सरोजराज पन्त
विविध प्राकृतिक सम्पदा, संस्कृति र परम्परामा धनी देश नेपाल हिमाल, पहाड तथा तराईको भौगोलिक बनोटको कारण अति सौन्दर्य खानी मानिन्छ । उत्तरतर्फ चाँदी झैं टल्कने सुन्दर हिमश्रृंखलाहरु, पहाडी प्रदेशका उपत्यकाहरु र भौगोलिक विविधता तथा तराईको घना बनजंगल, समथर भूमिले यसको पुष्टि गर्दछन् । नेपालका यीनै प्राकृतिक सम्पदास्थल मध्ये पर्वत जिल्लाको दक्षिणी भेगमा पर्ने एक सुन्दर भूभाग डाङसिङ्गका नामबाट परिचत छ । गण्डकी प्रदेशको पर्वत जिल्ला, फलेबास नगरपालिका–७, लिमिठानामा अवस्थित डाङसिङ्ग, लमायखोला र चिर्दीखोलाले दुई तर्फबाट खियाएर गहिरो गल्छी बनाएको एक हरियाली टापु हो । यो साविक लिमिठाना गाउँ विकास समिति अन्तर्गत लमाय र चिर्दी खोलाको दोभानमा अवस्थित डाङसिङ्ग समुन्द्री सतदखि झण्डै ६६० मिटर उचाइमा छ ।
लिमि+ठाना लिमिको अर्थ बाँसको झाङ्ग र ठानाको अर्थ निर्णय गर्ने ठाउँ, अड्डा भन्ने हुन्छ (नेपाली शब्दकोश अनुसार) । तत्कालीन समयमा यहाँ बढी बाँस रहेको र लिमिठानामा झैझगडा, वैमन्श्यता छिनोफानो गरी दण्ड सजायको निर्णय गर्न ठानाको काम हुने भएकोले पनि यस गाउँलाई लिमिठाना भनिएको पाइन्छ (अध्ययनको क्रममा प्राप्त जानकारी) । यस कुराको प्रमाण स्वरुप अहिले पनि यस गाउँमा धेरै मात्रामा बाँसघारी हुनु हो भने निर्णय दण्ड जरिवानाका लागि तत्कालीन समयमा लिमिठानामा जाने गरेकोले यस गाउँको नाम लिमिठाना रहन गएको पाइन्छ । यस गाउँमा वर्तमान समयमा बसोबास गर्न विभिन्न थर जातजातिहरुमा पन्त, पाण्डेय, रेग्मी, पाण्डे, अधिकारी, तिमिल्सिना, (चपाई) चापागाई, पौडेल, घर्ती, क्षेत्री, भण्डारी, दमाई, कामी, सार्की आदि रहेका छन । ती मध्ये सबैभन्दा पहिला चापागाईहरु आएर बसोबास गरेको पाइन्छ ।
दुई खोलाको बीचको हात्तीको सुडको जस्तो आकारमा रहेको यो स्थल जीर्ण अबस्थामा रहेको चौतारीको पश्चिम तर्फको भाग मात्र करिव १५.५ हेक्टर क्षेत्रमा फैलिएको छ र भने यसको माथिको समतल क्षेत्र करिव ५.५ हेक्टर छ । आदिकाल देखि लिमीठाना, कुर्घा, देबिस्थान लगायत बसोबास गर्ने मानिसहरुले यस स्थानका दुई फरक बृक्षको फेदमा काला भैरब र भवानीको दसैं, दियाली पुजामा, नयाँ अन्न खाने दिन अर्थात नुवाईमा, कुलपुजामा, मंगलवार र शनिवारका दिन भाकल पछि चोखो निष्ठ गरी पुजाआजा गर्ने प्रचलन छ । यसैगरी पर्वत लिमीठानामा आएर बिसं १७१० देखि बसोबास गर्दे आएका पन्त परिवारले कुल धर्म परम्परा अनुसार निरन्तर दसैं, दियाली, नयाँ अन्न खाने दिन अर्थात नुवाईमा, कुलपुजामा र भाकल पछि चोखिनिष्ठ गरी पुजा आजा गर्दे आएको र महत्वपूर्ण पर्यटकीय, धार्मिक, सांस्कृतिक बोकेको स्थान हो ।
लिमिठाना, कुर्घा र देविस्थानमा बसोबास गर्ने मानिसहरुले दसैँ, कूलपजा, नयाँ अन्न खाने दिन (नुवाईमा) दियाली पूजा, मंगलवार र शनिवारका दिन भाकल गरी पूजा अर्चना गर्ने यति प्रख्यात स्थानमा लामो समयसम्म मन्दिर निर्माण हुन नसकेकोले २०६३ सालमा देखि यहाँका बुढापाकाको साथ सहयोगमा जागरुक युवाहरुले देउसी भैलो खेलेर अन्य व्यक्ति समुहसँग सहकार्य गर्दै चन्दा संकलन गरी मन्दिर निर्माण कार्य सम्पन्न भएको छ । भैरब मन्दिर र सत्तल निर्माण कार्य गर्ने क्रममा जमिन खन्दा ताम्रपत्र भेटिएको छ । यसबाट पनि यो स्थान परापुर्वकाल देखि नै महत्वपूर्ण रहेको बुझिन्छ ।
लिमिठानाको सवैभन्दा होचा भागमा अवस्थित यस स्थल प्राकृतिक सौन्दर्यताकालागि समेत महत्वपूर्ण छ । सरर हावा चल्ने, कलकल पानीको आवाज आउने, वाघ, वदेल, बाँदर, चितुवा, मृग, खरायो, कालिज जस्ता जनावर र पशुपक्षीले रमणीय बनाएको यस स्थानमा रहेको भैरव भवानीको मन्दिरमा पूजा अर्चना गरे धनधान्य प्राप्त हुने, सुख शान्ति छाउने विस्वास र प्रचलन रहेको छ । अहिले लिमीठाना, कुर्घा, देबिस्थानका स्थानीयबासीको अथक प्रयासले त्यसैको पश्चिम तर्फ एक मन्दिर निर्माण गरिएको छ । यस अघि पर्यटन विभाग पोखराको पाचँलाख रुपैयायाको आर्थिक सहयोगमा पूजापाठ गर्न आउने भतmजनका लागि प्रतिक्षालय (सत्तल) निर्माण कार्य सम्पन्न भएको छ । तरपनि कम्पाउण्ड बनाउने तार जाली लगाउने तथा मन्दिरको मुख्य छाने बनाउने कामका लागि बजेट अभाव भएकोले कार्य सम्पन गर्न नसकिएको अबस्था छ । यसको लागि प्रदेश सरकार, स्थानीय सरकारको सहयोग भएमा कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ ।
अहिले यही गाउँमा जन्मिएका, हाल वैदेशिक रोजगारका लागि जापानमा रहेका स्व. पं हितराज पन्त र समाजसेवी स्व. अनुराधा पन्तका माइला छोरा तथा बुहारी बसन्तराज पन्त र रोशनी पन्तको सहयोगमा पिउने पानी टयाङ्की, पाइप र धारा निमार्ण गरेकोले पिउने पानीको समस्या समाधान भई सहज भएको छ । स्थानीयबासीको आर्थिक सहयोगमा त्यहाँसम्म पुग्ने कच्ची मोटरबाटो निमार्ण गरिएको भए तापनि अहिले बाटो जीर्ण भै गाडी जान सक्ने अवस्था छैन । अहिले जीर्ण भै गाडी जान नसक्ने बाटोमा नाली निमार्ण, ग्राभेल वा ढलान गर्न बजेट अभाव रहेकोले त्यसै छाडिएको अवस्था छ ।
जंगलभित्रको चराहरुको सुमधुर आवाज र मन्द हावाको प्रवाहले यो स्थान अत्यन्त रमणीय बन्न पुगेको छ । यो ठाँउमा भगवान राम र सीता वनबासको बेलामा केही समयको डाङसिङ्ग टापू एवं काला भैरव मन्दिरमा बास बसेका थिए भन्ने किम्मदन्ती रहेको छ । यहाँ प्रसिद्ध भैरवको मन्दिर रहेको र यसको केही पर सिद्ध भगवानको कोमल पाइला अकित ढुङ्गो रहेको छ । भगवानको एक पाइला प्रसिद्ध डहरेको लेकमा, दोस्रो यहाँ र तेस्रो हाडीकोटको जुरोमा रहेको र कसैकसैले यसलाई भिमसेनको पाइला भन्ने गरेको जनविश्वास पनि रहेको छ । यसैगरी यहाँ भिमसेनले फालेको ढुङ्गाको छेलो, परम्परागत धान कुट्ने ओखल भेटिएको छ । तीन तिरवाट खोलाले घेरेको पुन ः चारैतिर वनजगलले घेरेको यस रमणीय स्थलको अर्को विशेषता पहरोमा रहको गाईको थुन हो जसबाट दूध निस्कन्छ । यसैगरी त्यही नजिक राजाको ढुकुटी रहेको भनिने ओखलजस्तो गहिरो ढुङ्गाले बनेको प्वाल छ यो हेर्दा आश्चर्य लाग्ने र पत्याउनै गाह्रो ठाने पनि बूढापाकाका अनुसार त्यहाँ दरवार रहेको र परापूर्वकालमा भुरे टाकुरे राजा बस्ने गरेको, शतिmपिठको रुपमा मन्दिर बनाएको स्पष्ट हुन्छ । यहाँको भौगोलिक संरचनाको अध्ययन गर्दा पहिले राजाहरुले राज्य गर्नुमा तीन तिरबाट नदीले छेकेको र एकातिरमात्र सुरक्षित नाका बनाउन सहज स्थान भएकोले राजाहरु हिउँदमा बेसी र गर्मी मौसमी लेकमा बसेर शासन व्यवस्था सञ्चालन गर्नको लागि यहाँ आएर शासन गर्ने गरेको हुन सक्ने आधारहरु भेटिन्छन । परापुर्वकालमा यहाँ मन्दिर रहेको र दिउँसो मन्दिर भत्केको बुढापाकाहरुले बताउने गरेका छन । यहाँ पछि मन्दिर र सतल निर्माण गर्दा भेटिएको ताम्रपत्रबाट पनि यहाँ अन्य पुरातात्तिक बस्तुहरु रहेको अनुमान गर्न सकिन्छ । यी र यस्ता प्रमाणका आधारहरु स्पष्ट गर्न यस स्थलको गहन अध्ययन अनुसन्धान गर्न अति आवश्यक छ ।
डाङसिङ्ग क्षेत्रमा भैरवथान, सिद्धका पाइला, प्राचिन भग्नावशेष भुरे टाकुरे राजाको दरवार रहेका छन् । राजाको ढिकुटी, भिमसेनले फालेको ढुङ्गाको छेलो, गाईका थुनबाट तपतप निस्कने तरल पदार्थले समेत यस स्थानको गरिमा बढाएको छ । दूग्ध, कफी, लप्सी, सुन्तला र अलैचीका लागि लिमिठाना प्रख्यात रहेकोले यस क्षेत्रमा जिल्लाको अत्यन्तै मनमोहक र चित्ताकर्षक पर्यापर्यटनको गन्तव्यको रुपमा विकास गर्न सकिने अति सम्भावना रहेको छ । ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक विषयसंग जोडिएको यस क्षेत्रमा पाउ स्पर्श गर्दा मात्र यहाँको मनोरम वातावरण र प्राकृतिक दृश्यले मनुष्य जातिका सारा चिन्ता हरण गरी तनावबाट केही समय भएपनि मुक्ति प्राप्त हुने देखिन्छ । त्यसैले यहाँको जल, जडिबुटी, वनस्पति, कला, संस्कृति, पर्यापर्यटन, पुरातात्विक लगायत तीर्थस्थल आदि विविध पक्षको महत्वपूर्ण अध्ययन अनुसन्धान हुन जरुरी रहेको छ ।
कुनै क्षेत्रकोे भौगोलिक बिशिष्टता, सांस्कृतिक, धार्मिक मान्यता सम्भाब्यता, जनसहभागिता र राज्यको चासो भएमा मात्र त्यहाँको विकास सम्भव हुन्छ । यस क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय क्षेत्र बनाउन जरुरी छ । यहाँ भएका प्राकृतिक सम्पदाहरुको अध्ययन अनुसन्धान गरी भैरहेका बनस्पतिजन्य कच्चापदार्थहरुलाई सदुपयोग गर्न र पर्यापर्यटकहरुको विकास गर्नका लागि शिक्षा, यातायात, सञ्चार दृश्यावलोकन गर्ने ठाउँ, खान, बस्नको लागि होटेल तथा होमस्टेको सञ्चालन र व्यवस्थापन गरी मनोरञ्जन दिलाउने साधनको खोजी गरेमामात्र पर्यटकहरु आकर्षण गर्न सकिने देखिन्छ ।
यस स्थानको विकास र प्रचार प्रसार गर्न सकेको खण्डमा यो स्थान सौन्दर्यताको पक्षबाट मात्र नभै उपयुतm पिकनिक स्थल, साँस्कृतिक तथा धार्मिक पर्यटकहरुको लागि महत्वपूर्ण हुनसक्ने देखिन्छ । डाङसिङ्गलाई कुर्घा, देविस्थान, छिस्ती, जैदी र अर्जेवालाई अग्ला पूलहरुले जोड्ने, पुलको चक्रपथ बनाउने, यस स्थानबाट कुर्घा, लुंखु र पाङराङ्गको संगमस्थलमा रहेको चिसापानी कालिका मन्दिर हाल फलेबास नगरपालिकाको वडा नं. १०, ११ र महाशिला गाउँपालिकाको वडा नं. ५ मा पर्ने, अन्नपूर्ण र धौलागिरि हिमश्रृङ्खलाको मनोरमदृश्य तथा सूर्योदय र सूर्यास्तको सुन्दरता हेर्नका लागि केवलकार बनाउने, भ्युटावर बनाउने, सुविधा सम्पन्न जंगल रिसोटको स्थापना गर्ने, फायर क्याम्पिङ तथा पिकनिक स्थलका रुपमा विकास गर्न सकेको खण्डमा यो जंगलले ढाकिएको सुन्दर टापुमा जंगलमार्फत आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्नका लागि र वनभोजको लागि टाढा टाढाबाट मानिसहरुलाई आकर्षण गर्ने महत्वपूर्ण उपयुक्त स्थान बन्न जाने देखिन्छ ।
डाङसिङ्ग जस्ता महत्वपूर्ण क्षेत्रहरु वर्तमानमा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छन । यति धेरै सम्भावना बोकेको डाङसिङ्ग क्षेत्रको समयमामै प्रचारप्रसार गर्न सकेमा विकासमा साझेदारी बढाउन मानिसहरुको ध्यान केन्द्रित भई विभिन्न अध्ययन अनुसन्धान गर्न र विविध सम्भावनाको खोजी गर्न सहज हुनेछ । यस पवित्र र पौराणिक स्थलको महिमालाई प्रचार प्रसार गरी विश्वसामु परिचित गराउने कार्यमा वर्तमान पुस्ता चुक्ने हो भने भावी पुस्ताले हामीलाई धिक्कार्ने छन । एकातिर प्रकृतिले दिएका यस किसिमका सम्पदाहरुको प्रचार प्रसार र संरक्षणको अभावमा ओझेल पर्दै जाने छन् भने अर्कोतिर कृत्रिम पहाड बनाएर पर्यटन क्षेत्रको विकास गरी मुनाफा कमाई रहेका कतिपय राष्ट्रहरु आर्थिक रुपले सम्पन्न बन्दै गएका छन । यदि हामीहरुले पनि आर्थिक पक्षमा व्यापक सुधार गर्न र स्वरोजगार हुन, रोजगार सृजना गर्न सहज हुने देखिन्छ । कस्तूरीले आफ्नै नाभिमा रहेको विनाको वास्नाको खोजी गर्न भौंतारिए जस्तै हामी सुनको पहाडमाथि बसेर भिख मागिरहेका छौं । यस किसिमका महत्वपूर्ण सम्पदास्थलहरुलाई चिन्न नसक्दा विकासका दृष्टिले पछि परेका छौं । अनुपम विशेषताले भरिपूर्ण यस क्षेत्रलाई सम्पत्ति मानेर सांस्कृतिक, पर्यटकीय तथा आर्थिक विकास गर्न सकिने बलियो सम्भावना रहेको छ ।
यहाँको भैरव भवानी मन्दिर र यस क्षेत्रको महत्व बुझेर पर्यटकीय स्थलको रुपमा विकास गर्न सके सुनमा सुगन्ध हुने देखिन्छ । पर्यटकीय सम्भावना बोकेको यो क्षेत्रको संरक्षण एवं प्रचार प्रसार गर्नु सरकारी र स्थानीय स्तरबाट थप पहल गरी यस क्षेत्रको धार्मिक, सांस्कृतिक विकासका लागि अध्ययन र संरक्षण गर्ने तर्फ शीघ्र कदम चाल्नु पर्ने देखिन्छ ।