बागलुङमा कांग्रेस वडा अधिवेशन : युवा नेतृत्व उल्लेख्य, महिला शून्य

डम्मर बुढा मगर, बागलुङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सुरु भएसँगै बागलुङका ८५ वटै वडामा नेतृत्व चयनका लागि अधिकांशमा वार्ड अधिवेशन सम्पन्न भएको छ । केहीमा भने सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ ।

केही वडामा मतदान मार्फत नेतृत्व चयन गरिएको छ भने अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको निवार्चन अधिकृत विष्णु प्रसाद शर्माले जनाकारी दिनुभयो ।

वडा अधिवेशनमा यसपटक उल्लेख्य संख्यामा युवाहरुले नेतृत्व लिएका छन् । विभिन्न जातजाति, धर्म, लिङ्गका सवालमा आवाज उठाउँदै आएको कांग्रेसले दलित, जनजाति, मुसलमान,, महिला, अल्पसंख्यक र अपाङ्गाता भएका व्यक्तिहरुलाई पनि नेतृत्व तहमा ल्याउन विभिन्न कोटा निर्धारण गरे पनि सोही अनुसारको नेतृत्व वडा स्तरमा चयन गर्न भने नसकेको पाइएको छ ।

युवाहरुले नेतृत्व लिनु सकरात्मक पक्ष भए पनि दलित, जनजाति तथा अन्य पिछडिएका वर्गलाई नेतृत्व तहमा ल्याउन कांग्रेस चुक्दै आएको छ । यस पटक बागलुङका केही वडामा स्थानीय दलित नेताहरुले नेतृत्व लिएका छन् । यो समाचार तयार पार्दा महिला भने कुनै पनि वार्डमा नेतृत्वमा आउन सकेका छैनन् । जिल्लाका ८५ वडा मध्ये ९० प्रतिशतमा नेतृत्व चयन सकिएको छ । जसमध्ये प्रारम्भिक जानकारी अनुसार ७० प्रतिशत भन्दा बढी युवा वडाको नेतृत्वमा आएको निर्वाचन समितिले जनाएको छ ।

दलितको सवालमा काठेखोला गाउँपालिका वडा नम्बर १ मा भने दलित समुदाय र युवाको समेत उपस्थिति जनाउने गरी गणेश नेपालीले सर्वसम्मत रुपमा नेतृत्व लिनुभएको छ । जिल्लाका धेरै स्थानको राजनीतिक अवस्थालाई हेर्ने हो भने दलित तथा जनजाति र महिलाहरुले कमै मात्र नेतृत्व सम्हालेका छन् । सर्वसम्मत रुपमा नेतृत्व गर्ने अवसर पाएका नेपालीले आफू दलित मात्रै नभई एउटा युवा र आफूमा नेतृत्व गर्न सक्ने क्षमता भएका कारण सभापति बन्न सफल भएको बताउनुहुन्छ ।

‘हामी सानैदेखि राजनीतिमा चासो र आस्था राख्दै आयौँ, अग्रजहरुको मार्ग निर्देशनलाई आत्मसाथ गर्दै आयौँ र अहिले हामी युवाले पनि नेतृत्व गर्न सक्छौँ, पार्टीलाई मजबुत बनाउन सक्छौँ भन्ने लाग्यो’ सभापति नेपालीले भन्नुभयो ‘अब हामीले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन पहल गर्छौ ।’

३१ वर्षीय नेपाली विगत एक दशकदेखि कांग्रेसमा क्रियाशिल रहँदै आउनु भएको छ । पार्टी संगठनलाई अहिलेको अवस्थाको भन्दा थप मजबुत, सुदृढ र सशक्त बनाउने जिम्मेवारी आफू माथि आएको र त्यो जिम्मेवारीलाई पुरा गर्ने दायित्व आफ्नो भएको बताउनुभयो । सांस्कृतिक संघ, तरुण दल हुँदै कांग्रेस काठेखोला १ को पार्टी सचिव समेत रहनु भएका नेपाली यसपटक सर्वसम्मत रुपमा नेतृत्व गर्ने अवसर पाएको बताउनुहुन्छ ।

ताराखोला गाउँपालिका वडा नम्बर १ को वडा सभापतिमा पनि युवाले नै नेतृत्व पाएका छन् । यस वडामा २२ वर्षीय युवा सागर घर्ती मगर सभापति बन्नुभएको छ । घर्ती जिल्लाकै सम्भवतः सबैभन्दा कम उमेरको कान्छो वडा सभापति हुनुहन्छ ।

जिल्लामा युवाहरुले नेतृत्व पाउन थालेपछि यसले राजनीतिमा युवा शक्तिको आकर्षण बढ्दो क्रममा रहेको पुष्टि गर्ने घतीको भनाई छ । पार्टी बाहेक अन्य संघ संस्थामा आवद्ध भएर काम गर्नुभएका घर्ती कांग्रेसको १४ औँ अधिवेशनबाट वडा सभापतिमा सर्वसम्मत रुपमा चयन हुनु भएको हो ।

नवनिर्वाचित सभापति घर्तीले आफ्नो क्षेत्रमा कांगे्रसको अवस्था निकै नाजुक रहेको र अबका दिनमा त्यसलाई बलियो र गर्बिलो उपस्थिति जनाउने गरी पार्टी संगठनलाई सुदृढ गर्ने बताउनुहुन्छ । उहाँले युवा पुस्तामा हराउँदै गएको राजनीति प्रतिको चासो र चिन्तनलाई पनि हटाउन कोसिस गर्ने गरी काम गर्ने बताउनुहुन्छ ।

‘हाम्रो क्षेत्रमा कांग्रेस निकै कमजोर छ, हरेक निर्वाचनमा कांग्रेस पराजित हुँदै आएको छ, अब यस क्षेत्रमा कांग्रेसलाई सशक्त बनाउने, आगामी निर्वाचनमा विजय हासिल गर्ने गरी काम गर्नु पर्ने जिम्मेवारी छ,’ घर्तीले भन्नुभयो ‘अब सोही अनुरुप पार्टी संगठनलाई मजबुत बनाउने, टोल–टोलमा कांग्रेसको संगठन विस्तार गर्ने गरी काम गर्ने योजनामा छु ।’

निसीखोला गाउँपालिका वडा नम्बर ४ मा पनि युवाले नै नेतृत्व पाएका छन् । यस वडामा ३२ वर्षीय चेतराम पौडेलले सर्वसम्मत रुपमा नेतृत्व पाउनु भएको छ । उहाँले निसीखोलामा कांग्रेसको राम्रो उपस्थिति रहे पनि व्यवस्थित बन्न नसकेको भन्दै आफूले अब पार्टी संगठनलाई थप सुदृढ गर्ने बताउनुहुन्छ ।

उहाँले अहिलेसम्म बुढापाकाले मात्रै पार्टी संगठन संचालन गरेको भन्दै अब युवा पुस्ताले नेतृत्व गर्नु पर्ने अभिप्रायाले आफूले यस पटक नेतृत्व लिएको बताउनुहुन्छ । अब निसीखोला ४ मा कांग्रेसलाई थप बलियो बनाउने प्रतिबद्धता जनाउनुभयो ।

बागलुङ ८५ वटा वडा मध्य हालसम्म ९० प्रतिशत वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको र केही वडामा सहमतिको प्रयास भइरहेको बताउनुभयो । जिल्लाका बाँकी वडामा सर्वसम्मत रुपमै सहमति जुटाउन प्रयास भएको कांग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *