–जात व्यवस्थामा कोही सधैं अचानो,कोही खुकूरी कहिले सम्म ?
सज्जन कुमार सिंह
हाम्रो गाउँमा जुठे नाम गरेका व्यक्ति ७ जना छन् । परियार समुदाय भएको ठाउँमा सके त १०/१५ जना जतिको नाम जुठे छ होला, नत्र पनि २/४ जनाको नाम जुठे छ । त्यो म आँखा चिम्म गरेर भन्न सक्छु । जुठेको अर्थ हुन्छ जुठो अर्थात् फालिएको । हाम्रो धार्मिक मन्यता र संस्कृति संगै झाङ्गिएको जात व्यवस्थामा कथित सानो जात बनाइएका व्यक्तिले नाम सम्म पनि राम्रो राख्न नपाइने अवस्था थियो । अहिले त नाम राख्न कसैलाई कसैले रोकतोक लगाउदैनन् । पहिले राम, शिव, गणेश, लक्ष्मी, पार्वति जस्ता हिन्दु धर्मका देवी देवतामा नाम र बहादुरी जनाउने शब्द र राम्रा नाम दलितलाई लेख्न दिइदैनथ्यो । हालसालै पनि एक जना प्रशासनका अधिकारीले ढोरपाटन नगरपालिका बोबाङका कामी समुदायका दम्पतीलाई कूकुर कामी र कुकुर्नी कमिनी भनेर नागरिकता दिएर माथि उल्लेखित तथ्यलाई पुष्टि गरिदिए । ती अधिकारीले कसरी दिन सके होलान् मान्छेलाइ कुकुरको नागरिकता ? मान्छेको नाम कुकुर र कुकुर्नी राखेर नागरिकता दिने अधिकारी कथित खस समाजका पढेका युवा नै थिए ।
उनको चेतनाले मान्छेको नाम कुकुर बनाइदिन कसरी सक्यो ? हाम्रो सोच र मान्यता केही समुह र जात प्रति किन यति बिघ्न कुरुप र घृणित बन्दै गयो ? किन हाम्रो समाजमा आज पनि जातिय उचनिचको मान्यताको संस्कार र विकार गहिरो गरी गडेर बसेको छ ? यसको जरो के हो भनेर खोतल्नु आवश्यक छ ।
यो आलेखको मुख्य उद्देश्य पढे लेखेका कथित उच्च जातका युवा र शिक्षित समुह पनि किन कुप्रथा र घिनलाग्दो जात व्यवस्थाको पक्षमा किन उभिएका छन् ? सचेत युवाहरुलाई सबैखाले विभेद विरुद्द लाग्न समयसंगै सबै कुरा आफै हराएर जान्छ भन्नेहरु विभेदको पुस्तास्तान्तरण गर्न कसरी टेवा दिएका छन् र विभेदको अन्त्यका लागि सचेत युवाको गलत भूमिकाले कस्तो असर गरेको छ र भविष्यमा यसको असर के रहन्छ भन्ने हो ।
कतिपय मान्छेहरु ठुलो भ्रममा छन् कि समयसंगै सबै कुुरा आफै नासिएर जान्छ । सबै आफै ठिक हुन्छ, समय बलवान छ, परिवर्तन पनि तर मान्छेले प्रयास र जोडबल नगरे केही हुन्न । आफुले प्रयास नगर्ने तर सबै कुरा समयको जिम्मा लगाएर पन्छिनु सबैभन्दा घातक कुरा हुन्छ ।
“तोरीमा तिलमा तेल छ आफै कहा झर्छ र ?
पेल्नै पर्छ मुखमा आइ के नै पर्छ र ?’’
तेल निकाल्न तोरी पेल्नै पर्छ । चलि आएका मान्यता र गलत संस्कार तोड्न फरक ढंगले गहिरिएर सोच्नै पर्छ । यस्तो व्यवस्था उखेल्न तयार हुनै पर्छ । हामी मुख्य त राणाकालीन, राजाकालीन र कथित ब्रम्हाणवादी चिन्तन र सिन्धु नदीबाट उग्रिएको हिन्दु विचारधाराबाट अभिप्रेरित छौ ।
नेपाल समाज विगत लामो समयदेखि हिन्दु धर्मको मुल मर्म भाग्यवाद र चाकडीवादको खाडलमा जाकिएको हो । आज हामीले पढेका छौ । विश्व भूराजनीति बुझेका छौ । विश्वमा विज्ञान, प्रविधि र विकासको प्रतिफल प्रयोग गरेका छौ तर हाम्रो मानसिकतामा गाडिएको विभेदको किलो उखेलिन किन सकिएन ? यसका केही कारण छन् ।
१.जात व्यवस्थामा आधारित शासन र शासकको माथिल्लो तहमा परेका अर्थात् शासक पक्षमा गनिने जातलाइ यो व्यवस्थामा लुटैलुट छ, मालामाल छ । आफु सधैं पवित्र र उच्च कोटीमा गनिन पाउने । अरुलाई दबाई राख्न पाइन्छ ।
यही व्यवस्थामा सबै गर्न छुट उनीहरुलाई हुन्छ । रोजगारी र हरेक फाइदामा उनीहरुलाई सहजता हुने नै भो । आफ्ना आफन्त र नजिकका व्यक्तिसंगको भनसुनकै आधारमा जागिर पाइने भएपछि राम्रो कार्यसम्पादन नगरे पनि कारबाही भोग्नुपर्ने वा जागिरबाट निस्कनुपर्ने कुनै डर हुदैन । चाकडी गरेर र नाताबादको मान्यताले पाएको जागिर फ्रिमा परेको लोटी« जस्तो हो जागिर गर्ने व्यक्ति ठग नै हुन्छ । यस्ता धेरै व्यक्ति सरकारी जागिरे हुन्छन् र देशको प्रशासनिक क्षेत्र सधै अधोगति हुन्छ । हाम्रो देशको अवस्था त्यस्तै छैन त ? कारण यही हो ।
२. भर्खर खाएका व्यक्ति र भोकै भएका दुई व्यक्तिमा खाना खाने त ? भनेर सोध्दा भोकाएकाले खाउ भन्छ तर भर्खरै भुँडि भरेकोले हैन, नखाऔ पछि खाउला भन्छ । यो कुरालाइ विभेद संग जोड्दा मेल खान्छ । जात व्यवस्थाबाट मालामाल भएका उच्च जातका व्यक्ति यही व्यवस्था टिकाउन र यो व्यवस्थाले सधै थिचोमिचोमा परेका व्यक्ति,भोकै भएका व्यक्ति,दास बनाइएका समुह स्वभाविक रुपमा यो व्यवस्था फ्याक्न चाहन्छ ।
३.जात व्यवस्थाले साँस्कृतिक र धार्मिक रुपमा कसैलाई पवित्र र कसैलाई पापी ठान्छ र त्यही अनुरुप व्यवहार गर्छ । जब भारतको गंगा मैदानबाट मुसलवानी आक्रमणबाट बच्न भागेर नेपाल प्रवेश गरेका ब्राम्हणहरु आफ्नो धर्म र संस्कृति समेत ल्याएर आए । यहाँका बौद्द, पन्थ, धामी र प्रकृति पुजक जनजातिलाई समेत आफ्नो काबुमा राखि हिन्दु धर्मलाई उठाउन सफल भए । पुराण, वेदहरु पाठ गर्दा निकै बुद्दिजीवि र पवित्र ठहरिने एउटा मान्यता स्थापित भयो । ब्राम्हण विद्धान र यही झुण्डका व्यक्तिले लेखेको इतिहास र मान्यताले नेपालका वास्तविक श्रमजीवि,समाज सञ्चालन गर्ने कर्मी मौरीहरू प्रति गलत व्यवहार स्थापित गरियो । उनीहरु प्रति शासन गर्ने र उनीहरुमा समेत शासकले लादेका श्रेणीगत तह, व्यवहार र भाग्यवादको पहाडले थिच्यो ।
राजनीति,शासन र प्राकृतिक स्रोत जति एउटा समुहले ओगट्यो अर्थात् कथित ब्राह्मण, क्षेत्री र नेवारका श्रेष्ठले ओगटे । आफ्नै पुर्नजन्मको कारण आफु तल्लो जात भएको, आफ्नो कर्मका कारणले अछुत भएको भन्ने मनगढन्ते र हाँस्यास्पद कुरालाई स्थापित गर्दै लगियो । ज्ञान, शिक्षाबाट बञ्चित, धर्म र धार्मिक ज्ञान लिने सुन्ने अवसर नै दिइएन । राजनीति र रोजगारी लिने अवसर नै दिइएन । तहगत जात व्यवस्था नमाने कारबाही भोगिने डरले उनीहरुमा समेत यो व्यवस्था मान्नुपर्ने अवस्था आयो ।
४. प्रशासन, धार्मिक रुपमा हुने फाइदा, सैन्य शक्ति जस्ता मुख्य अंगमा बाह्मण, क्षेत्रीले हालीमुहाली गर्ने त्यहाँबाट आउने प्रतिफल पनि उनीहरूकै हुने भए पछि निरिह बनेको कथित अछुत समुह उनीहरुको दास बन्नुको विकल्प भएन । सम्पत्ती आर्जन गर्ने, स्वास्नी राख्ने र आफ्नो जिउधन माथि पनि अधिकार समेत नपाएपछि यहाँ भन्दा ठुलो अन्याय के हुन्छ ? अब उनीहरुको अवस्था कस्तो हुने त ? यसै भन्न सकिदैन र ?
५.राम्रो भनेको उच्च जात र नराम्रो, खराब भनेको कथित तल्लो जात भन्ने मान्यता यति गहिरो सम्म स्थापित भयो कि जसको कारण उनीहरुलाई मानसिक रुपमै कमजोर आत्मग्लानी भएर बाँच्ने अवस्था भयो ।
जात व्यवस्थामा आधारित सौन्दर्य दृष्टिले राम्रो कामी पनि बाहुन जस्तो र नराम्रो बाहुन पनि कामी जस्तो भनेर होच्याउने,हेला गर्ने मान्यता आज सम्म स्थापित छ ।
बदलिएको विभेदको स्वरुप
मानव जीवनको विकास र रुपान्तरण भएको छ । हिजो संगै बस्दा छिटो हाल्ने, दलित संग छोए पछि जिब्रो डाम्ने अवस्था त अहिले छैन । तर, घोरिएर कसैलाई गलत नजरले हेरे कानुन लाग्ने यो समयमा पनि मान्छेले मान्छेलाई अझै छुन नहुने, छुवाछुत गर्ने, हरेक क्षेत्रमा जात व्यवस्थाकै मान्यता र मनस्थिति कायम रहनु निकै लजास्पद कुरा हो ।
केही दिन अघि सचेत तथा शिक्षित सञ्चारकर्मी रुपा सुनारलाई श्रेष्ठ थरकी महिलाले जातकै कारण कोठा नदिएको विषय, विभेद गर्ने महिलालाई उनकै जातमा मन्त्रीले आफ्नै गाडीमा झण्डा हल्लाउदै छुटाएर लाने लगायतका आँखा बिझाउने दृश्य देखियो । यो घटनामा नेपाल दुई समुहमा विभाजित भयो । एउटा सचेत र प्रगतिशील समुह जातिय विभेदको विरुद्दमा अनि अर्काे समुह विभेदको पक्षमा ।
जब उत्पिडित दलित समुदायले आफु विभेदमा परेको प्रति आवाज उठाउँछन्, कथित उच्च जात भनिएका समुह फरक ढंगले उनीहरुको आवाज दबाउन लाग्छन् । अहिले पनि त्यही भयो । जब सम्म दलितलाई कोटा दिइन्छ, तब सम्म कोठा दिइन्न । सदियौ देखि दलनमा परेको एउटा समुह ठुलो त्याग, बलिदान र संघर्षबाट फाट्टफुट्ट राज्यका निकायमा खुट्टा टेकेका छन् । राजनीति र अन्य ठाउँमा प्रवेश हुन सुरु गरेका छन्, त्यो कुरा उनीहरुलाई पटक्कै मन परेको छैन, जसले तीन हजार बर्षदेखि यो देशको ह्याकुला चपाएको छ ।
जो यो राज्यको जागिर र फाइदा आफ्नो जात र नजिककाले बाहेक अरुले खानुहुन्न भन्ने मान्यता राख्छ । यही संकुचित र हाँस्यास्पद तर्क अघि सारेर बुद्दिमा बिर्काे लागेकाले त हसाएँ हसाएँ । पढेका, डिग्री गरेकाले पनि यही कुरालाई जोडतोडले उठाएपछि उनीहरुको डिग्री र पिएचडीलाई समेत जात व्यवस्थाले कसरी भुमरी खेलाएको रहेछ भन्ने प्रस्ट हुन्छ ।
“बिरालोले श्राद्द गर्दा छोइदेलान् भन्ने मान्यता राख्ने बाउले बिरालो मारेको देखेको बच्चाले डिग्री र डाक्टरी फूली पाए पछि पनि बिरालो बाध्नुको कारण नबुझी घरमा नभए पनि गाउँमा खोजेर भए पनि बिरालो बाँधेर बाउको श्राद्द गर्ने घटना यसको एउटा दरिलो उदाहरण हो ।
यो देशको ९० प्रतिशत कोटा कथित उच्च र पवित्र क्षेत्रीले भाग्यवाद, नातावाद र चाप्लुसीवादले २०० बर्षदेखि ओगटेका छन् । त्यतिमात्र होइन, उनीहरुले नै शाषित यो देश विश्वको सबैभन्दा गरिब र निरीह,भ्रष्ट पनि त उनीहरुकै कारणले बनेको होइन र ? यसको जिम्मा लिने कि नलिने ?
कानुन, संविधानले अहिले विभेदलाई अपराध मान्छ । कानुन निर्माण गर्ने देखि लागु गर्ने ठाउँमा पनि जात व्यवस्था मान्नेहरु हँुदा विभेदको अपराध गर्नेलाई कारबाही हुन्न । बरु उनीहरुले विभेदमा पर्नेलाइ हप्काएर विषय अन्त मोड्ने गरेको पाइन्छ ।
अहिले पहिले जस्तो सिधै नभने पनि आधुनिक र फरक शैलीले विभेद गर्ने र तयसको संरक्षण गर्ने प्रवृत्ति बढ्दो छ । जातियता आधारमा कोटा दिने भने उफ्रनेहरुलाई यो लाग्दैन कि आज पनि एउटा दलितले दुध बेच्न पाउने अवस्था छैन, होटल खोलेर खाने अवस्था छैन । र त्यो अवस्था यही जात व्यवस्थाले निम्त्याएको भन्ने बोध छैन ।
सचेत धेरै तप्का यो व्यवस्था फाल्न तयार भए पनि अधिकांश कथित उच्च जातका व्यक्तिलाई यो व्यवस्था टिकाएरै अघि बढ्ने बढाउने जोडबल छ । दलित गैर–केटाकेटीले प्रेम गर्न मनाही छ, विवाह गरे बालविवाह मुद्दा, जर्बजसस्त करणी, बलात्कार मुद्दा लगाउने मात्र होइन, कैयनको ज्यान नै लिने गरेका छन् । जसको एउटा ज्वलन्त उदाहरण रुकुम काण्ड नै काफी छ ।
राजनीति, प्रशासनिक र निजी तथा सामाजिक संघ सस्थामा अझै पनि सहभागी बनाउने, अघि बढाउने कुरामा धेरै तिर अवरोध गरिन्छ । सार्वजनिक र निजी ठाउँमा पनि दिनहुँ विभेद अपमान भइरहेको छ । त्यसैले, यो कुहेको व्यवस्था फाल्न सबै भन्दा बढी सचेत गैरदलित र त्यसमा पनि सचेत युवाले पहल गर्नैपर्छ । दुई दिन कोरोनाका कारण परिवार र समुदायबाट केही दुरीमा बस्दा कति पीडा भयो ? सदियौ देखि विभेद र अन्धविश्वासका कारण हाम्रै समाजका होनहार श्रमजीवि र समाजका खम्बा दलित समुदायलाई गरेको विभेदले कति पीडा भएको होला ? के यो कुरा अझै पनि मनन् नगर्ने ?
जात व्यवस्थामा कोही सधै प्रहार गर्ने खुकुरी र कोही सधै पीडा सहने अचानो बनिरहने कहिले सम्म ? यो कुहेको व्यवस्था फाल्न अब ढिला भयो । यही कारण हाम्रो शिर निहुरियो र समाज पछाडि धकेलियो । अब त अन्धबिश्वासको चिर निद्राबाट ब्युझिनु अपरिहार्य छ ।