सर्वत्र सेतो पुतली, गुम्ला है आँखाको ज्योती !

डम्मर बुढा मगर, बागलुङ
कोरोनाको दोस्रो लहरको संक्रमण कम हुँदै जाँदा बागलुङमा सेतो पुतलीको प्रकोप बढ्न थालेको छ । पश्चिम बुर्तिबाङ क्षेत्र, गलकोट, बागलुङ बजार र आसपासका गाउँमा रातीको समयमा सेतो पुतली धेरै देखिने गरेको र यसले छुँदा संक्रमण भएर उपचारमा सास्ती खेप्न बाध्य हुने गरेका छन् ।

गलकोट नगरपालिका वडा नम्बर ४ का पूर्णा सुनार सेतो पुतलीका कारण आँखामा जटिल समस्या देखिन थालेपछि पोखरामा उपचाररत हुनुहुन्छ । पूर्णाका श्रीमान हरी सुनारले सेतो पुतली निकै विषालु भएकाले यसबाट जोगिनुपर्नेमा जोड दिनुहुन्छ ।

‘सेतो पुतलीको शरीरबाट निस्केको धुलो मानिसको आँखामा परे दृष्टि समेत गुम्न सक्दोरहेछ, आँखा रातो हुने, आँखा तथा टाउको दुख्ने, उज्यालोमा हेर्न कठिन हुने, आँखामा पिप जम्मा हुने जस्ता लक्षण श्रीमतीमा देखा परेको थियो,’ उहाँले भन्नुभयो, ‘सेतो पुतलीका कारण आँखामा समस्या आएकाले केही दिनदेखि पोखराको घारीपाटन स्थित हिमालय आँखा अस्पतालमा उपचार गराइरहेको छु, आँखा संवेदनशील भएकाले समयमै होशियारी अपनाउन जरुरी छ ।’

बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा पनि सेतो पुतलीको प्रकोप बढ्न थालेको स्थानीय बुद्धिविनायक कार्कीले जानकारी दिनुभयो । उहाँले पछिल्लो केही दिन यता गाउँपमा सेतो पुतली निकै देखिन थालेको बताउनुभयो । कार्कीले घरको भित्ता र सिएफल ब्लब (विद्युतको सेतो चिम)मा निकै देखिएको उहाँको भनाई छ ।

‘सिगानामा सेतो पुतली निकै देखिन थालेको छ, यो धेरै मात्रा सिएफल ब्लब अर्थात सेतो ब्लबमा निकै देखिन्छ’ उहाँले भन्नुभयो ‘यो देखिन थालेमा रातो ब्लब बाल्ने घरमा बाहिरको ब्लब नबाल्ने र मान्छे नबस्ने घरमा ब्लब बाल्ने हो भने त्यही ठाउँमा बढी देखिने गरेको छ ।’

बुर्तिबाङ पछिल्लो केही दिन यता दैनिक आधा दर्जनको संख्यामा आँखाको समस्या सम्बन्धी बिरामी आउने गरेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका प्रमुख डाक्टर मिलन मल्लले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा आउने बिरामीमा ठूलो समस्या नभए पनि आँखामा सामान्य समस्या भएका बिरामीहरु बढ्न थालेको डाक्टर मल्ल बताउनुहुन्छ । चिलाउने, आँखा दुख्ने, उज्यालोमा हेर्न नमिल्ने जस्ता समस्या लिएर बिरामी आउने गरेको डा.मल्लको भनाई छ ।

‘दैनिक ५/७ जना बरामी आउने गर्नु भएको छ, उहाँहरुमा आँखा दुख्ने, चिलाउने र उज्यालोमा राम्रोसँग हेर्न नमिल्ने समस्या देखिएको छ, ठूलै समस्या भएका बिरामी भने आउनु भएको छैन,’ डाक्टर मल्लले भन्नुभयो ‘आउने बिरामीहरुलाई हामीले आवश्यक औषधी र परामर्श दिएर पठाएका छौँ ।’

डाक्टर मल्लले सेतो पुतलीको कारण आँखामा सामान्य असरदेखि दृष्टिनै गुम्ने खतरा हुने बताउनुभयो । साँझपख आँखा नदेखिने, आँखा चिलाउने, रातो हुने, उज्यालोमा हेर्न नसकिने, आँखाको भित्री भागसम्म पुग्यो भने आँखाको ज्योती गुम्न सक्ने खतरा हुने डाक्टर मल्लको भनाई छ ।

यसबाट बच्नका लागि पुतलीसँग नखेल्ने, टाढा हुने, धेरै बत्ति नबाल्ने, झ्याल ढोका बन्द गर्ने, पुतली छोएको छ भने साबुन पानीले हात हुने, चस्माको प्रयोग गर्ने र समस्या आउँदा साथ स्वास्थ्य संस्थामा जान डाक्टर मल्लको सुझाव छ ।

गाउँ–गाउँमा यो पुतलीको प्रकोप बढे पनि धौलागिरी अस्पतालमा भने बिरामी कम आएको पाइएको छ । गलकोट, बुर्तिबाङ र बागलुङ नरपालिकाका ग्रामीण क्षेत्रमा यसको प्रकोप बढी देखिएको स्थानीयले बताएका छन् ।

आँखाको समस्या लिएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीहरु आए पनि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र धौलागिरी अस्पताल बागलुङमा भने यसबाट प्रभावित भनेका बिरामी भने नआएको धौलागिरी अस्पतालका सूचना अधिकारी नवराज पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *