स्यालुट सपना !

सम्पादकीय
नेपालीहरु विदेश जाने बाध्यता छ । त्यही बाध्यता विस्तारै युवाहरुको रहर र सपना बन्न थालेको छ । त्यसैले १० पास गरे हलो छोड्ने र १२ पास गरे थलो छोड्ने प्रचलन व्यापक बनिरहेको छ । अहिले १२ पास गरे भने या गर्दा गर्दै अब कुन देश जाने र कसरी प्रक्रिया अघि बढाउने भन्ने हतारो किशोर युवा पुस्तामा देखिन्छ । जसका कारण गाउँहरुमा किशोर युवाहरुको उपस्थिति निकै कम देखिन थालेको छ । भर्खरका किशोर, नौजवान युवायुवतीलाई विदेश जाने मोह अर्थात् रहर भए पनि अधिक नेपाली युवाहरुलाई विदेश जानु बाध्यता नै हो । आफ्नो भविष्य र परिवारको जीविका, आयआर्जन र सुखका लागि परदेश यात्रा पछिल्लो समय अनिवार्य जस्तो बन्न थालेको छ ।

यसरी विदेश जाने जमात बढ्दो छ । त्यसमा महिलाहरुको संख्या तुलनात्मक रुपमा धेरै कम छ । यसमा हाम्रो परम्परागत सोँच, संस्कार लगायतका धेरै कुराले भूमिका खेलेको छ । महिलाहरु विदेश जाने या गएकाहरुको बारेमा नेपाली समाजमा उति धेरै सकारात्मक सोच देखिदैन । कतिपय अवस्थामा महिलाहरु एउटा काम भनेर जाने र अरु अस्मितामै प्रश्न उठ्ने र बेचिने खालका काम गर्न बाध्यता भएका खबरहरु पनि आउने गरेका छन् । तर, डेनमार्कबाट विदेश जाने महिलाहरुका बारेमा राखिने नकारात्मक सोच र चिन्तनमा झड्का दिने गरी एक सुखद खबर आएको छ । बागलुङ मूल घर भएकी सपना खड्का नेपालबाट पहिलो पटक ‘बस चालक’ बनेकी छिन् । ‘बस चालक’ बन्नु डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको रुपमा लिइन्छ । डेनमार्कमा बस चालक बन्न त्यति सजिलो भने छैन । सबैभन्दा ठूलो बाधक भाषा बन्दै आएको छ । सवारी चालक अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्थानीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । त्यसपछि मात्र ठूलो गाडी अर्थात् बसको अनुमति पत्र लिनको लागि त्यस सम्बन्धी कोर्स गर्न योग्य हुन्छ । कोर्स उत्तीर्ण गरेर स्थानीय सडकमा बस चलाउन सक्षम भएपछि मात्र बस चलाउने अनुमति पत्र प्राप्त हुन्छ । यी सबै खुड्किला पार गर्दै सपना डेनमार्कको नेपाली समुदायमा पहिलो नेपाली महिला ‘बस चालक’ बन्नु गर्विलो र प्रेरक कुरा हो ।

महिलाहरुले विदेश जाने भन्दा या गए पछि आफुलाई आफ्नो परिवार र समाजमा धेरै प्रश्न, आंशका र संशयहरुको सामना गर्नुपर्ने हुन्छ । आफुलाई पटक पटक असली प्रमाणित गर्नुपर्ने चूनौती हुन्छ । अहिले डेनमार्क पुगेर सपना खड्काले नेपाली समुदायबाट पहिलो पटक महिला बस चालक बनेर देखाएकी छिन् । विदेशको ठाउँ, भाषाको जटिलता, बालबच्चाको स्याहार सम्भार लगायत यावत चुनौतीका बिच सपनाले जुन सफलता हात पारेकी छिन्, त्यो कसैलाई सामान्य लाग्न सक्छ । यो उनले हात पारेको सफलता नितान्त व्यक्तिगत भए पनि आम महिलाहरुका लागि उत्प्रेरणा अवश्य हो । यो तमाम नेपाली महिलाहरुका लागि ठुलो प्रेरणा र उर्जा बन्न सक्दछ । प्रवासमै रहेकाहरुका लागि पनि एउटा राम्रो उदाहरण र प्रेरणा बनेको छ । यो साहस र सफलताका लागि सपनालाई स्यालुट छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *