एमालेको काठेखोलामा अगुवा कार्यकर्ता भेला, युवा नेता केसीले तोडे मौनता

–आदर्श अनलाइन,बागलुङ

पार्टी विभाजन बहोरेको नेकपा एमाले बागलुङले संगठन सुदृढिकरण अभियानलाई तिब्रता दिन थालेको छ ।

अभियान अन्तर्गत आगामी ३१ गते जिल्ला सदरमुकाममा हुने जिल्ला भेलालाई सफल बनाउन वडा देखि गाउँपालिका सम्म कार्यकर्ता भेला, बैठक आयोजना गरिएको एमालेले जनाएको छ ।

जसअन्तर्गत आइतबार काठेखोला गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले एमाले एकताको पक्षमा रहेको भन्दै पार्टी फूटलाई एमालेले कदापी स्विकार गर्न नसक्ने बताउनुभयो । उहाँले नेकपा एमाले जिल्लामै एकढिक्का रहने र केही साथीहरु आवेशले नयाँ पार्टीमा जानु दुखद् रहेको उहाँको भनाई छ ।

एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा,

नेकपा एमालेका प्रदेश कमिटी सदस्य युवा नेता हिरा बहादुर केसीले पार्टीमा अन्र्तसंघर्ष स्वभाविक भए पनि पार्टी विभाजन नै गर्ने कुरा गलत भएकाले गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै एमाले अघि बढ्ने बताउनुभयो ।

एमालेको काठेखोलामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै युवा नेता हिराबहादुर केसी

युवा नेता केसी पार्टी अन्तरसंघर्षका बेला माधव नेपाल समूहमा सक्रिय भए पनि पार्टी विभाजन यता भने मौन रहनुभएको थियो । आज आफ्नै पालिकामा पुगेर एमालेलाई नै एकढिक्का बनाएर अघि जानुको विकल्प नभएको बताउनुभयो । २०५४ सालमा एमाले विभाजन भएर माले बन्दा संक्रमणकालीन अवस्थामा एमालेको राजनीतिमा सक्रिय रहनुभएका केसी विभाजन पछि कता लाग्छन् भन्ने एमाले वृत्त र बाहिर चासोको विषय थियो ।

भेलाले आगामी भाद्र ३१ गते बागलुङ जिल्ला सदरमुकाममा आयोजना गरेको बृहत जिल्ला भेलालाई भव्यताका साथ सफल पार्न काठेखालाका अधिकतम नेता, कार्यकर्ता तथा शुभेच्छुक उपस्थित गराउने, काठेखोला गाउँपालिकाको एमाले पार्टी कमिटी विभाजनमा जानु गलत भएकाले पार्टी एकताको पक्षमा एक भएर जाने निर्णय गरेको नेकपा एमाले काठेखोला गाउँ कमिटिका अध्यक्ष डिल बहादुर कार्कीले जानकारी दिनुभयो । ३१ गते हुने भेलालाई निवर्तमान मुख्यमन्त्री तथा गण्डकी प्रदेश इन्चार्ज पृथ्बीसुब्बा गुरुङ लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम, सचिवालय सदस्य हुमा कुमारी जिसी ‘अञ्जु’, काठेखोला गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य अमर बहादुर थापा लगायतले एमाले काठेखोलामा एकढिक्का रहेको र पालिकामा पार्टीलाई थप सशक्त बनाएर अघि बढ्ने बताउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका ८ वटै वडामा एमालेको वर्तमान अवस्थाका विषयमा वडागत छलफल गरिएको थियो । गाउापालिका अगुवा कार्यकर्ता भेलाको अध्यक्षता नेकपा एमाले काठेखोला गाउँ कमिटी अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षता, गाउँ कमिटीका सदस्य तथा काठेखोला ६ का वडा अध्यक्ष युक्तप्रसाद कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *