सुशासनका लागि संविधानको सही कार्यान्वयन जरुरी: मुख्यमन्त्री पोखरेल

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधान राज्य व्यवस्था सञ्चालन गर्ने साधन मात्र होइन साध्य बन्न सक्नुपर्ने बताउनुभएको छ  ।

संविधान दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले त्यसो भएमा मात्र संवैैधानिक शासनमार्फत् राजनीतिक स्थिरता कायम हुन सक्ने बताउनुभयो ।

‘संविधान दिवसको यस अवसरमा देशको राजनीतिक प्रणालीलाई दिशा निर्देश गर्ने काममा सफलता मिलोस् भन्ने कामना गर्दछु ।’ राजनीतिक स्थिरताका लागि सरकार, राजनीतिक दल, नागरिक समाज लगायत सबै जनतामा संविधानप्रति अपनत्व र आस्था बृद्धि गराउँदै यसप्रतिको स्वीकार्यतालाई अझ बढाउँदै लैजानु आजको आवस्यकता हो’, सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, ‘संविधानको सही कार्यान्वयन बिना सुशासन कायम हुन सक्दैन । त्यसैले संविधानलाई सुशासनको वाहक बनाउन कानुनी शासन र संविधानवाद् मार्फत् संविधानको व्यावहारिक कार्यान्वयनप्रति सबै प्रतिबद्ध बन्न म आग्रह गर्दछु ।’

संविधान कार्यान्वयनका सन्दर्भमा राज्यका ३ वटै अंगप्रति केही प्रश्न अवश्य उठेको भन्दै उहाँले  सरकार गठन सन्दर्भ र संसदको विघटन सम्बन्धमा केही समय नेपालको राजनीतिक प्रक्रिया प्रभावित भएको बताउनुभएको छ । ‘सम्मानित सर्वोच्च अदालतको फैसलापछि त्यसले आफ्नो मार्ग समातेको छ । आगामी दिनहरुमा अब यस्ता बिबाद सिर्जना नगरी देश र नागरिकलाई केन्द्रमा राख्न राजनीतिक दलहरुले प्रतिबद्धता जनाउन जरुरी छ ।’

लामो संघर्षबाट प्राप्त संविधान रक्षा गर्दै यसको पूर्ण कार्यान्वयन गर्दै संघीयतलाई थप मजबुत पार्न  सम्पूर्ण प्रदेशवासीमा उहाँले अनुरोध गर्नुभएको छ  । गण्डकी प्रदेशमा निर्माण भएका कानुन आवश्यकता अनुसार परिमार्जन गर्दै जाने प्रतिबद्धता पनि मुख्यमन्त्री पोखरेलले जनाउनुभएको छ  ।

सहिद र योद्धाहरुको बलिदानी र त्यागको परिणामलाई संस्थागत गर्नेतर्फ सबै सरोकारवालालाई  एक भएर अगाडि बढ्न उगान्ले आग्रह गर्नुभएको छ  ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *