३६ वर्षदेखि कृषि कर्ममा रमेका कुँडुलेका टिकाराम सापकोटा

साधना पन्त, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेका टिकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताउनु भएको छ । ६५ वर्षका सापकोटाले अहिले पनि अधिकांश समय खेतबारीमै व्यतित गर्नुहुन्छ । विहानै उठेर तरकारी बारीमा नगए सम्म सापकोटाको मन मान्दैन । सापकोटा भन्नुहुन्छ– ‘चिनी भन्दा मिर्सी गुलियो, तर मिर्सी भन्दा पनि कृषि गुलियो । म कृषिको गुलियोमा भुलेको छु । यो कृषि पेसा जति गरे पनि धित नमर्ने कर्म रहेछ । ’

श्रीमती कौशिला सापकोटा संग २०४२ सालदेखि व्यावसायिक सोच सहित कृषि कर्ममा लाग्नुभएका सापकोटा अहिले कृषिबाटै लाखौ आम्दानी गर्न सफल हुनुभएको छ । अरुको जग्गा बन्दकी लिएर व्यावसायिक कृषी सुरु गर्नुभएका सापकोटाले अहिले आफ्नै ५ रोपनी जग्गामा खेतिपानी गरिराखेको बताउनुहुन्छ । ‘कृषि गरेरै ३ वटा छोरी र ४ छोरालाई पालन पोषण, पढाई देखि विदेश पठाउनका लागि कृषिबाटै भएको आम्दानी गरेको हुँ,’ उहाँले भन्नुभयो, ‘चार छोरालाई जापान पठाएको छु । अहिले उनीहरु पनि कमाउँछन् ।’ पहिले उनीहरुलाई १२ कक्षा सम्म पढाएर जापान आफैले कृषिबाट कमाएको पैसाले पठाएको सापकोटा बताउनुहुन्छ । आफुले कृषि गरेर जग्गा खरिद गरेको र अहिले त्यो जग्गालाई बेच्दा दुई करोड बढी पर्ने सापकोटाको भनाई छ ।

सुरुमा तरकारी खेती गर्न तरकारीलाई थाक्रा राख्न बास र डोरी किन्ने पैसा नभएर सन्जिबलको थाक्रा र चामलको बोराको डोरी बनाएर कृषि सुरु गरेको बिगत आफ्नो लागि स्मरणीय रहेको उहाँको भनाई छ । अहिले आफुले कृषिको बारेमा गाउँमा सबैलाई सिकाउने र बिरुवा बितरण समेत गरेको सापकोटाले बताउनुभयो ।

बागलुङ नगरपालिकाबाट ५० हजार अनुदान लिएर नेट हाउस बनाएर विभिन्न तरकारीको नर्सरी गर्नुभएका सापकोटाले त्यसबाट ४० हजारको बिरुवा बिक्री गरिसकेको बताउनुहन्छ । केही बिरुवाहरु गाउँका कृषक साथीहरुलाई निशुल्क समेत बाँडेको उहाँको भनाई छ । अहिले एकै सिजनमा ४० हजारको काक्रा, १३ सय बोटबाट ५० हजारको गोलभेँडा, बन्दा, काउली ५० हजारको बिक्री गरेको सापकोटा बताउनु हुन्छ । एक सिजनमा आफुलो ३ देखि ४ लाख सम्मको तरकारी उत्पादन गरेर बिक्री गर्न गरेको सापकोटा बताउनु हुन्छ । अहिले उहाँको खेतबारीमा करेलो, घिरौला, बोडी, काउली, बन्दा, टमटर, चिचिन्नो, फर्सी, काक्रो, खुसार्नी, भ्यान्टा, साज, केरा लगायत तरकारी फलफुल छन् ।

बागलुङ बजारको नजिक भएकाले तरकारी बेच्न बजारको समस्या नभएको सापकोटाको भनाई छ । तर तरकारी बेच्न समस्या नभए पनि बिचौलीयाको कारणले आफुले भने जति मुल्यमा तरकारी बिक्री गर्न नपाएको सापकोटाको गुनासो छ । दिनरात नभनी कृषि गरेर उत्पादन गरेको तरकारी सस्तोमा दिनुपर्दा कृषकहरु मारमा परिरहेको सापकोटा बताउनु हुन्छ ।

‘नेपालमा कृषि गर्ने मानिसहरुका लागी धेरै राम्रो सम्भावना र अवसर छ । नगरपालिकाले पनि कृषकलाई अनुदान समय समयमा दिएको छ,’ उहाँले भन्नुभयो,‘तरकारीको बजारको भाउ र कृषकले बेच्दा पर्ने मुल्यमा धेरै अन्तर पर्ने भएकाले यस विषयमा पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’

अब आफुलाई आवश्यक पैसा पुगे पनि कृषि कर्मको धित नमरेको उहाँ बताउनुहुन्छ । ‘छोराछोरी आफ्नो आफ्नो खुट्टामा उभिसकेका छन् । कृषिले मेरो जिवन परिवर्तन गरिदियो,’ उहाँले भन्नुभयो, ‘ अब समय मिले अन्य कृषकलाई कसरी कृषि गरेर सफल कृषक बन्न सकिन्छ भनेर सिकाउने योजना छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *