कहिले चलायमान हुन्छ बागलुङको पर्यटन ?

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिर चैत्र महिना देखि बन्द छ । कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय बागलुङले मठ मन्दिरमा नित्य कर्म बाहेकका गतिविधिमा रोक लगाए पछि ६ महिना देखि कालिका मन्दिरको गेट खुल्ला हुन सकेको छैन ।

बागलुङको पर्यटन व्यवसायलाई चलायमान गराउने बागलुङ कालिका संगै बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा कोरोना अघि दैनिक पाँच सयको हाराहारिमा आन्तरिक पर्यटक पुग्ने गरेका थिए । लामो समयदेखि पञ्चकोटले पर्यटक पर्खिएको छ । बागलुङमा पछिल्लो तीन वर्ष यता पर्यटकीय क्षेत्रको पहिचान, पचार प्रसार र पूर्वाधार निर्माण भए पनि कोरोनाले उठ्न थालेको पर्यटन थला परेको छ । जिल्लाको गलकोट नगरपालिका–६ मा रहेको खुल्ला मूर्तिकला संग्रहालय पछिल्लो समय पर्यटकको आर्कषणको केन्द्र रहे पनि चहल पहल नुहँुदै ठप्प बन्न पुग्यो ।

बागलुङका यस्ता दर्जनौ पर्यटकीय स्थल अहिले सुनसान छन् । कोरोना कहरका बिच अन्य क्षेत्र विस्तारै चलायमान भए पनि बागलुङका पर्यटकीय गतिविधि समेत ठप्प बन्दै गए पछि यहाँका पर्यटन व्यवसायी समेत समस्यामा परेका छन् ।

जनतन खोल्न थालेका होटल व्यवसाय राम्रो संग एक महिना समेत खोल्न नपाउँदै पुनः बन्द भए । कारण जिल्लामा कोरोना संक्रमण दर बढेको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सबै सेवा साउन २८ यता बन्द गर्न पुग्यो । चलायमान हुन थालेको धार्मिक तथा पर्यटकीय गन्तव्यहरु एकाएक ठप्प भए ।

भदौं १० गते देखि बल्ल बागलुङमा केही सीमित प्रावधान बाहेकका गतिविधि खुल्ला गरे पनि धार्मिक तथा पर्यटकीय क्षेत्रमा भने अंकुश कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्रमा भिडभाड हुने भएकाले कोरोना जोखिम हेरेर निषेधाज्ञा कायम गरिएको बताउनुभयो । उहाँले नित्यकर्म बाहेकका गतविधि धार्मिक क्षेत्रमा गर्न नपाइने जानकारी दिनुभयो ।

पर्यटकीय क्षेत्रमा चहल पहल नहुँदा सम्म जिल्लाका होटल व्यवसाय खोल्नुको कुनै अर्थ नभएको होटल व्यवसायी ललिता थापाले जानकारी दिनुभयो ।

“काठमाण्डौं, पोखरा चितवन लगायतका स्थानबाट कालिका मन्दिर, पञ्चकोट, गलकोटको मुर्तिकला हेर्न नआएको धेरै भयो,जिल्लामा सार्वजनिक सभा समारोह समेत सञ्चालनमा रोक छ, होटल मात्रै खोलेर के गर्नु ?” थापाले भन्नुभयो “विश्वकै प्रसिद्ध पर्यटकीय गन्तव्य ढोरपाटन, मुस्ताङको मुक्तिनाथ जाने पर्यटकहरुले सिजनमा राम्रो कमाई गर्ने जिल्लाका होटल व्यवसायहरु पर्यटकको पखाईमा छन् ।”

साउने सोमबारमा शिवालयमा भक्तजनको भिड लागेकै छ । कृष्ण जन्माष्टमीमा त्यस्तै भीड थियो तर कालिका मन्दिर सहित अन्य धार्मिक पर्यटकीय स्थलमा प्रशासनले पुजाआजा प्रवेशमा रोक लगाउँदा जिल्लाको पर्यटन व्यवसाय थला परेको जिल्ला पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।

“अन्य भिडभाड हुने क्षेत्र खोलेकै छ तर स्वास्थ्य मापदण्ड अनुसार पर्यटकीय स्थल खोल्न कसैले चासो दिएका छैनन्, होटल मात्रै खुले र त पर्यटन व्यवसाय चल्दैन विस्तारै अन्य जिल्लामा जस्तै पर्यटकीय क्षेत्र चलयमान गराउन आवश्यक छ” खड्काले भन्नुभयो “पर्यटनको थुप्रै सम्भावना बोकेर जागरुक हुँदै आएको बागलुङमा कोरोनाले निकै समस्या पा¥यो, अहिले कोरोना घटे पनि पर्यटकीय क्षेत्रमा लागेको अंकुश हटाउन पर्दछ, स्वास्थ्य सचेतना जरुरत छ ।”

पछिल्लो समय बेलढुङ्गा हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरना पर्यटककको आर्कषण बन्न थालेको भए पनि कोरोनाको कारण समस्यामा परेका छन् । पछिल्लो समयमा बागलुङमा पर्यटकीय गतिविधि धेरै हुँदै आएका कारण पर्यटन क्षेत्र चलायमान हुँदै आएको र घरबास समेत फस्टाउँदै गए पनि कोरोनाले पटक–पटक निषेधाज्ञा गर्दा भर्खर लगानी गरेका घरबासलाई नराम्रो असर गरेको बेलढुङ्गा सामुदायिक घरबासका सचिव गोपाल श्रीसले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *