एम्बुलेन्स चालकलाई अस्पतालको भोज: एक बिरामी,सात हजार कमिसन

आदर्श अनलाइन, काठमाण्डौं

काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्स चालकलाई सात हजार कमिसन दिने घोषणा गरेको छ ।

बुधबार चितवनका करिब ३५ एम्बुलेन्सचालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पनि वितरण गरिएको छ ।

भरतपुर–१० सप्तगण्डकी रोडमा रहेको न्यु पिस फेमिली कटेज रेस्टुरेन्ट एन्ड लजमा बुधबार एम्बुलेन्सचालकको भेला गरिएको हो । उपस्थितमध्ये दुई एम्बुलेन्सचालक बुटवलबाट आएका थिए भने बाँकी चितवनकै हुन् । नेपाल नेसनल हस्पिटल कलंकीका बिजनेस डेभलपमेन्ट अफिसर समीर शर्मा अस्पतालको अफर लिएर सो कटेजमा पुगेका थिए । उनले एम्बुलेन्स मगाउने आफन्तलाई प्रभावित गरेर बिरामीलाई आफ्नो अस्पतालमा ल्याइदिन चालकहरूलाई आग्रह गरेका थिए । जुनसुकै रोगको बिरामी भए पनि आफ्नै अस्पतालमा ल्याइदिन उनको जोड थियो ।

स्वतन्त्र रूपमा अस्पताल छान्न पाउने बिरामी र आफन्तको अधिकार कुण्ठित गर्न यस्तो भेला आयोजना गरिएकोमा चितवन प्रहरीको पनि ध्यानाकर्षण भएको छ । ‘काठमाडौंको कलंकी चोकमा रहेको नेपाल नेसनल हस्पिटलका प्रतिनिधिको उपस्थितिमा एम्बुलेन्सचालक भेला भएका रहेछन्, एकजना बिरामी अस्पताल पुर्‍याएबापत सात हजार रुपैयाँ कमिसन चालकलाई दिने प्रतिबद्धता अस्पतालका प्रतिनिधिले व्यक्त गरेछन्,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले भने, ‘यो चरम विकृति हो, तर समयमै जानकारी नभएकाले उनीहरूलाई पक्राउ गर्न सकिएन ।’ बिरामी र आफन्तलाई शोषण गर्ने यस्तो विकृतिलाई सहन नसकिने उनले बताए । ‘यो गैरकानुनी काम हो, हामी छानबिन गर्छौँ, दोषीमाथि कारबाही गर्छौँ,’ एसपी मल्लले भने ।

चितवन एम्बुलेन्सचालक समितिका सचिव सुवास तामाङले पनि एम्बुलेन्सचालकहरू भेला भएको स्विकारे । तर, बिरामी ‘किनबेच’को विषयमा छलफल नभएको उनको दाबी छ । -नयाँ पत्रिका दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *