कोरोना कहरमा शिक्षाः सुगममा अनलाइन पढाई, दुर्गममा सुनसान

डम्मर बुढा मगर, बागलुङ
कोरोना संक्रमणका कारण लामो समयदेखि प्रभावित बनेको पठनपाठनलाई निरन्तरता दिन बागलुङका विद्यालय विभिन्न विधि अपनाउन थालेका छन् ।

कोरोना संक्रमणको पहिलो चरणको प्रभावका कारण २०७६ चैत ११ देखि बन्द भएका विद्यालय संक्रमण कम हुँदै गए पछि भौतिक रुपमै संचालन हुन थालेका थिए । तर, पुनः कोरोना संक्रमणको दर बढ्न थाले पछि औपचारिक रुपमा पठनपाठन हुन सकेको छैन ।

जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढे पछि बन्द भएका विद्यालय स्वास्थ्य मापदण्डको पालना गरेर संचालन गर्नुपर्ने आवाज बढ्दो छ । विद्यालय बन्द भए पनि जिल्लामा संचालित विद्यालयहरुले विभिन्न प्रबिधिको प्रयोग गरेर शिक्षण सिकाईलाई निरन्तरता दिँदै आएको बताएका छन् ।

बागलुङ नगरपालिकामा साना कक्षामा भौतिक उपस्थिति सहित र ठुला कक्षाका बिद्यार्थीलाई अनलाइन कक्षा मार्फत पठनपाठन थालिएको छ । ताराखोला गाउँपालिकामा पनि कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका वडा नम्बर ४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताउनुभयो ।

अब संक्रमणको अवस्था हेरेर विद्यालय संचालन गर्नुपर्ने जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख कुश्मराज उपाध्याय बताउनुहुन्छ । उपाध्यायले अब पालिकाहरुले पनि संक्रमणको अवस्था विश्लेषण गरेर स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यालय संचालन गर्न सक्ने उहाँको भनाई छ । विद्यालय बन्द भए पनि विभिन्न माध्यमबाट शिक्षण सिकाईलाई निरन्तरता दिइएको बताउनुहुन्छ ।

‘संक्रमणको कारण लामो समयदेखि विद्यालय बन्द भएका छन्, तर, विद्यालय बन्द भए पनि कुनै न कुनै रुपबाट शिक्षण सिकाई प्रक्रिया चलिरहेको छ,’ उपाध्ययले भन्नुभयो ‘टोल शिक्षा गरेर हुन्छ या अनलाइन प्रबिधिबाट हुन्छ, सिकाई प्रक्रिया चाहीँ चलिरहेकै छ, र पनि यो त्यति धेरै प्रभावकारी हुन सकेको छैन ।’

शिक्षण सिकाई निर्देशिका २०७७ अनुसार पठनपानलाई निरन्तरता दिने प्रयास भइरहेको भन्दै पालिकाका शिक्षा शाखा प्रमुखसँग छलफल गरेर सिकाईलाई प्रभावकारी बनाउने प्रयास भएको उपाध्याय बताउनुहुन्छ । माथिल्लो तहका विद्यार्थीलाई अनलाइन प्रबिधिबाट पठनपाठन गरिरहेको र तल्लो तहका विद्यार्थीका लागि अन्य वैकल्पिक माध्यमबाट सिकाई गरिरहेको उहाँको भनाई छ ।

जिल्लाको विकट गाउँहरुमा भने इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ । जसका कारण ग्रामिण क्षेत्रका अधिकांश विद्यालयका बालबालिका पठनपानबाट बञ्चित हुनु परेको छ । बजार, सार्वजनिक सवारी साधान सबै संचालन हुने तर विद्यालय संचालन नहुनु दुखद भएको उपाध्याय बताउनुहुन्छ ।

‘साना ठूला सवारी साधान चल्न हुने, विद्यालय संचालन नहुने, यो त्यति उपयोगी चाहीँ भएन, गाडी संचालन हुन्छन् भने विद्यालय पनि स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेर संचालन गरिनु पर्छ,’ उहाँले भन्नुभयो ‘अरु क्षेत्र संचालन हुँदा शैक्षिक संस्थाहरु बन्द हुनु अलि अस्वभाविक कुरा हो ।’

तमानखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले विद्यालय संचालन नभएको तर विभिन्न तबरबाट शिक्षण सिकाई प्रक्रियालाई निरन्तरता दिएको बताउनुहुन्छ । ‘तमानखोलामा संक्रमणको बढी प्रभावित पालिका भएको हुँदा यहाँ अहिलेसम्म विद्यालय संचालन हुन सकेको छैन, हामीले वैकल्पिक तबरबाट शिक्षण सिकाईलाई निरन्तरता दिनुपर्छ भन्ने हिसाबले सोही अनुसार गरिरहेका छौ,’ उहाँले भन्नुभयो ।

इन्टरनेटको सहज पहुँच नहुँदा अनलाइन प्रविधिबाट शिक्षण सिकाई प्रक्रियालाई अगाडि बढाउन नसकेको भन्दै अनौपचारिक रुपमा विद्यार्थीलाई टोल–टोलमा पुगेर, कम विद्यार्थी उपस्थित गराएर सिकाई प्रक्रियालाई निरन्तरता दिएको बताउनुभयो ।

यता, बागलुङ नगरपालिकामा भने चार वटा वडामा अनलाइन कक्षा र अन्य वडामा वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिएको शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले १० वटा वडामा हप्ताको ३ दिन सीमित विद्यार्थी उपस्थित गराई पठनपाठन गरिरहेको बताउनुहुन्छ ।

‘हाम्रो पालिकामा वडा नम्बर १ देखि ४ सम्म अनलाइन कक्षा भईरहेको छ भने अन्य वडाहरुमा विभिन्न विकल्प अपनाएर पठनपाठन भएको छ,’ उहाँले भन्नुभयो ‘केही वडाहरुमा सीमित विद्यार्थीको उपस्थितिमा पठनपाठन भइरहेको छ, हप्तामा करिब ३ दिन कक्षा संचालन भएको छ, संक्रमण कम हुँदै गएको अवस्था छ, अब विस्तारै विद्यालय पनि खोल्ने कि भन्ने छ ।’

कोरोनाको पहिलो लहर थामिएपछि केही समय खुलेका विद्यालय पुनः दोस्रो लहर भित्रिएसँगै गत वैशाखदेखि बन्द छन् । केही दिनयता यहाँ कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमित जम्मा १७३ छन् जसमध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ८४ संक्रमित छन् भने तमानखोलामा संक्रमण शून्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *