डा.केसी, अनशन र अपेक्षा

सम्पादकीय
डा.गोविन्द केसी र अनशन पर्यावाची जस्तै बनिसकेका छन् । डडेल्धुरामा १७ औं चरणको अनशनमा बसिरहेका डा.गोविन्द केसीले अन्ततः बुधवार अनशन तोडे । स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र यस समयमा नेपालको भारतद्धारा सीमा अतिक्रमणको बहस तिव्र बन्दै गएपछि केसीले संवेदनशिलता र लचिलोपना अपनाएर अनशन छोडेका छन् । यसअघि सरकारले अप्रिय अवस्था नआओस् भन्नका खातिर आइतवार नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लैजाने प्रयत्नलाई केसीले अस्वीकार गर्नुभएको थियो । डा.केसीलाई काठमाडौं लैजानका लागि डडेल्धुरा पुगेको हेलिकोप्टर रित्तै फर्किएको थियो । केसीलाई जबर्जस्ती काठमाडौं लान थालेपछि स्थानीयले सरकारसँग सहमति भएर माग पूरा नभएसम्म काठमाडौं लैजान नदिने भन्दै विरोध जनाएका थिए ।

चिकित्सा शिक्षा सुधार डा.केसीको माग हो । केसीको पहिलो अनशन २०६९ असार २१ देखि २४ गते सम्म भएको थियो । जुन अनशनको माग वरिष्ठताका आधारमा आइओएमको डीन नियुक्ति गरिनुपर्ने थियो । र आन्दोनलको बलमा सहमति भएर वरिष्ठताका आधारमा डा. कुमुदकुमार काफ्ले डीन नियुक्त हुनुभयो । डा. काफ्लेले डीन भएको एक महिनामै उमेरका कारण अवकास पाए । त्रिविले पुनः वरिष्ठता अनुसार डीन नियुक्तिमा आलटाल गरेपछि डा.केसीले दोस्रो पटक सोही माग राखी आमरण अनशन बस्ने घोषणा गर्नुभयो । र ०६९ साउन २७ देखि भदौ १ गते सम्म अनशन बस्नु भो । फेरी वरिष्ठताका आधारमा डा. प्रकाश सायमी डीन नियुक्त हुनु भयो । तेस्रो अनशन २०७० पुस २७ देखि माघ १० सम्म बस्नुभयो । जसमा राजनीतिक भागवण्डामा नियुक्त भएका डीन डा. शशि शर्मालाई बर्खास्त गरी वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्ने लगायतका माग थिए । यस्ता अनेक माग, अनशन र सहमतिको श्रृखंला निरन्तर चलिरहे । यस अवधिमा कैयन सरकार, मन्त्री फेरिए । सरकार कहिले कांग्रेसको बन्यो, कहिले कम्युनिष्टको । तर, अनशन बसिरहनु पर्ने बिडम्बना भने निरन्तर आइरह्यो । यसले के प्रष्ट पार्दछ भने सरकार कांग्रेस या कम्युनिष्ट भएर ठुलो अन्तर देखिएन, फरक त्यसले पार्दछ जो र जसले साँच्चिकै असल नियतका साथ यो क्षेत्रमा आमुल परिवर्तन गर्ने इच्छा शक्ति राख्छ ।

डा.केसीको आन्दोलनका सन्दर्भमा पक्ष र बिपक्षमा आजको दिनमा पनि नागरिक बिभाजित छन् । सत्तापक्ष हुँदा र बिपक्षीमा हुँदाको तर्कना त फरक भइहाल्ने भो । तर, त्यस इतरका नागरिककाका पनि डा.केसी र अनशनका बारेमा फरक फरक तर्क र दम छ । एकथरी डा.केसी इमानका साथ आफ्ना सारा स्वार्थ त्यागेर चिकित्सा शिक्षाका लागि ज्यान उत्सर्ग गर्न पनि तयार छन् । र सरकार आँफैले गर्नुपर्ने काममा अनशन बस्नुपर्ने अवस्था र बिडम्बना कति उदेक लाग्दो बिषय छ । अर्कोथरिको मत छः एउटा व्यक्ति अनशन बसेकै आधारमा सहमति गर्दै जाने हो भने त्यसले मुलुकमा कस्तो नजिर स्थापित गर्छ ? के डा.केसीको आन्दोलनमा असली नियत छ ? या उहाँ कतैबाट परिचालित भइरहनुभएको छ ? यसमा सरकारले गम्भिरताका साथ लिएर प्रष्ट पार्न सक्नुपर्छ । डा.केसीको मागका हिसावले उहाँको इमान, त्याग र समर्पणले सरकारलाई सहयोग नै गर्छ । यदी यसो होइन र सम्भव छैन भने के कति कारण माग सम्बोधन सम्भव र सहज छैन । त्यसमा नागरिकलाई समेत चित्त बुझ्ने गरि जवाफ दिनुपर्छ । र यो अन्तहिन यात्रा जस्तो बन्दै गएको अनशन बस्ने र बस्नुपर्ने अवस्था सदाका लागि अन्त्य गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *