कांग्रेसमा युवा पुस्ता, अधिवेशन र अपेक्षा

सम्पादकीय
नेपाली कांग्रेस मुलुकको सबै भन्दा पुरानो पार्टी हो । यसकारण प्रजातन्त्रमा आस्थावान अधिक पुराना पुस्ता कांग्रेसमा आवद्ध छन्, यसका शुभेच्छुकका रुपमा छन् । त्यसैले, कांग्रेस पुरानो पार्टी भएर परम्परागत हिसाबले नै चल्दै आएको आरोप पनि लाग्ने गरेको छ । कांग्रेसमा पुरानो पुस्ता समर्पित र सक्रिय भइरहे पनि नयाँ र युवा पुस्ताको आकर्षण र उपस्थिति कम देखिन्छ । जसका बारेमा अहिले आसन्न नेपाली कांग्रेसको १४औं महाधिवेशन र भाद्र २१ देखि सञ्चालित वडा तहको अधिवेशनमा असली परीक्षा र अभ्यास सुरु भएको छ । वडा तहको अधिवेशनबाटै युवाहरुले हस्तक्षेपकारी भूमिकाका साथ नेतृत्व आउनुपर्ने जर्बजस्त आवाज उठिरहेको छ । नत्र कांग्रेस, एमाले जस्ता पुराना र ठुला पार्टीमा नयाँ पुस्तालाई स्थान बनाउन निकै सकसपूर्ण हुनेछ ।

अहिले वडा तहको अधिवेशनमा युवा पुस्ताको नेतृत्व आंकाक्षा र उपस्थितिले सकारात्मक संकेत गरेको छ । वडा तहको निर्वाचनमा युवाको बाक्लो उपस्थिति देखिइरहेको छ । दैलेख दुल्लु नगरपालिका–३ मा १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापति बनेर सर्वत्र चर्चा बटुलिन् । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ बाट १९ वर्षकै दिपिका भण्डारी क्षेत्रीय प्रतिनिधि बनिन् । मादी गाउँपालिका वडा नम्बर ९ मा २८ वर्षका प्रभात अधिकारी वडा सभापति बने । बागलुङको पनि काठेखोला १ मा गणेश नेपाली, ४ मा बिष्णु आले, ताराखोला गाउँपालिका १ मा सागर घर्ती लगायत नेतृत्वमा सर्वसम्मत चयन भए । यसले बुढा नेताहरुको पार्टी भनेर बेला बेला आरोप खेप्ने नेपाली कांग्रेसमा जगबाटै युवाले हस्तक्षेप गर्न थाल्नु खुसी र उत्साहजनक विषय हो । कांग्रेस पार्टीको केन्द्रीय नेतृत्वमा पनि युवाको कार्यकारी भूमिकामा पुग्नुपर्ने आवाज र चाहना सर्वत्र देखिन्छ । जसमा युवा नेता गगन थापाले अघिल्लो महाधिवेशनमै महामन्त्रीमा चुनावी मैदानमा उत्रिएर युवाको उपस्थिति स्थापित गर्न प्रयास गरेका थिए । तर, त्यो प्रयास बिफल भयो । अहिले पुनः थापा सहित विश्वप्रकाश शर्मा, प्रदिप पौडेल महामन्त्रीमा उम्मेदवारी दिने चर्चाले युवाको जर्बजस्त नेतृत्वमा उपस्थिति जनाउने संकेत देखिएको छ ।

हुन त नेपाली राजनीति होस् या अरु क्षेत्र, युवा र बृद्ध केबल उमेरले होइन । उसको कर्म, विवेक, चेतना र योजनाले हुने भन्ने तर्कहरु पनि छ । जे भए पनि युवाहरु राजनीतिमा निर्णायक तहमा आउनु सकारात्मक कुरा हो । भलै उनीहरुले असल राजनीतिको अभ्यास र गल्ती गर्दा नेतृत्वकै खबरदारीका लागि कस्तो भूमिका खेल्छन् ? युवा ऊर्जालाई समाज र देशको परिवर्तन र समृद्धिका लागि कस्तो राजनीतिक संस्कार अँगाल्छन् ? पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको उर्जाको सन्तुलन कायम गर्न सक्छन् कि सक्दैनन् ? नयाँ सोंच अनुसार राजनीतिलाई जनताको सेवा सँग जोड्न सक्छन् कि सक्दैनन् ? राजनीतिलाई फोहोरी खेल भन्ने युवा जमातको सोच बदल्छन् कि बदँल्दैनन् ? युवा मात्रै होइन, देशको संविधानले परिकल्पना गरेको समावेशी अनुहार र चित्र कांग्रेस नेतृत्वमा देखिन्छ कि देखिन्न ? भन्ने सवाल र चूनौती पनि कांग्रेसका सामु छ । कांग्रेसमा आस्थावान युवाहरुले सधै गुनासो होइन, यतिबेला गर्ने बेला आएको छ । युवा, समावेशी, सबल नेतृत्व चयन गर्न कांग्रेसलाई सबै तहमा सफलता मिलोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *