सहकारी मार्फत दूध बेचेरै बागलुङका किसानले कमाए पाँच करोड


–खेमराज गौतम, बागलुङ

सहकारी मार्फत दूधको बजारीकरण गरी यहाँका दुई पालिकाका किसानहरुले एक वर्षमा रु. पाँच करोड रकम भित्राएका छन् ।

जिल्लाको बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ वटा दूग्ध सहकारीमा आवद्ध किसानहरुले आर्थिक वर्ष २०७७÷७८ मा दूध बिक्रि गरेर पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन् । सहकारीमार्फत संकलन, प्रशोधन र बजारीकरण गर्दा यहाँका किसानहरुले दिर्घकालिन रुपमा नै आम्दानी गर्न सफल भएका हुन् । दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला गाउँपालिका–६ स्थित नमूना दूग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष तथा अगुवा कृषक बालानन्द कँडेलले बताउनुभयो ।

१४ वटा सहकारीमा किसानले ल्याएको दूधलाई पुन एकमुष्ट संकलन, प्रशोधन तथा बजारीकरणको काम गर्दै आएको बागलुङ बजार स्थित बागलुङ दूग्ध उत्पादक सहकारी संघले एक आर्थिक वर्षमा मात्रै किसानबाट पाँच करोड बढीको दूध खरिद गरेर विक्रि वितरण गरेको सहकारीका अध्यक्ष दिपक गौतमले बताउनुभयो । “किसानहरुले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुँने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्न पर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानहरुले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो” अध्यक्ष गौतमले भन्नुभयो “किसान विचौलियाको मारमा समेत पर्नाले धरासायी बन्ने अवस्थाको अन्त्य गर्न सहकारी मार्फत दूध संकलन गरी सहकारीलेनै घर घरमा दूध पु¥याउने कार्य गर्दै आएको छ, अहिले सहकारीले किसानबाट संकलन गरेको दूई हजार पाँच सय लिटर दूध दैनिक विक्रि भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरु रकम किसानलाई दिदा किसानलाई दूग्ध व्यवसायप्रति उत्साह आएको छ ।”

दूधलाई एकत्रित गर्ने ताजा दूध विक्रि गर्ने, विक्रि गरेर बचेको दूधको दूधजन्यपदार्थहरु जस्तै घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर लगायतका काम गर्दै आएको अध्यक्ष गौतमले बताउनुभयो । गौतमका अनुसार सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै किसानलाई पाँच करोड बढी दूध खरिद वापतको रकम भुक्तानी दिएको र सहकारी संघले समेत ६० लाख खुद बचत गर्न सफल भएको छ ।
काठमाण्डौ निर्यात हुन्छ बागलुङको छुर्पी
बागलुङ दूग्ध उत्पादक सहकारी संघमा झण्डै एक हजार पाँच सय किसानहरुले धेरै थोरै दूध बजारीकरणका लागि पठाउछन् । संघले दूध सहित ९ प्रकारका दूग्धजन्य परिकारहरु बिक्रि तथा वितरण समेत गर्दै आएको छ ।

जसमध्ये काठमाण्डौं निर्यात हुने उत्पादन छुर्पी रहेको दूग्ध सहकारीका प्रबन्धक बैकुण्ठ प्रसाद शर्माले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा मात्रै रु.२९ लाख ५५ हजारको दूधबाट बनेको परिकार छुर्पी बिक्रि गरेको र अधिकाँश छुर्पी काठमाण्डौ निर्यात हुँने उहाँको भनाई छ । सहकारीले गत आर्थिक वर्षमा ४८ लाख ६६ हजारको दही, २० लाख ४४ हजारको घ्यू, २९ लाख १२ हजारको पनिर, एक लाख ८६ हजारको नौनी, एक लाख ९९ हजारको खुवा र ८ हजार ५६८ को लस्सी विक्रि गरेको छ । आफ्ना उत्पादनहरुलाई बढाउदै लैजाने र यस वर्ष ५० लाखको छुर्पी निर्यात गरी बागलुङलाई गुणस्तरीय छुर्पी उत्पादन हुँने जिल्लाको रुपमा परिचय दिने सहकारी संघको योजना रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

अहिले छुर्पीलाई सहकारी संघले प्रति केजी एक हजार २०० मा विक्रि गर्दै आएको छ । सहकारीमा आवद्ध किसानहरुले सहकारीमा आवद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मुल्यमा समानता र बजारको सुनिश्चिता भएको बताएका छन् । सहकारी संघमा १५ जना कर्मचारीहरुले संकलन भएको दूध बागलुङ बजारका घर घरमै लगेर विक्रि गरेर सेवा प्रदान गर्दै आएका छन् । सहकारीको उपयुक्त मोडेलको रुपमा दूग्ध सहकारी विकास भएको र बागलुङ दुग्ध उत्पादक सहकारी संघ देशकै नमुना दुग्ध उत्पादक सहकारी संघका रुपमा स्थापित रहेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता राम बहादुर जिसीले जानकारी दिनुभयो ।

कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले संकलन गर्ने र सहकारी संघले दुध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ विक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको जिसीको भनाइ छ । दैनिक १५ सय जना कृषकले आयआर्जन गर्ने अवस्था दुग्ध सहकारी संघले गरेको छ, यसलाई थप व्यवस्थित गराउन सरोकारवालाहरुले ध्यान दिनु पर्छ, जिसीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *