बदलिदो तीज : सामाजिक एकता कि विकृति र विसंगति ?

सरोजराज पन्त
हरेक बर्ष भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी वा बुबाको मुख हेर्ने दिन देखि ऋषिपञ्चमीसम्मलाई परम्परा देखि तीजका रूपमा मनाउने प्रचलन रहदै आएको भएता पनि पछिल्लो समय साउने संक्रान्तिबाट तीज मान्ने प्रचलन नेपाली समाजमा विशेषगरी शहरी क्षेत्रमा बढेको छ । त्यसो त कतिपयले दरखाने दिनदेखि ऋषिपञ्चमीसम्मलाई मात्र तीजका रूपमा मान्ने गरेको भए पनि दर खाने, व्रत बस्ने र ऋषिपञ्चमी पूजा गर्नु तीजका अति प्रचलित कार्यहरु हुन् ।

अहिले नेपाली समाजमा तीज मनाउने मौलिक परम्परा फेरिएको मात्र छैन । यसको अवधि पनि लम्बिएको छ भने घर, मठमन्दिर, चौतारी, चौर, सार्वजनिक स्थलमा महिला दिदी बहिनीहरु जम्मा भई गीतसंगीतका माध्ययमबाट दुःख सुख साटासाट गर्ने, समाजमा व्याप्त सामाजिक विकृति र विसंगतिको उजागर गनर्,े गीत संगीत र नाचगान गरी रमाइलो गर्ने चलनलाई अहिले पाटिप्यालेसमा प्रवेश भयो । मौलिक तीज गीत संगीत भन्दा फरक गीत गीतसंगीतले ठाउँ लिन पुग्यो र महिलाहरू सामूहिक रुपमा जम्मा भई एकापसमा सुखदुःख साट्ने र रमाउने तीजमा आधुनिकताको प्रवेश भयो ।

पहिलेदेखि तीज पर्व मीठो मसिनो खानपिन, राम्रो पहिरनमा सीमित नभइ व्रत र शुद्धीकरणसँग पनि यो पर्व जोडिएको छ । नाच र गान गरेर मनोरञ्जन गर्नु यस चाडको अभिन्न अंग बनेको छ । पहिले तीजमा नाच गान गर्ने तिजको नाच गीतको भाव र बोलले गर्दा विशेष हुने गरेको पाइन्छ । तिज बाहेक अरू दिन नाच्ने महिलालाई उत्ताउली भनिए पनि तिजको दिनको नाचलाई समाज र परिवारले सहज रुपमा लिने गर्नुले यसको आफनै मुल्य र परम्परा रहेको स्पष्ट हुन्छ । सुरुमा तिजका गीत दुःख, शोक, रिस, आवेग, कामुकताले भरिएका हुन्थे । पछिल्लो समय खासगरी सन् १९९० को दसकमा र त्यसपछिको राजनीतिक परिवर्तन पछि सचेतना फैलाउन, राजनीतिक विद्रोहको भाषा बोल्न पनि तिजको अवसर प्रयोग भयो । यसले नारीलाई अगाडि बढन सहयोग पुगेको देखिन्छ । यधपि आजभोलि तिजका गीतमा राजनीतिक व्यंग्य, चेतना, विद्रोह भन्दा पश्चिमी गीत संगीतको प्रवेश गरेको पाइन्छ ।

सनातनदेखि मनाउँदै आइएको तीजको प्रभाव नेपाली समाजमा बढ्दै जानु सकरात्मक हो । अर्को तर्फ यो पर्व राष्ट्रियस्वरुप मात्र नभई विदेशी भूमिमा समेत स्थापित हुन पुग्यो । गीत तथा संगीतसँग अति निकट सम्बन्ध रहेको तीज पर्वले मौलिकताको जगेर्ना गर्न सकेमा विदेशी पर्यटकहरुको मन जित्न र चासो बढाउन सक्ने सम्भावना पनि उतिकै छ ।

शास्त्रिय कथन अनुसार तीजलाई हरितालिकाका पनि भनिन्छ । यस बारेमा शास्त्रहरूमा विशद वर्णन गरेको पाइन्छ । हर्षोल्लास र निष्ठाका साथ मनाउने यो पर्वलाई तृतीया तिथिका दिन मनाइने भएकोले आम भाषामा ’तीज’ भनिएको कथन पनि छ । पौराणिक आख्यान र कथन अनुसार प्राचीनकालदेखि नै विवाहिता नारीको ब्रह्मचर्यता र शारीरिक पवित्रा कायम गर्न र अबिबाहितले सवल र सक्षम श्रीमान प्राप्त होस् भनी व्रत बसी यो पर्व मनाउँदै आइएको पाइन्छ । परापूर्वकालदेखि मनाइँदै आएको तीज पर्व माता पार्वतीद्वारा आदिदेव शिवलाई पतिका रुपमा पाउनका लागि गरिएको कडा त्याग, तपस्या र संघर्षसँग सम्बन्धित छ ।

समाजशास्त्रिय दृष्टिले हेर्दा स्वदेश तथा विदेशमा वा सुगम वा दुर्गम स्थानमा रहेका चेलीहरू आपसी सहकार्य, एकता, मित्रताकायम गरी तीज पर्व मनाउने, माइती घर नजिक हुनेहरु आफ्नो जन्मघरमा आउने जाने र रमाइलो गर्नु नारी शक्तिमा खुसियाली ल्याउनु हो । विवाह पछि बर्षौंदेखि टाढिएका परिवारलाई एकआपसमा संयोजन गर्नु, टाढिएका परिवारका सदस्यवीचमा र सामाजिक प्रेम प्रदान गर्नु तथा पुनर्मिलन गराउनु, एक आपसमा रमाउन सांगीतिक माहोल बनाउनु, गीतसंगीतका माध्ययमबाट दुःख सुख साटासाट गर्नु समाजमा व्याप्त सामाजिक विकृति र विसंगतिको उजागर गर्नु, गीतसंगीत र नाचगान गरी रमाइलो गर्नु, महिलाहरू माइत आएर विरह पोख्नु, विरहलाई गीतमार्फत अभिव्यक्त गर्नु, महिलाहरू सामूहिक रुपमा जम्मा भई एकापसमा सुखदुःख साट्नु र रमाउनु मातृशक्तिप्रति उच्च सम्मान हो ।

तीज पर्वबारे महिलावादी कोणबाट पनि अध्ययन–अनुसन्धान भएका छन् । अमेरिकी अनुसन्धाता लान बेनेटले नेपाली समाजमा मनाइने तिज र ऋषि पञ्चमी दुवै पर्वको अभ्ययन गरेकी छन । यी दुवै चाडले महिलाहरुको मासिक प्रक्रिया र कामुकतालाई डेन्जरस वाइभ्स एन्ड स्याक्रेड सिस्टर्स शीर्षक दिएर अध्ययन गरेकी छन । यी दुई पर्वमा नारीका गुण र व्यवहारको तुलनात्मक गर्नेमात्र होइन शिव र पार्वतीको झैं अटुट जोडीको नमुना बन्न पाइयोस् भनी अविवाहिता नारीहरु निराहार वा पानी नपिई व्रत बस्दछ भने विवाहित महिलाहरुले पतिको लामो आयुको कामना गरी व्रत गर्ने प्रचलन रहेको पाइन्छ ।

अहिले तीजका नाममा आधुनिकताको प्रवेश भयो । परम्परागत चलनलाई अहिले अस्वस्थ प्रतिष्प्रर्धा गरी पाटिप्यालेसले प्रबेश पायो र मौलिक तीज गीतसंगीत भन्दा फरक गीत गीतसंगीतले ठाउँ लिन पुग्यो । तीजका नाममा फजुल खर्च गर्ने थालियो । महङगा सारी, चोली, चुरा, पोते, आधुनिक आभूषणको प्रयोगले समाजमा विभेद, असमानता, विकृति, विसंगती, अस्वस्थ्य प्रतिष्प्रर्धा कायम हुन पुग्यो । गाउँघर पाइने मकरकाँची, मजेत्रो, हल्दी, तिउरी, दूवो, कपुर, चन्दन आदिको सम्मिश्रणबाट तयार पारिएको मेहन्दीले भन्दा धेरैले आधुनिक रसायनयुक्त मेहन्दीको प्रयोगले विभिन्न खालका चर्मरोग लाग्ने गरेका छन जसले गर्दा अनावश्यक खर्च र परनिर्भरता बढेको छ । परिवारमा एकताभन्दा विचलन, अन्तर हिंसा, द्घन्द्घ, सम्वन्ध बिछेद र आत्महत्याका घटनाहरु बढेका छन ।

अहिलेसम्म पनि महिलाहरुको जनसंख्याको १९.७१ प्रतिशतसँग मात्र जमिनको स्वामित्व छ । यो संख्या महिलाहरूले जमिनको कारोबार गर्दा थोरै कर तिर्नुपर्ने भएकाले केही समययता बढेको वास्तबिकतामा निर्णयहरू अझै पनि घरको पुरुषको हातमा छ । महिला आर्थिक हिसाबले सक्षम नभए तिनले आफ्नो परिवारको राम्रोसँग हेरचाह गर्न सक्दैनन् । तीजमा दुई चार दिन स्वतन्त्र रुपमा नाचगान गरेर मात्र पुग्ने अबस्था छैन । यदाकदा गाउँघरमा अहिले पनि बिहे गरेर जाने छोरीले किन पढ्नुप¥यो भन्ने आशय रहेको छ । यसले गर्दा महिलाहरूको समन्यायमा पहुँच कमजोर देखिन्छ । संविधानमा धेरै हकाधिकारको वर्णन भएका भएतापनि यसलाई कानुनमा परिवर्तन गर्न र हुबहु कार्यान्वयन गर्न नसक्दा जटिलताहरु हटन सकेका छैनन । महिलाहरु नेतृत्व तहमा पुगे पनि महिलाको भूमिका निर्णायक हुने र अधिकार स्पष्ट रुपमा पाउन सकेको अबस्था छैन । दिनहुँ महिला हिंसा हुँदा, किसोरीहरु वलात्कृत हुँदा कानुनी उपचार प्राप्त गर्न नसकेको अबस्था छ । तर पनि महिलाले महिलालाई नै हेप्ने वा हिंसा गर्ने समस्या तीज पर्वका नाममा हुने गरेका छन । कस्ता गर गहना लगाएको, मेकअप गरेको, गाडी चढेको, दर खाए खुवाएको आदि विषयमा आफुआफुबीच टिकाटिष्पणी हुने गरेका छन ।

२१ औँ शताब्दीका महिलाहरुका चुनौतीहरूमा शिक्षा, रोजगार, समानता, समन्याय, व्यवहारमा परिवर्तन, स्वास्थ्य, प्रविधिको पहँुच समग्र विकास हुन् । यी चुनौतीको सामना गर्न अव नारीका शत्रु नारी बनेर र अस्वस्थ्य प्रतिष्प्रर्धाबाट होइन समानताको सोच, फरक नेतृत्व आवश्यक छ । चाडपर्वलाई एकता, सदभावसँग जोडेर काम गर्ने शैली र स्वनियन्त्रणमा महिलाहरू लाग्न जरुरी छ । स्वाभाविक रूपमा समानुभूति, करुणा, सुन्ने शक्ति र सहकारिताको जगमा अडेरमात्र परिपक्ताको पहिचान दिन आवश्यक छ ।

तीजका गीतहरुले समग्रमा तारिफयोग्य र अग्रगामी कदमको चर्चा गर्ने काम गरेको हुँदाहुँदै पनि अहिलेसम्म महिला र अन्य सीमान्तकृत वर्गको कुरा, भोगाइमा पुरुषप्रधान समाज र पुरुषलाई दोष दिने गरिन्छ । तर पनि महिलाको शत्रु महिला, अनावश्यक देखासिकी बढेको, महिलाद्घारा महिला हिंसामा परेका विषय गौण बनेका छन । महिलाहरुले आफ्नो शरीरमाथिको हक, महिला स्वतन्त्रता र स्वायत्तता, तथा लैंगिक र यौनिक विषयमा आवाज उठाएपनि जडसम्म बुझेर आपसमा बुझ्न र राम्रो व्यवहार गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *