म्याग्दीका एमाले नेता विभाजनको विपक्षमा

सन्तोष गौतम, म्याग्दी

म्याग्दीका अधिकांश एमालेका नेता कार्यकर्ता पार्टी विभाजनको विपक्षमा देखिएका छन् ।

तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने एमाले नेता र जनप्रतिनिधिको संख्या न्युन देखिएको छ । प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका नेता र जनप्रतिनिधिहरु पार्टी विभाजनमा नेपाललाई साथ नदिएका हुन् ।

विभाजनले कम्युनिस्ट आन्दोलन कमजोर हुने भन्दै उनीहरु मुल पार्टी एमालेमै रहेर गलत प्रवृतिको विरुद्ध लड्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, थममाया थापा, प्रदेशसभा सदस्य नरदेवी पुन, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटि सदस्य नवराज शर्मा, जिल्ला उपाध्यक्ष देबेन्द्र केसी एमालेमै रहेका छन् ।

संसद विघटनको विपक्षमा माधव नेपाल समूहमा रहेका जिल्ला कमिटी सचिब बालकृष्ण सुवेदी र सचिवालय सदस्य राजकुमार थापा मंगलबार भएको जिल्ला कमिटी बैठकमा सहभागी भएका थिए ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल निकट मानिने प्रदेश कमिटी सदस्य मुना बानिया अहिलेसम्म दुवै पार्टीमा खुलेकी छैनन् । एमालेका जिल्ला कमिटीको सचिवालय सदस्य देउप्रसाद छन्त्याल र जिल्ला सदस्य तथा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्मा एकीकृत समाजवादी पार्टी गठनको गृहकार्यमा जुटेका छन् ।

छन्त्याल धवलागिरी गाउँपालिका र विश्वकर्मा बेनी नगरपालिकाको कार्यपालिका सदस्य हुन् । जिल्ला समन्वय समितिका प्रमुख समेत रहेको एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्र केसीले छन्त्याल र विश्वकर्मा लगायत तटस्थ बसेका नेताहरुसँग पनि सकारात्मक हिसाबले छलफल चलेको बताए ।

जिल्ला कमिटी सदस्य हेमराज शर्मा, नारायण अधिकारी, जगबहादुर किसान, युवा नेता अनुप गौचन, झलक आचार्य, म्याग्दी–काठमाडौ सम्पर्क कमिटिका अध्यक्ष गोबिन्द सुबेदी लगायतका नेताहरु एमाले विभाजन नहुँदासम्म नेपाल समूहमा देखिएका थिए । गौचन मालिका–६ दरबाङ र आचार्य रघुगंगा–२ भगवतिको वडा कमिटी अध्यक्ष हुन् ।

‘फरक मत राख्ने र अहिले तटस्थ बस्नुभएका साथीहरुसँग सकारात्म ढंगले छलफल चलेको छ, ुउपाध्यक्ष केसीले भने,ु विभाजनको विगतको तितो अनुभव संगालेका साथीहरु पार्टीमै रहेर गलत क्रियाकलाप विरुद्ध लड्नुहुनेछ भन्ने विश्वास छ ।

विभिन्न स्थानीय तहमा एमालेबाट जितेका जनप्रतिनिधि एमालेमै रहने भएका छन् । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, मंगलाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी र मालिकाका उपाध्यक्ष खरमाया बिटालु एमालेमै छन् । २३ वटा वडाका अध्यक्ष, दुई जना बाहेक कार्यपालिका सदस्य र वडा सदस्यहरु नयाँ पार्टीमा हालसम्म खुलेका छैनन् ।

निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ । ५७ सदस्यीय एमाले म्याग्दीको जिल्ला संगठन कमिटिमा १८ सदस्यीय सचिवालय छ । ५ जना सदस्य विदेशमा रहेका उपाध्यक्ष केसीले बताए । २०५४ मा एमाले बिभाजन हुँदा अधिकांश नेताहरु मालेमा लागेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *