‘रुपा गौतम हत्याकाण्ड’ का ७ वर्ष

सम्पादकीय
हरेक वर्ष महिलाहरुको महान पर्व हरितालिका तीज पर्व आउँछ । तीज पर्व आउँदा हर्ष, उल्लास मात्र आउँदैन अचेल, तीजको दिनसँगै बागलुङवासीले ‘रुपा गौतम हत्याकाण्ड’ सम्झन्छन्, र झस्कन्छन् आफ्नै माइत जाँदा र आउँदा पनि । उस्तै कहालीलाग्दो नियति दोहोरिन्छ कि भनेर भयभित हुन्छन् । विसं २०७१ भाद्र १२ गते हरितालिका तीजकै दिन । माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै दिनदहाडै काठेखोला गाउँपालिका–६ मा व्यवसाय गरी बस्ने ३६ वर्षीया रुपा गौतमको बोक्से गैरामा सडकमै विभत्स हत्या भएको थियो । हत्या भएको ७ वर्ष बित्दा समेत अपराधी पत्ता लाग्न सकेको छैन ।

रुपा गौतम हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो ? अपराधीको नजिक नजिक पुगेको प्रहरी अनुसन्धान बिचमै किन तुहियो ? अपराधी सार्वजनिक गर्ने तह सम्म पुगेको अनुसन्धान किन धर्मरायो ? मध्यपहाडी पुष्पलाल लोकमार्गमै दिउँसै हत्या भयो, अपराधीको खोज, पहिचान गर्न प्रहरी किन बिफल रह्यो ? धारिलो हतियार प्रयोग गरी भएको हत्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत आयो, यतिका वर्ष सम्म अनुसन्धानमा के देखियो ? कहाँ चुक्यो प्रहरी र अनुसन्धान ? किन सार्वजनिक हुँदैन ? यी र यस्ता गम्भीर प्रश्नको जवाफ प्रहरीले दिनै पर्दछ । यस घटनामा केही शक्तिशाली व्यक्तिकै सम्लग्नता रहेको सार्वजनिक वृत्तमा तत्कालीन समयमै चर्चा चलेको हो । तर, प्रहरी अनुसन्धान विस्तारै सुस्तायो । हत्याको सुरुवाती समयमा उठेको आक्रोशपूर्ण आन्दोलन र न्यायको आवाज पनि मधुरो हुँदै गयो । अहिले रुपा गौतम हत्या प्रकरण नयाँ प्रहरी प्रमुख आउँदा अनुसन्धान अघि बढाउने विषयले केही चर्चा पाउँछ तर दर्दनाक घटनाको रहस्यको पर्दा अझै उघ्रेको छैन ।

रुपा गौतम हत्या प्रकरणमा प्रहरीको ७ वर्षदेखि रेडिमेड जवाफ हुन्छ–‘अनुसन्धान जारी छ ।’ प्रहरीले कहिले सम्म यस्तै रेडिमेड जवाफ दिएर यस्तो गम्भीर आपराधिक घटनाबाट पन्छिरहने ? यसले दण्डहिनता र अराजकतालाई कति प्रश्रय दिइरहेको छ ? तीजकै दिन, दिन दहाडै भएको घटनाको फितलो अनुसन्धान र यतिका वर्ष सम्म केही नहुनुले समाजमा शान्ति सुरक्षाको प्रत्याभूति कसरी दिलाउने ? यसमा सरकार, प्रहरी प्रशासन गम्भीर बन्नै पर्दछ । हुन त कतिपय घटनाको वर्षौ पछि पनि अपराधी पत्ता लाग्ने र कारबाहीको दायरामा आएका छन् । यति गम्भीर घटनाको प्रहरीले मिसिल बन्द गरेर अवश्य बसेको छैन । न्यायको आशामा पीडित परिवारले ७ वर्ष बिताइसकेका छन्, तीजकै दिनमा भएको हत्या जस्तो जघन्य अपराधको अनुसन्धानमा प्रहरी ढिलै भए पनि चुक्ने छैन । यदि यस्ता घटना यतिकै ढिसमिस गर्ने अवस्था आए त्यसले समाजमा दुर्भाग्यपूर्ण परिस्थिति निम्त्याउने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *