शुभेक्षा पन्त
समाज, राष्ट्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी नागरिकलाई हक, हित, अधिकार, कर्तव्य, दायित्व, उत्तरदायित्व, न्याय प्रदान, अन्याय गर्ने व्यक्तिलाई दण्ड तथा सजायको भागीदार गराई राज्यमा सुशासन कायम गरी सुदृढ र सक्षम राष्ट्र गराउनु आजको आवश्यकता हो । यो हरेक देशले गर्नु गराउनु पर्दछ । कानुनका आँखामा सबैलाई सदा समानता देख्दछ । स्वच्छता, स्वतन्त्रताका लागि धनी र गरीबमा भेदभाव गर्दैन । कानुन सबैको लागि विभेदरहित तरिकाबाट बनेको हुन्छ । समान तरिकाको कानुन सबैले बुझेको र जानेको हुनु पर्दछ ।
न्याय एक महत्वपूर्ण कानुनी शब्द हो । रोमन तथा ग्रिक सभ्यता भन्दा पहिला महाभारत घटना पूर्वको समयलाई न्यायको एक आदर्श युगका रुपमा लिइन्छ । यो बुद्धि र विवेकको सहयोगले व्याख्या गरिने दर्शन हो । कुनै पनि मुद्धा, मामिलामा वकिलहरुले पेश गरेका सबै प्रमाण बुझेर वादी वा प्रतिवादी कुनै एक अन्याय गर्ने व्यक्तिलाई न्यायधीशले न्यायालयमा बसी दण्ड, सजायको भागीदार बनाउने र अन्यायमा परेको व्यक्तिलाई न्याय दिनुपर्छ । मानिसलाई अहिंसा, शोषण, भोकमरीबाट स्वतन्त्र बनाउनु, मानव कल्याण र सुरक्षा दिनु नै न्याय हो । समानता, एकरुपता र समन्वयलाई नै न्याय भनिन्छ । आफ्नो श्रम राम्रोसँग गर्ने र अर्काको श्रममा हस्तक्षेप नगर्नु पनि न्याय हो । न्याय ठिक र अनुचित निर्धारण गर्ने एक वस्तुनिष्ठ मापदण्ड हो । कानुनी राज्यमा राज्यका सबै संयन्त्रहरु न्यायमा आधारित हुनुपर्दछ भन्ने कानुनी मान्यता रहेकोले सोही अनुरुप काम कारवाही हुनु पर्दछ ।
न्याय बिधि शास्त्रका बिभिन्न सिद्धान्तको विकास भन्दा पनि पुरानो विकासको विषयवस्तु हो । व्यक्ति , समाज र राष्ट्र सबैको अन्तिम लक्ष्य न्यायको प्राप्ति हो । न्यायको अवधारणा ग्रीकबाट सुरु भएको हो । न्याय भनेको अन्यायमा परेको व्यक्तिलाई कानुनद्वारा प्राप्त हुने विषय हो । कानुनको अभावमा न्याय स्थापना हुन सक्दैन । न्यायको मान्यता समानताको धारणा पनि हो । समानताको दृष्टिकोणलाई कार्यान्वयन नगरी न्याय स्थापित हुन सक्दैन । राज्य सञ्चालनको प्रकृयालाई सुनिश्चित गर्ने संविधान निर्माण गर्दा न्यायका मान्यताको आधारमा निर्माण गरिएको हुन्छ । न्याय र कानुन एक अर्काका पुरक हुन् । न्याय विना समाजको हितको संरक्षण समेत हुन सक्दैन । न्याय प्रशासनलाई देवानी र फौजदारी गरी दुई भागमा विभाजन गरिएको छ । जसमध्ये फौजदारी कानुनमा लागू हुने न्याय फौजदारी न्याय हो । फौजदारी न्यायका विभिन्न सिद्धान्त छन् । सिद्धान्त भनेको तर्क, विचारको एकीकृत रुप हो । फौजदारी न्यायका सिद्धान्तहरु भनेको फौजदारी कानुन र फौजदारी न्याय प्रशासन सञ्चालन गर्दा व्याख्या, लागू गर्ने सिद्धान्त हो । फौजदारी न्यायका आधारभुत वा सर्वमान्य सिद्धान्तहरु मध्ये कानुनको अनविज्ञता क्षम्य हुँदैन भन्ने एक महत्वपुर्ण सिद्धान्त हो ।
फौजदारी कानूनको यस सिद्धान्त अनुसार सबैले कानून जानेको र बुझेको हुनु पर्दछ । कुनै पनि व्यक्ति, निकायले मैले कानून नबुझेर, नजानेर अथवा थाहा नपाएर गल्ती काम गरे भनेर छुट पाइदैन । सबैमा कानूनको ज्ञान आवश्यक पर्दछ । यस सिद्धान्त मुलुकी देवानी संहिता, २०७४ को दफा ८ मा व्यवस्था गरिएको छ । फौजदारी कानून वा देवानी कानून जुनसुकै भएता पनि कानून नबुझेर गल्ती गरे भनेर कानूनी प्रतिरक्षा लिन सकिदैन । कानून स्पष्ट, निश्चित हुन्छ, त्यसैले आफूसँग सम्बन्धित र आफ्नो क्षेत्रसँग सम्बन्धित कानूनको जानकारी राख्नु सबै व्यक्तिको कर्तव्य हो । आफूले कानून नबुझेमा कहिले, कहाँ, कसरी आफू अन्यायमा परे भन्ने कुराको ज्ञान पनि हुदैन र अरुको हक, अधिकारको पनि आफूबाट हनन हुनसक्छ । फौजदारी कानुनमा कसुर हुनका लागि आपराधिक कार्य र दुषित मनसाय अनिवार्य तत्व मानिन्छ । यी दुई मध्ये कुनै एकको अभावमा अपराध हुन सक्दैन । त्यसैले हामीले कानून नबुझेर गरेको गल्तीमा अपराधिक कार्य वा अपराधिक मनसाय मध्ये एक भएन भने हामी सजायको भागीदार भने हुनु पर्दैन ।
कानूनको बारेमा अनविज्ञ व्यक्ति दायित्वबाट बच्न सक्दैन । कानूनको अज्ञानताको कुनै बाहना हुदैन । मानिसहरुले कानून थाहा छैन भनेर दावी गरेर आफ्नो कार्यको रक्षा गर्न सक्दैनन् । जसलाई कानुले स्विकार गर्दैन । यसको अर्थ सबै नागरिक वा हामीहरु कानूनी विशेषज्ञहरु हुनु पर्छ भन्ने होइन, तर पनि कहीँकतैबाट आफ्नो हक, हित हनन हुन्छ कि अथवा मेरो सानो गल्तीले अर्को कुनै व्यक्तिले पाउने अधिकारको हनन हुन्छ कि ? भन्ने कुराहरु थाहा पाउनका लागि सामान्य रुपमा भए पनि कानूनको ज्ञान हामी सबै नागरिकमा हुन जरुरी पर्दछ । हामीले हाम्रो दैनिक जीवनमा हुने एक सम्झौता भंग गरेर वा अरु कुनै व्यक्तिलाई बेवास्ता गरेर, उसको बारेमा चाहिने नचाहिने कुरा गर्दा कानूनले के गर्दछ र ? भन्ने लागेर कुनै क्रियाकलाप गर्नु हँुदैन । किनकि, कुनै पनि व्यक्तिको गोपनियताको भंग गर्नु पनि अपराध हो । हामीले कहिलेकाहीँ सही काम गरेका छौँ भन्ने लागे पनि कहीँकतैबाट गल्ती भएको हुनसक्छ । जुन गल्ती कानूनले नै गर्नु हुदैन भनेको हुन्छ, त्यसमा त हामी सजायको भागीदार बनिन्छ र कानुन बमोजिम सजायको भागिदार बन्नै पर्दछ । कानुनी मूल्य, मान्यता, व्यवस्था, दण्ड सजायको व्यवस्थाको बारेमा बुभ्नु सबै नागरिकको कर्तव्य हुन्छ । त्यसैले सबै नागरिकमा कानूनको सामान्य ज्ञान हुन जरुरी हुन्छ ।
हामीले आफ्नो हक, अधिकारको प्रयोग गर्दा वा रक्षा गर्न खोज्दा र अरुको हक, अधिकारको पनि हनन हुन दिनु हुँदैन र हुन नदिनका लागि हामीले कानून बुझेको हुनु पर्दछ । राज्यबाट अपराध, हत्या, हिंसा जस्ता क्रियाकलापको अन्त्य गर्न र आफू पीडित नहुन र अरुलाई पनि पीडा नपु¥याउने गरी आफ्नो क्षेत्रसँग सम्बन्धित कानून सबै व्यक्तिले बुझ्न र जान अनिवार्य हुन्छ । सबै क्षेत्रमा काम गर्ने व्यक्तिले कानूनलाई प्राथमिकतामा राखेर बुझेको हुनु पर्दछ र सबैको कानूनमा पहुँच पनि पुगेको हुनु पर्दछ । कानूनको अनविज्ञता क्षम्य नहुने भएकाले सबैले कानूनको पालना गर्न र गराउन अति आवश्यक छ । कुनै पनि व्यतिmले कानून जान्दिन भनेर उम्कन पाइदैन र सक्दैन । त्यसैले सबै व्यक्तिले देशको कानूनको बारेमा जानकार हुनु अपरिहार्य हुन्छ ।