डम्मर बुढा मगर, बागलुङ
डालो आयो, डालो आयो ! मिलाएर राख्नुस् ल । यस्तै यस्तै आवाज सडक, टोलमा गुञ्जिन्छ । बागलुङ बजारको जिपपार्कमा यो आवाज सुने पछि धेरैको ध्यान केन्द्रित हुन्छ । दुई जना अर्धबैसें युवाहरु निकै ठूलो भारी बोकेर बजार वरपर हिँडिरहेको दृश्यले धेरैलाई आकर्षित ग¥यो ।
बागलुङको बडिगाड गाउँपालिका जलजलाका होमबहादुर थापा र थम्मन थापा । उनीहरु डालो (चोयाँबाट बुनेको सामग्री) को ठूलो भारी बोकेकै अवस्थामा थिए ।
३ सय डालो बिक्रीका लागि बोकेर बजार आएको उनीहरुले बताए । पहिले ठुलो–ठुलो डाला बजारमा ल्याउने गरेकोमा यसपटक भने साना डालोहरु मात्रै लिएर बजार आएको होमबहादुर बताउनुहुन्छ । बजारमा सानो डालोको माग बढेपछि साना आकारका डालो बिक्रीका लागि ल्याएको उहाँको भनाई छ ।
यसभन्दा अगाडि १६ माना, ३२ मानाका डालोहरु ल्याउने गरेकोमा यसपटक भने ४ माना र ८ माना जाने डालोहरु बजारमा ल्याएको होमबहादुरले बताउनुभयो । ‘यसरी डालो बुनेर बजारमा ल्याउने गरेको दशक बित्न थाल्यो । वर्षको दुई सिजन डालोहरु बजारमा बिक्री गर्न ल्याउने गरेका छौ,’ थापाले भन्नुभयो, ‘चोयाबाट बनेको डालो गाउँघरमा तौल क्षमता नाप्नका लागि प्रयोग गरिन्छ भने अन्नपात समेत राख्ने गरिन्छ ।’
केही वर्ष अगाडि सम्म निकै बिक्री हुने डालोहरु पछिल्लो समय यसको लोकप्रियता कम हुँदै गएको उनीहरुको भनाई छ । बजारमा नयाँ–नयाँ प्रबिधिका नापतौलका सामग्रीहरु आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको होम बहादुर बताउनुहुन्छ । परम्परागत नापतौल गर्ने तुलको रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएको उहाँ सुनाउनुहुन्छ ।
‘हामी सानो–सानो हुँदा केही अन्नपात किन्दा मानापाथीबाट तौलेनी गर्थे, अहिले त सबै किलोको हिसाब हुन थाल्यो, यसले गर्दा पनि होला गाउँ घरमा उत्पादन हने परम्परागत मानापाथीको प्रयोग हराउँदै गए’ थापाले भन्नुभयो ‘यही हिसाबले हेर्ने हो भने त हाम्रा सिपको प्रयोग हुने ठाउँ बिस्तारै लोप हुने हो कि भन्ने लाग्छ ।’
थापाले बाह्रै महिना यही डालो नाङ्लो बुन्ने काम मात्रै गर्नुहुन्न । उहाँले खेती किसानी पनि गर्नुहुन्छ । उहाँले डालो नाङ्लो फुर्सदको समयमा मात्रै बुन्ने गर्नुहुन्छ । पर्याप्त मात्रामा चोया भए दिनमा ५/७ वटा सम्म बुन्न सकिने उनीहरुको अनुभव छ । पछिल्लो समय कच्चा पर्दाथ समेत अभाव हुन थालेको उनीहरुको गुनासो छ ।
‘वर्षैभरी यही बुन्ने काम गर्ने हो भने त धेरै बनाइन्थ्योे होला, खेती पनि गर्नुप¥यो, घरको काम पनि, जसले गर्दा त्यति धेरै समय दिन सकिदैन, यो त बेला मौका पारेर बुनेको हो,’ थम्मन थापाले भन्नुभयो ‘आजभोली त पहिले–पहिलेको जस्तो चोया पनि प्रशस्त पाइँदैन, वनजंगल धाउनु पर्छ, चोया हुने हो भने दिनमा ५/७ वटा बन्नु सकिन्छ ।’
आफ्नो बाउ बाजेले बनेको देखेर आफूले पनि सिकेको भन्दै अहिलेका युवा पुस्ताले यस प्रति चासो नदखाएको उहाँले बताउनुभयो । आफूहरुको पुस्तापछि परम्परागत रुपमा बुनिँदै आएका डालो नाङ्लो लोप हुन सक्ने उहाँको भनाई छ । अहिले पनि गाउँका थोरै मान्छेले मात्रै बुन्ने गरेका छन् ।
‘हामी पछिका मान्छेहरुले त अब यस्ता बुन्ने कामहरु त गर्दैनन् होला, अहिले कसैले पनि सिक्ने चासो देखाउँदैनन्, हामीले त सानैदेखि डोको, नाङ्लो, पाथी, डालो बुन्न सिक्ने गरेका थियौँ’ थापाले भन्नुभयो ‘पछि–पछिका मान्छेले त यो डालो नाम्लो के हो भन्ने पनि चिन्दैन होला, त्यस बेला बुन्ने मान्छे कोही पनि हुन्न होला ।’
थापाले फुर्सदको समयमा डालो बुनेर बेचे पनि वर्षमा डेढ दुई लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ । धेरै समय दिन नसके पनि फुर्सदको समयलाई सदुपयोग गरेर थापाले डालो नाङ्लो बुन्ने गरेको बताउनुहुन्छ । यसबाट आफुले आफुनो घर खर्च चलेको र बालबच्चाको लालनपालन र पठनपाठनमा सहज भएको बताउनुहुन्छ । थापाको घरमा छोराछोरी र एक श्रीमती छन् ।
‘उही केही गर्न सकिएन, धेरै पढ्न पनि पढिएन, गाउँमा बस्यो खेती किसानी ग¥यो, यही डालो नाङ्लो बनेर केहीलेकाही बेच्ने गरेको छु, यहीबाट घर खर्च चलेको छ,’ उहाँले भन्नुभयो ‘व्यवसायीक रुपमा गरेको भए राम्रो हुन्थ्यो होला, त्यसरी व्यवस्थित गर्न पनि सकिएन ।’
थापाले पालिकाहरुले परम्परागत कलालाई संरक्षण गर्न सके आफूहरुले सिकेको सिप लोप नहुने बताउनुहुन्छ । उहाँले गाउँमा बुढापाकाहरुले बुन्न छोडेको र युवा पुस्तामा चासो नहुँदा यस्ता सिपहरु संरक्षण गर्न गाह्रो भएको उहाँको भनाई छ । उहाँले सिप भएपछि मान्छे भोकै र नाङ्गै बस्न नपर्ने भन्दै नयाँ पुस्तालाई सिप सिक्न समेत आग्रह गर्नु हुन्छ ।