टोल टोलमा पुग्ने योजना बनाउदै बागलुङ एमाले

आदर्श अनलाइन, बागलुङ
पार्टीमा देखिएको समस्याका विषयमा कार्यकर्ता र जनतालाई जानकारी गराउदै एकतावद्ध एमाले निर्माणका लागि नेकपा एमाले बागलुङ टोल टोलसम्म पुग्ने योजना निर्माणमा जुटेको छ । जिल्लामा फुटको प्रभाव कम भन्दा कम पर्ने गरी योजना निर्माण गरी अभियान सञ्चालनको तयारीमा लागेको एमालेले भदौ ३१ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

भेलाको निर्देशन अनुसार असोज १ गते बस्ने जिल्ला कमिटिको बैठकले जिल्ला व्यापी कार्यक्रम तय गरी जिम्मेवारी समेत तोकेर टोल टोलमा पुग्ने योजना बनाउने एमाले बागलुङका उपसचिव विष्णु भुषालले जानकारी दिनुभयो । यतिबेला हामी योजना निर्माणको तयारीमा छौ, जिल्ला भेला र जिल्ला कमिटिको वैठक पछि सिंंगो एमाले पंक्ति टोल टोलसम्म पुगेर पार्टी र जनसंगठनका भेला, वैठक, अधिवेशन गछौ, भुषालले भन्नुभयो–‘एमाले कमजोर भएको छैन भन्ने सन्देश दिन र पार्टीलाई थप शसक्त बनाउन पार्टीको सम्पूर्ण पंंक्ति सक्रिय भएर लाग्छौ ।’

सोमबार सम्पन्न जिल्ला सचिवालय वैठकले १० बुदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एक ढिक्का बनाउने, ३१ गतेको अगुवा कार्यकर्ता भेलामा बढी भन्दा बढी नेता कार्यकर्तालाई सहभागिता गराउने लगायतका निर्णय गरेको छ ।

पार्टीमा देखिएको समस्यापछि पहिलो पटक हुन लागेको जिल्ला भेलालाई सन्देश प्रवाहका रुपमा देखाउने गरी एमालेको सम्पूर्ण पंक्ति परिचालन गरिने नेताहरुले बताएका छन् ।

पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवम प्रदेश सचिव गोविन्द बहादुर नेपाली र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मना केसीको आतिथ्यतामा सम्पन्न वैठकले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाका लागि जिम्मेवारी समेत तोकेको छ ।

१० वटै पालिकाका अगुवा कार्यकर्तालाई भेलामा सहभागिता गराउनका लागि संयोजन गर्न बागलुङ नगरपालिकामा इन्चार्ज केसी, अध्यक्ष सापकोटा, प्रदेश कमिटि सदस्य गीता शर्मा, काठेखोला गाउँपालिकामा प्रदेश कमिटि सदस्य हिरा बहादुर केसी, सचिवालय सदस्यहरु डिल्लीराज गौतम र हुमा कुमारी जिसी (अञ्जु), जैमिनी नगरपालिकामा सचिवालय सदस्य सावित्रा राना, बरेङ गाउँपालिका र निसीखोला गाउँपालिकामा उपाध्यक्ष कृष्ण पाठक, ताराखोला गाउँपालिकामा इन्चार्ज केसी र जिल्ला सदस्य सञ्जय श्रेष्ठ, गलकोट नगरपालिकामा प्रदेश कमिटि सदस्य हिरा बहादुर केसी र जिल्ला सदस्य डम्बर श्रीस, बडिगाड गाउँपालिकामा प्रदेश कमिटि सदस्य सुनिल शेरचन र उपसचिव विष्णु भुषाल तथा ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा विष्णु भुषाललाई जिम्मेवारी दिइएको छ ।

सम्बन्धित भुगोलमा रहने जिल्ला कमिटिका सदस्यहरु, जनसंगठनका पदाधिकारी तथा सदस्यहरुले आ–आफ्नो भुगोलबाट अगुवा कार्यकर्ताहरुलाई कार्यक्रममा सहभागी गराउने जिम्मेवारी दिइएको उपसचिव भुषालले जानकारी दिनुभयो ।

पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने अगुवा कार्यकर्ता भेलाको हल मञ्च व्यवस्थापनका लागि पार्टीका सचिवालय सदस्यहरु धन बहादुर परियार र गणेश थापा, विद्यार्थी र युवाको तर्फबाट शेखर खड्का, शिव शर्मा र रेशम घर्तिलाई तथा अतिथि सत्कारका लागि जिल्ला सचिवालय सदस्य हुमा कुमारी जिसी (अञ्जु) लाई जिम्मेवारी दिइएको छ ।

जिल्ला भेलामा केन्द्रीय कमिटिका सदस्यहरु, केन्द्रीय विभाग र निकायका सदस्यहरु, प्रदेश कमिटिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटि, गाउँपालिका तथा नगरपालिका कमिटि, वटा कमिटिका पदाधिकारी तथा सदस्यहरु, जनसंगठनका केन्द्र, प्रदेश र जिल्ला तथा नगरपालिका र गाउँपालिका कमिटिका पदाधिकारी तथा सदस्यहरु, एमालेबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुको सहभागिता रहने भएको छ । पार्टीका सबै तहको जिम्मेवारीमा रहेका १ हजार भन्दा बढी नेता कार्यकर्ताहरुको भेलामा सहभागिता रहने एमालेले जनाएको छ ।

पार्टीमा देखिएको फुटको अवस्थालाई मध्यनजर गरेर आम एमाले नेता कार्यकर्तालाई फुटको पक्षमा नलाग्न, पार्टीमा देखिएका समस्याहरुलाई कमिटिगत रुपमा छलफल गरी समाधान गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल पार्न एमालेलाई सशक्त र एकतावद्ध बनाउन भेलाले आव्हान गर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *