पोखरा–बागलुङ राजमार्गमा पाँच करोडको क्षति


–आदर्श अनलाईन, बागलुङ

कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ सडक अन्तर्गतको पर्वत खण्डमा पहिरोले ठूलो क्षति पु¥याएको छ ।

गत भाद्र १७ गते राती पर्वत खण्डको ८ किलोमिटर सडक ठुला ठुला पहिरो खसेका कारण २० ठाउमा अबरुद्ध भएको थियो । जसमध्ये सबैभन्दा क्षति कुश्मा नगरपालिकाको दोबिल्लामा भएको थियो । पर्वतको भ्याप्लेखोलामा विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तापछि सडक सञ्चालनमा ल्याएको भए पनि सडकमा सास्ती कायमै रहेको सवारी चालक र यात्रुहरुले बताएका छन् । सडकमा अहिले घण्टौं जाम हुने समस्या कायमै छ ।

पर्वत खण्डको २४ किलोमिटर सडक लामा कन्ट्रक्सनले अन्तिम चरणमा पु¥याए पनि पहिरोले कल्पना भन्दा बढी क्षति पु¥याएको छ । पहिरोका कारण उक्त सडकमा झण्डै पाँच करोडको भौतिक संरचनामा क्षति पु¥याएको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

निर्माणव्यवसायीले उक्त खण्डको २४ किलोमिटरमा जम्मा २ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी थियो । तर, अहिले झण्डै एक किलोमिटर सडक पुनः कालोपत्रे गर्नु पर्ने अवस्थामा आएको र थप केही किलोमिटर सडक मर्मत गर्नुपर्ने आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासीनीले जानकारी दिनुभयो । पहिरोले पर्वतकै तल्ला मोदी जलविद्युत आयोजनामा समेत करोडौंको क्षति भएको छ ।

अबरुद्ध राजमार्ग एक हप्ता पछि खुले पनि अहिले कतै हिलो, कतै सवारी फस्ने त कतै जाम हुने गर्दा पर्वत खण्ड पार गर्न यात्रुलाई घण्टौं समय लाग्ने गरेको छ ।

सडकको अबरोध हटेको भोलिपल्टै चुवामा दुई घण्टा सवारी जाममा परेको मोटरसाईकल यात्रु राजन कार्कीले बताउनुभयो । पहिरो खसेर क्षति पु¥याएको सबै सडक कालोपत्रे भइसकेको थियो । अहिले उक्त सडक एकतर्फी हुँदा सवारीहरु जाम हुने समस्या बढ्दै गएको छ ।

“पर्वत खण्डको सडक बन्द हुँदा बागलुङको पञ्चिम क्षेत्र खर्बाङ–गुल्मी हुँदै बुटवल पुगेको थिए” कार्कीले भन्नुभयो “सडक खुल्यो भने पछि पोखरा बागलुङ सडक खण्ड अन्तर्गत यात्रा गरे पनि चुवामा दुई घण्टा जाममा परियो, अत्यावश्यक बाहेक अन्य कामका लागि अहिले पर्वत खण्डमा यात्रा गर्दा निकै जोखिम छ ।”

भ्याप्लेखोलामा नेपाली सेनाको सहयोगमा चट्टान फुटाएर सडक खुलाए पनि सडक माथि ठूला ढुङ्गा रहेका कारण जोखिम कायमै छ । आयोजना कार्यालयले क्षतिको विवरण संकलन गरिरहेको र पहिरोले क्षती पु¥याएको कालोपत्रे सडक, नाली, पर्खाल, कल्भर्ट तथा थप नयाँ संरचना निर्माणका लागि अध्ययन भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर उज्वल शर्माले जानकारी दिनुभयो । “सडकमा अकल्पनीय क्षती पु¥याएको छ, कालोपत्रे सडक क्षतविक्षत भएको छ, यसले निर्माण व्यवसायीलाई समस्यामा पारेको छ, सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक हस्तान्तरण गरिनसक्दा सडक मर्मतको जिम्मा निर्माण व्यवसायीकै हुन्छ” इन्जिनियर शर्माले भन्नुभयो “तर सडकमा ठूलो क्षति भएका कारण र पहिलाको स्टिमेट भन्दा बाहिर गएर संरचना थप गर्नुपर्ने भएकाले केही छुट्टै निर्णय आवश्यक समेत छ, अहिले लगत संकलनको क्रममा र संरचना थप गर्नुपर्ने स्थानको अध्ययनकै क्रममा छौं ।”

सडक खुलेको भोलिपल्ट देखिनै उक्त सडकमा घण्टौं जाम हुन थालेको छ । सडक एकतर्फी सञ्चालनमा आएपनि कुस्मा नगरपालिका–८ चुवामा सडकनै बगाएको थियो । सडक अस्थायी रुपमा सञ्चालनमा आएको भए पनि सडक छेउको माटो हटाउने कार्य भइरहेको छ । दोबिल्लामा ठूलो मात्रमा पर्खाल लगाउन आवश्यक रहेको र पर्खाल नलगाउँदा सम्म दोबिल्लामा दुईतर्फी सडक खुलाउन नसकिने आयोजनाले जनाएको छ ।

दोबिल्लामा सानो पानी पर्दासाथ सडक अबरुद्ध हुने जोखिम छ । ध्वस्त भएको झण्डै पाँच करोडको संरचना र थप तीन करोडको नयाँ संरचना गरी सडकलाई पुरानै अवस्थामा ल्याउन आठ करोड जति खर्च लाग्ने आयोजनाको अनुमान छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *