कोभिड संकटको बागलुङमा यसरी गरियो सामना

खेमराज गौतम
नेपालमा २०७६ चैत्र दोस्रो साता भित्रिएको कोरोना सोझै बागलुङ आयो । कोरोना भाइरस संक्रमण पुष्टि दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा चैत ४ गते कतार एयरवेजको विमान चढेर आउनुभएको थियो । जसमध्ये बागलुङकी १९ वर्षिया अंशु सापकोटामा पाँचौ संक्रमण पुष्टि भयो ।

राजधानी बाहिर संक्रमण पुष्टी हुनेमा अंशु दोस्रो भएका कारण बागलुङ शुरुमै सशंकित बन्यो । त्यति मात्रै हैन, अंशुको गाउँका सडक स्यानिटाइज गर्ने देखि उपचारका लागि अस्पताल ल्याउन सिडियोको निर्देशन सम्मका कुरा भए । शुरुको अवस्थामा यस्तो सम्म जिल्लामा घटना भयो कि कोरोना संक्रमित लिन जाने भनिएको एम्बुलेन्स चालक चापी नै फालेर भाग्ने सम्मको स्थिति आयो ।

त्यस कठिन अवस्थामा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरांैले कार्यालयकै सवारी चालक रुद्र पराजुलीलाई लिएर संक्रमितलाई धौलागिरी अस्पताल सम्म ल्याइपु¥याउनु भएको थियो ।

त्यस्तो कठिन मोडबाट गुर्जि्रदै आएको बागलुङ पछिल्लो एक वर्ष देखि विस्तारै सामान्य अवस्था तर्फ उन्मुख छ । सुरुको त्यो कोरोना संकटग्रस्त अवस्था सम्झदाँ आफैलाई कहाली लागेको र स्वास्थ्य सेवामा प्रश्न गर्ने अवस्था आएको कोरोना स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले बताउनुभयो । कोरोनाको शुरुको अवस्थामा धौलागिरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी घिमिरेले कोरोनाको त्यो अवस्था शब्दमा व्याख्या गरेर भन्नै नसकिने खालको भएको बताउनुहुन्छ ।

“संक्रमित भएको गाउँको बाटो नहिँड्ने अवस्था देखि अहिलेको सहज परिस्थिति दुबैलाई प्रत्यक्ष नियाल्ने अवस्था आयो, २०७६ को चैत्र मसान्तमा चिनको बुहानबाट सुरु भएको भाइरसले युरोप जस्तो विकसित मुलुकका धेरै मानिसलाई चिहानघाट पु¥यायो” स्वास्थ्यकर्र्मी घिमिरेले भन्नुभयो “रोगले भन्दा डरले सतायो, अभिभावकले छोराछोरी स्वास्थ्यकर्मी बनाएकोमा चिन्ता समेत व्यक्त गर्नुपर्ने अवस्थामा पु¥यायो, तर अहिले स्वास्थ्य चेतना, स्वास्थ्य सामाग्री तथा खोपका कारण निकै सहज बनाएको छ ।” घिमिरेका अनुसार महामारीमा अझै हेलचक्राई भने गर्ने बेला आइसकेको छैन ।

डब्लुएचओको नीति समेत त्यतिबेला अनुसन्धानमै भएकाले स्वास्थ्यकर्मी थप द्धिविधा र मारमा परेका थिए । जस्तै संगै हिँडेका, एउटै सवारीमा यात्रा गरेका र भेटघाट मात्रै गरेकालाई समेत परीक्षण गर्ने नीति थियो । त्यसले थप संकट पैदा गराएकोमा अहिले भने त्यस्तो नभएर जसको लक्षण छ, उसैलाई मात्र परीक्षण गर्दा स्वास्थ्यकर्मीलाई सहज भएको छ ।

स्वास्थ्यकर्मीको तितो अनुभव भनेको स्वास्थ्यकर्मीले भने पनि नागरिकले भगवानको रुपमा हेर्ने भए पनि महामारीमा हेलाको नजरले हेर्ने गरेको तितो अनुभव सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ “स्वास्थ्यकर्मी भएकै कारण मात्रै नहोला तर कोरोना सार्छ भन्ने डरले मानिसहरु स्वास्थ्यकर्मीबाट टाढा रहन चाहन्थे म संक्रमित भएर घरमै बस्दा घरको बाटो नै मान्छे हिँडेनन् ।”

‘कोरोनाका संक्रमितको मोफसलमैै उपचार सम्भव तुल्याउने अस्पतालका अर्का साहसिक र जोखिम मोल्नुभएका चिकित्सक हुनुहुन्छ बागलुङ स्थित धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र विक पोखरेल । राजधानी बाहिर संक्रमित भएको अंशुलाई हेलिकप्टर मार्फत काठमाण्डौं लैजाने समेत तयारी भइरहेको अवस्थामा यही अस्पतालमै उपचार गर्न सकिन्छ भनेर आँट गरेको र विस्तारै सार्थकता पाएको डा. पोखरेलले बताउनुभयो ।

“निकै जोखिमपूर्ण र अन्योलग्रस्त अवस्था थियो, जतिबेला पाँचौं संक्रमित बागलुङमा पुष्टि भइसकेको अवस्था थियो, संक्रमितको उपचार गण्डकी प्रदेशमै कही भएको थिएन, नयाँ रोग नयाँ प्रयास थियो” डा.पोखरेलले भन्नुभयो “तर मैले तत्कालीन समयमा कार्यरत डा.प्रदिप श्रेष्ठ लगायतको समूह संग छलफल गरी यही राख्ने कुरा ग¥यौं, अहिले त अस्पतालको आइसोलेसन खाली हुने, होम आइशोलेसनमै बस्ने सहज परिस्थिति आयो, त्यतिबेला धौलागिरी अस्पतालले बास्तवमा जोखिम उठाएकै हो ।”

अहिले स्वास्थ्य सम्बन्धी सचेतना अपनाउन थालियो, माक्स अनिवार्य भयो, स्यानिटाइजरको प्रयोग बढ्यो र खोपलाई अनिवार्य गरिदै लगियो, त्यसैले सहज परिस्थिति आएको उहाँको भनाई छ ।

सरकारले कोरोना संक्रमितलाई कहाँ भर्ना गर्ने सरकारको निर्देशन समेत नआउँदै अस्पतालले कोरोनाको उपचार शुरु गरिसकेको पोखरेलले बताउनुभयो । प्लाष्टिकका पीपीइ लगाएर उपचारमा खटिएका स्वास्थ्यकर्मीले त्यतिबेला ठूलो जोखिम मोलेको स्मरण गर्नुहुन्छ । पीपीइ लगाउने तरिका समेत बिरामी भर्ना भइसके पछि यहाँका स्वास्थ्यकर्मीले सिकेका हुन् ।

कोरोनालाई शुरुकै अवस्था देखि नजिकबाट नियाल्नुभएका बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले त्यस बेलाको अवस्था र अहिलेको अवस्था धेरै फरक रहेको बताउनुभयो ।

“त्यो बेला हामी नै सडकमा स्यानिटाइजर छर्कदै हिँडेका थियौ, सबै कुरा अध्ययनमै भएकाले स्वास्थ्यकर्मीनै अन्योलग्रस्त अवस्थामा थियौ, आम नागरिकको चेतना त अझ कस्तो थियो होला ?” स्वास्थ्यकर्मी खनालले भन्नुभयो “अब कोरोना त्यस्तो रहेन, संगै यात्रा गरेको, बोलेको र हिँडेको भरमा भन्दा प्रत्यक्ष सम्पर्कमा रहेकालाई मात्रै कोरोना लाग्ने रहेछ भन्ने कुरा हामीलेनै अनुभव गरियो, आफै संक्रमित हुँदा विभेद समेत भोगियो तर निरन्तर रोग संग जुध्दै गइयो अहिले खोपले धेरै सहज भएको छ ।”

रुघा, खोकी तथा ज्वरो आउँदा साथ उपचार गर्न सकेमा कोरोनाले जटिल अवस्थामा पु¥याउन सक्दैन भन्ने अनुभव भयो । स्वास्थ्यकर्मी चढेको सवारी साधन समेत अन्य कर्मचारीले चढ्न नमानेको अवस्था देखि अहिलेको निकै सहज अवस्थामा आइसकेको भए पनि स्वास्थ्य सचेतना कायम नै राख्न जरुरी रहेको उहाँको भनाई छ ।

कोरोना संक्रमित भएको गाउँमा उत्पादन भएको दूध र तरकारी समेत बिक्री नभएको बागलुङ अहिले सामान्य अवस्थामा फर्किसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *