बागलुङमा हाट बजार संचालन गर्न समिति गठन, अध्यक्षमा थापा चयन

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा कृषि हाट तथा थोक बजार संचालन गरिने भएको छ । जिल्ला कृषि सहकारी संघको आयोजना र बागलुङ नगरपालिका, कृषि ज्ञान केन्द्र बागलुङ र उद्योग बाणिज्य संघ बागलुङको सहजिकरणमा भएको कृषि हाट तथा थोक बजार संचालन सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमले बजार संचालनको लागि समिति गठन गरेको हो ।

समितिको अध्यक्षमा जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कृषक गोविन्द सुवेदी, कृषि सहकारीको तर्फबाट गंगा बहादुर थापा, महिला कृषक सरु बास्कोटा, व्यवसायी सुदिप कंडेल गोपाल र खिम बहादुर केसी चयन हुनुभएको छ । यस्तै उक्त समितिको सदस्यहरुमा उद्योग बाणिज्य संघ बागलुङ र कृषि ज्ञान केन्द्र बागलुङको १÷१ जना प्रतिनिधि र जिल्ला समन्वय समितिले तोकेको उपभोक्ता मञ्चको १ जना प्रतिनिधि समेत रहनेछन् ।कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेलले कृषकहरु एक जुट हुनुपर्ने बताउनुभयो । उहाँले हाट बजार सामाजिक सेवाको बजार भएकोले उक्त बजार संचालनको लागि कृषक, व्यवसायी र उपभोक्ताहरु एक जुट भएर संचालन गर्नुपर्ने बताउनुभयो ।

नगरप्रमुख पौडेलले देशको धेरै नागरिकहरु कृषिमा आत्मानिर्भार रहेको तर अरु व्यवसायी जस्तै कृषकहरु संगठित नभएको भन्दै कृषकहरुलाई एक जुट हुन अनुरोध गर्नुभयो । उहाँले कृषिउपजहरुको मुल्य निर्धारणको लागि समेत कृषकहरु संगठित हुनुपर्ने बताउनुभयो । नगरप्रमुख पौडेलले कृषकहरु डिजिटलस प्रविधिको ज्ञान हुनुपर्ने बताउनुभयो । अहिले डिजिटल प्रविधिको प्रयोग बढ्दो रहेकोले कृषकहरु पनि डिजिटल प्रविधिमा अपडेट भइ नयाँ कुराहरु सिक्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

नगरप्रमुख पौडेलले अनुदान र क्षमता विकास तथा कृषि सम्बन्धी तालिमको सहजिकरण गर्न नगरपालिका सधै अग्रसर रहेको बताउनुभयो ।

छलफल कार्यक्रममा कृषकहरुले व्यवसायीहरुले आफुहरुसँग बार्गेनिङ गरेर उपभोक्ताहरुलाई महंगो मूल्यमा बेच्ने गरेको भन्दै मुल्य निर्धारण गर्नुपर्ने माग गरेका थिए । उनीहरुले साना तथा ठूला व्यवसायीहरुलाई असर नगरेर हाट बजार संचालन गर्नुपर्ने बताएका थिए ।

यस्तै व्यवसायीहरुले आफुहरुले हजारौं मूल्यपर्ने सटरमा पसल राखेर सरकारलाई कर तिर्ने गरेपनि डोके व्यवसायीहरुले चोक चोकबाट राखेर सरकारलाई कर पनि नबुझाई विक्री गर्दा मुल्यमा फरक पर्ने भएकाले नगरपालिका र सम्बन्धीत निकायले त्यसको समाधान गरिदिनुपर्ने बताएका थिए । छलफल कार्यक्रममा हाट बजार सम्बन्धी तलिम संचालन गर्नुपर्ने, उत्पादन बढाउन अनुदानको व्यवस्था गरिदिनुपर्ने माग राखेका थिए ।

छलफलमा व्यवसायी गोपाल पौडेल, खिम बहादुर केसी, कृष्णप्रसाद भट्टराई, कृषकहरु तानसिंह श्रीस, नारायणप्रसाद शर्मा, सरिता शर्मा र कृषि सहकारीका जगन्नाथ सापकोटाले बोल्नुभएको थियो । उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले हाट बजार र थोक बजारको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले देशमार ६७ वटा जिल्लामा हाट तथा थोक बजारहरु संचालनमा रहेपनि सुगम जिल्लामा गनिने बागलुङमा अझै संचालन नभएको भन्दै अब संचालन हुन लागेको बताउनुभयो । उहाँले बागलुङका धेरै स्थानमा हाट तथा थोक बजारको लागि संरचना बनाएपनि अलपत्र अवस्थामा रहेको भन्दै त्यसको संचालनको लागि कृषकहरु अग्रसर हुनुपर्ने बताउनुभयो ।

प्रमुख भट्टराईले बागलुङ बजारमा थोक बजारको रुपमा नियमित संचालन गरिने र १, २ दिन हाट बजार संचालन गरिने बताउनुभयो । उहाँले कुन दिन हाट बजार संचालन गर्ने समितिले निर्णय गर्ने जानकारी दिनुभयो ।

बागलुङमा कृषि हाट तथा थोक बजार संचालनको लागि बागलुङ नगरपालिका वडा नम्बर ३ मा बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन गरि कृषि ज्ञान केन्द्र बागलुङसँगको सहकार्यमा संरचनाको निर्माण गरेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख भट्टराईले हाट तथा थोक बजारको संचालनको लागि सरकारले बनाएको निर्देशिकाको बारेमा समेत जानकारी गराउनुभएको थियो । उहाँले समिति गठन र बजार संचालनको लागि केन्द्रिय सरकार र प्रदेश सरकारले कृषि हाट तथा थोक बजार संचालनमा बनाएको निर्देशिकाको जानकारी गराउनुभएको हो ।

जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सदस्य धन बहादुर कार्की र संचालन गंगा बहादुर थापाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *