युरिक एसिड बढेर हुने वातरक्त र यसबाट बच्ने उपायहरु:

-डा. सरोज कुमार राय
धौलागिरी आयुर्वेद औषधालय      

हाम्रो शरीरमा युरिक एसिड बढेर गाउटी आर्थ्राइटिसको उत्पति हुन्छ | युरिक एसिड हाम्रो शरीरमा प्रोटिनको पाचन भएपछि, उत्त्पन्न हुने विकारयुक्त पदार्थ हो | यो सामान्यतया पिसाबको माध्यमबाट शरीर बाहिर निस्कन्छ |

शरीरमा युरिक एसिडको मात्रा कति छ भनेर थाहा पाउनको लागी रगतको जांच गर्नुपर्दछ | रगतमा युरिक एसिडको मात्रा पुरुषमा २-७ mg/dl र महिलामा २-६ mg/dl लाई सामान्य भनिन्छ |सामान्यभन्दा बढी युरिक एसिड भएमा यस्तो अवस्थालाई हाइपरयुरिसेमिया भनिन्छ |

शरीरमा युरिक एसिड बढ्नुको कारण ?

लामो समयसम्म उच्च रक्तचाप, क्षयरोगको औषधी सेवन गर्ने, शरीरमा कोषहरू बढी बन्ने रोग जस्तै क्यान्सर भएका बिरामी, पुरुषहरुमा उमेर बढ्दै जाँदा, जाँडरक्सी, धेरै प्रोटिनयुक्त खाना खादा रगतमा युरिक एसिड बढ्ने सम्भावना रहन्छ |

९५% बिरामीहरुमा युरिक एसिड बढ्ने कुनै कारणहरु देखिदैन |

लक्षणहरु:

सामान्यतया कुनै समस्या नभएको मानिसमा बिहान उठ्दा बुढीऔलाको फेदमा अत्याधिक दुख्ने, सुन्निने, कक्रक पर्ने, हिड्न, बस्न, उठ्न, गार्हो हुने भएमा युरिक एसिड बढेको संकेत गर्दछ |

रगतमा युरिक एसिडको मात्रा बढ्दै जाँदा यो खुट्टाको बुढीऔंला वरपर र पछि अन्य भागमा पनि जम्मा भएर एक्कासी दुख्ने, सुन्निने, रातो हुने हुन जान्छ | यसलाई नै युरिक एसिडको बाथ वा वातरक्त(गाउटी आर्थ्राइटिस) पनि भनिन्छ | युरिक एसिड बढ्दैमा  सबैलाई भने यो बाथ हुँदैन |

रोग छिप्पिदै जाँदा यसले जोर्नी बिग्रने, युरिक एसिडका डल्लाहरू ठाउँ ठाउँमा जम्ने, मृगौलामा पत्थरी हुने र मृगौला समेत बिग्रने हुनसक्छ |

उपचार तथा यसबाट बच्ने उपायहरु:

  • सबैभन्दा पहिला चिकित्सकसंग परामर्श गरि रगतको जांच गरेर युरिक एसिडको लेभल पत्ता लगाउने र बढी भएमा युरिक एसिड नियन्त्रणका उपायहरु अपनाउनु पर्दछ | रोगको प्रकोप अनुसार औषधी संगै नियमित  योगाभ्यास, आहार बिहारको सेवन गर्दै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ |
  • युरिक एसिडको समस्या भैसकेपछि धेरैजसो बिरामीले अत्याधिक मात्रामा खानपानमा बन्देज गरको पाइन्छ | यसरी सबैजसो खानेकुरा बन्देज गर्न जरुरी छैन, बन्देज गर्दा शरीरलाई चाहिने पौष्टिक तत्वमा कमी भई थप समस्या उत्पन्न हुन सक्दछ | बिशेष गरि माछा, रातो मासु, कलेजो, खसीको आन्द्राभुँडी, गेडागुडी, रक्सी तथा रक्सीजन्य पदार्थहरु पूर्णरुपमा खानु हुदैन |
  • तेलमा तारेको खानेकुरा कम खानुपर्दछ |
  • कोल्ड ड्रिंक्सको सेवन घटाउनु पर्दछ |
  • काल्सियमयुक्त खानाको सेवन बढाउनु पर्दछ | केरा, आलु, दुध, दही, स्ट्रबेरी, कागती आदिको सेवन फाइदाजनक हुन्छ |
  • युरिक एसिड मृगौलाबाट फिल्टर भएर पिसाबसंगै निस्कने हुँदा प्रशस्त पानी तथा झोलपदार्थ खानुपर्दछ | यसो गर्दा रगतबाट बढी भन्दा बढी युरिक एसिड बाहिर निस्कन्छ | यसले रगतमा युरिक एसिडको मात्रा कम हुन्छ |  
  • नियमित योगाभ्यास वा व्यायाम गरि शारीरिक तौल नियन्त्रण गर्नुपर्दछ |

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *