर आसपासमा कार्यालय समेत राखेर विभिन्न क्रियाकलाप गर्दै आएको बुझिएको छ । उहाँले जिल्ला प्रहरी कार्यालय बागलुङमा दिएको उजुरीमा तत्कालीन माओवादीका जिल्ला सेक्रेटरी टेकबहादुर केसी ‘आजाद’ले अवैध गर्भ बोकाई बेपत्ता परिएको उल्लेख छ । आफ्नो श्रीमतिको बारेमा सोधखोज गर्दा माओवादीका स्थानीय नेताहरुले बढी बोले आफ्नो ज्यान समेत खतरामा पर्ने भन्दै धम्काएको समेत उहाँले बताउनुभयो ।

बेपत्ता पारिएकाहरुको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका अधिवक्ता राम शर्माले महिलासँग अवैध सम्बन्ध राखेको थाहा पाए पछि केसीलाई पार्टीले जिल्ला इन्चार्जबाट निलम्बित गरी श्रम शिविरमा पठाएको बुझिएको बताउनुभयो । बेपत्ताहरुको अवस्थाबारे बुझ्नका लागि सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गरेको तर यी दुवैले परिणाम दिने गरी काम गर्न नसक्दा पीडितले न्याय पाउन नसकेको उहाँले बताउनुभयो । अधिवक्ता शर्माले बेपत्ता परिवारले आफ्ना सदस्य बेपत्ता पार्नेहरु छाति फुलाएर आफ्नै अगाडि हिँड्ने तर पीडित परिवारले न्याय पाउन नसकेको भन्दै यस तर्फ सरकारको गम्भीरतापूर्वक ध्यान जान जरुरी रहेको बताउनुहुन्छ ।

बागलुङ जैमिनी नगरपालिका वडा नम्बर १० राङ्खानीका १२ वर्षे बालक गणेश केसी २०५८ बैशाखदेखि बेपत्ता छन् । सशस्त्र द्वन्द्वको समयमा माओवादीबाट अपहरित भएका केसीलाई तत्कालीन नेपाली सेनाले बलेवाबाट गिरफ्तार ग¥यो । गिरफ्तारपछि उनलाई मालढुङ्गामा लिएर सैनिक पोसाक लगाएर माओवादीको खोजीमा प्रयोग गरियो ।

नेपाली सेनाले १२ वर्षे नाबालकलाई द्वन्द्वमा प्रयोग गरेर केही समयपछि बेपत्ता बनायो । उनको खोजीमा उनका बुवा बिमल केसी अहिले पनि लागि राख्नु भएको छ । उहाँ आइतबार जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिन उपस्थित हुनु भएको थियो ।

उहाँले तत्कालीन कालीदल गुल्मका सेनानी चन्द्रबहादुर पुनको कमाण्डमा खटिएका सेना विरुद्ध जाहेरी दिनु भएको छ । उहाँले आफ्नो निर्दोष छोरालाई बेपत्ता पार्नेलाई छिटो भन्दा छिटो सरकारले कानुनी दायरामा ल्याउनु पर्ने बताउनुहुन्छ ।

नाबालकलाई द्वन्द्वमा प्रयोग गर्नु मानव अधिकार बिरुद्ध भएको द्धन्द्धपीडित तथा अधिकारकर्मी सावित्री खड्का बताउनुहुन्छ । कुनै पनि बालबालिकालाई हिंसा, हत्या र द्वन्द्वमा सामेले गराउनु नै अपराध भएको भन्दै सरकारले पीडित परिवारलाई न्याय दिन नसकेको खड्का बताउनुहुन्छ । यसले हिंसा, दण्डहिनता र अराजकतालाई प्रश्रय मिलेको खड्काको भनाई छ ।
बागलुङमा राज्य र तत्कालीन व्रिदोही पक्षबाट गरी २५ जना बेपत्ता सूचिमा छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *