ताराखोला, बन्दिपुर र धुर्कोट गाउँपालिका बीच ‘भगिनी’ सम्बन्ध

आदर्श अनलाइन, बागलुङ

जिल्लाको ताराखोला गाउँपालिकाले तनहुँको बन्दिपुर र प्रदेश नम्बर ५ को गुल्मी स्थित धुर्कोट गाउँपालिकासंग भगिनी अर्थात मितेरी सम्बन्ध कायम गरेको छ ।

तीन गाउँपालिका बीच मितेर साइनो गासिए पछि अब कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा सहकार्य र अनुभव आदान प्रदान गरिने भएको छ ।

एक अर्काको सकरात्मक काम, अभ्यास र अनुभव आदान प्रदान गरेर गाउँपालिकालाई थप गतिशिल बनाउनका लागि पर्यटकीय क्षेत्रको रुपमा स्थापित बन्दिपुर गाउँपालिका र गुल्मीको धुर्कोट गाउँपालिकासंग भगिनी सम्बन्ध कायम गरिएको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताए ।

ताराखोला गाउँपालिका अध्यक्ष घर्ति, बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा र धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले साझा पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध स्थापित भएको घोषणा गरेका थिए ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले गाउँपालिका तहका बीचमा यस किसिमको कदम सम्भवतः देशमै पहिलो पटक भएको बताए । महानगर, उपमहानगर बीच यस्तो अभ्यास केही अघिदेखि शुरु भए पनि गाउँपालिका तहमा यो नविनतम कार्य भएको उनको भनाई थियो । गाउँपालिकाले एक आपसका समस्या र सम्भावनाका बारेमा छलफल, अनुभव आदान प्रदान गरेर सुखी नेपाली, समृद्ध नेपाल बनाउने सपना पुरा गर्न भगिनी सम्बन्धले सहयोग पुग्ने बिश्वास व्यक्त गरे । ‘जनताको सिधा समस्या र गुनासो सुन्ने स्थानीय सरकारले हो,’ मन्त्री लम्सालले भने,‘त्यो काम गर्न स्थानीय सरकार प्रयासरत छ, प्रदेशले समन्वय र सहयोग गरिरहेको छ । जनताले अनुभूति हुने गरि काम गर्नका लागि अन्तर गाउँपालिकाबीचको यस किसिमको अभ्यासले मद्धत गर्न सक्छ ।’

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले भगिनी सम्बन्धले तीन पालिकामा भएको अनुभव, सिप, उत्पादन आदान प्रदान गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *