सरोजराज पन्त
पर्वत जिल्लामा पन्तहरु आएकाहरु मध्ये सुरुमा लिमिठानामा आएर बसेको इतिहास छ । यहाँ बस्ने पन्तहरु पहिलो देशका विभिन्न स्थानमा गएर बसोबास गर्ने गरेता पनि यस जिल्लाको विकासमा उहाँहरुको योगदान महत्वपूर्ण रहेकोले लिमिठानको ऐतिहासिक परिचयसहित विकासमा पन्तहरुले गरेको योगदान संक्षिप्त रुपमा यो लेखमा गरिएको छ । नेपालको भौगोलिक विभाजन (वि.सं.२०१८ वैसाख १) पूर्व यहाँ जम्मा ३५ जिल्ला थिए । ती ३५ वटा जिल्ला मध्ये वर्तमान पर्वत जिल्ला पश्चिम ४ नं. अन्तर्गत पर्दथ्यो । त्यस पूर्व लिमिठाना छु्ट्टै गाउँ थिएन । यो ठानामौला गाउँ अन्तर्गत तत्कालीन ठाना पञ्चायतमा पर्दथ्यो । नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेपछि जिल्ला गाउँ मिलाउने काम भयो यसै क्रममा ठानालाई दुई वटा गाउँ ठाना मौला र लिमिठानामा छुट्टाइयो । लिमिठाना २ नेपाली शब्दबाट बनेको छ । लिमि+ठाना लिमिको अर्थ बाँसको झाङ्ग र ठानाको अर्थ निर्णय गर्ने ठाउँ, अड्डा भन्ने हुन्छ । नेपाली शब्दकोष अनुसार तत्कालीन समयमा यहाँ बढी बाँस रहेको यहाँका पन्त तथा पाण्डेयद्वारा झैझगडा, वैमनस्यताको निर्णय गरी ठानाको काम गर्ने भएकाले पनि यस ठाउँलाई लिमिठाना नै भनिएको पाइन्छ । यस कुराको प्रमाण स्वरुप अहिले पनि यहाँ धेरै मात्रामा बाँसघारी हुनु पनि हो भने निर्णय दण्ड जरिवानाका लागि तत्कालीन समयमा लिमिठानामा जाने गरेकाले पनि यस गाउँको नाम लिमिठाना रहन गएको पाइन्छ ।
राणाकालमा विर्ता पाएर काजीहरु (पाण्डेय) यहाँ बसोबास गरेका र नीति नियम, दण्ड जरिवाना सहित उनीहरुले निर्णय गर्ने गरेको तथ्यले पनि यो कुरा प्रमाणित गर्न सकिन्छ । (वडा खोला पाण्डेको वंशावली अनुसार) यस गाउँमा वर्तमान समयमा बसोबास गर्न विभिन्न जातजातिमा पन्त, पाण्डेय, रेग्मी, पाण्डे, अधिकारी, तिमिल्सिना, (चपाई) चापागाई, पौडेल तथा क्षेत्री, भण्डारी, दमाइ, कामी, सार्की आदि मध्ये सबैभन्दा पहिला चापागाईहरु आएर बसोबास गरेको पाइन्छ । त्यसपछि पन्त, पौडेल, रेग्मी र पाण्डेयहरु क्रमशः बसाइ सराइ गरी आएको पाइन्छ (पाण्डे वंशावली अनुसार) । यहाँ बसोबास गर्ने विभिन्न जातजाति मध्ये व्राह्मण जाति अन्तर्गतका पन्तहरु वि.सं. १७१० को दशकमा यहाँ आएको पाइन्छ । पन्तहरु यहाँ प्रवेश गर्नुका प्रमुख कारणहरुमा १) राम्रो खेती योग्य जमिनको खोजीमा यहाँ आउनु २) मीठो पानीको खोजी गर्ने क्रममा कालीगण्डकीको पवित्र क्षेत्रमा आउनु ३) मुक्तिक्षेत्र, मुक्तिनाथको तीर्थ यात्रा गर्ने आएको बेला तत्कालीन पर्वतका मल्ल राजाको अनुरोधमा यतै बसोवास गर्नु ४) भारतको महाराष्ट्र लगायतका क्षेत्रका पैगम्वर धर्म प्रचारको क्रममा आफ्नो हिन्दु धर्म, वेद शिखा (टुप्पी) जोगाएर आउने क्रममा यो क्षेत्रमा आगमन हुनु आदिलाई लिन सकिन्छ । यस गाउँमा आएका प्रथम पन्त पूर्वज पं मुरारी पन्त देखि अहिले सम्म १० पुस्ता भएको छ । यो वंश परम्परामा बसाई सरेर छिमेकी गाउँमा जाने क्रम तेस्रो पुस्ता देखि नै भएको पाइन्छ ।
यसैगरी, पन्तहरुको थर गोत्र सम्वन्धी अध्ययन गर्दा पन्तहरुलाई ४ प्रकारका १) भगी २) नाथु ३) बसु र ४) शर्म पन्त गरी उल्लेख गरिएको पाइन्छ । (डा.प्रपन्नाचार्यका अनुसार) पन्तहरुलाई ७ प्रकारका १) बसु पन्त २) शर्मा पन्त ३) नाथु पन्त ४) श्रीनाथ पन्त ५) भवी पन्त ६) लेकमाली पन्त र ७) पुरुष पन्त भनी उल्लेख गरिएको पाइन्छ । कही एघार थरी कतै चौध थरी पन्तहरु हुन्छन् भनी पन्तहरुको इतिहासमा उल्लेख गर्नुभएको पाइन्छ । तर पनि पन्तहरुको बसोबास र विकासक्रमलाई हेर्दा उनीहरु मूलत ६ थरी बसु, शर्म, श्रीनाथ, नाथु, भवि, हटवाल रहेका र ठाउँ बिशेष अनुसार अरु थरी थप भएको पाइन्छ । ती मध्ये शर्म पन्त देशका विभिन्न स्थानहरुमा छरिएर वसेका छन् । पर्वत जिल्लाको लिमिठाना, देविस्थान र लुँखु देउरालीमा वसोवास गर्ने पन्तहरुका पूर्वज मुरारी पन्त वि.सं. १७१० को दशकमा भारतको कुमाउँबाट नेपाल भित्रिएको पाइन्छ । अहिले यस वंशको मूलपुरुष मुरारी पन्तदेखि १० पुस्ता भएको छ । यी पन्तहरु प्राय राजवैद्य, कवि, शिल्पी, संस्कृत विद्धान, धुन्र्धर राजनीतिज्ञ, राजपुरोहित हुने गरेका छन् । (डा.प्रपन्नाचार्य) वैतडी, पाल्पा, लम्जुङ आदि जिल्लाहरुमा पनि शर्म पन्तहरु बसोबास गर्दै आएका छन् । पर्वत लिमिठानामा आएर वसेका पन्त पूर्वजहरुले पाल्पा, लमजुङ, काठमाडौं आदि जिल्लाका पन्तहरुसँग राम्रो सम्वन्ध स्थापित गरेका छन् भने बागलुङमा रहेका पन्तहरुसँग विवाहवारी पनि चलाउँदै आएका छन् । पन्तहरुको आगमनपछि यस क्षेत्रको शिक्षा विकासमा राम्रो सुधार हँुदै गएको छ । शर्म पन्तको वंशावली अनुसार पाँचौ पुस्ताका पन्तहरुले नामको पछाडि शर्मा लेख्ने गरेको पाइन्छ । यसबाट पर्वत लिमिठाना, देविस्थान र लुँखु देउरालीमा वसोवास गर्ने पन्तहरु शर्म पन्त हुन् भनी पहिचान गर्न सजिलो भएको छ । उनीहरुले वंश पहिचानको लागि शर्मा लेख्ने गरेका हुन भन्न सकिन्छ । यसैगरी पन्तहरुको गोत्र सम्वन्धि पनि विभिन्न अध्ययनहरु भएका छन् । विशेषगरी भारद्धाज गोत्र जुन आठवटा ऋषिहरुमध्ये (भारद्धाज, विश्वामित्र, जमदग्नि, गौतम, अत्रि, वाशिष्ठ, कश्यप र वशिष्ठ) एक ऋषि मानेर उनैका अनुयायीको रुपमा पन्तहरुलाई लिने गरिन्छ ।
पन्तहरुमा पनि कुमाई पन्त र पन्थी पूर्वीया हुने गरेको पाइन्छ । यसैगरी पन्त वंशजहरुमा अन्य गोत्रहरु पनि हुने गरेको (उपमन्यू, पराशर, काश्यप, वशिष्ठ) छन् । तर पनि अधिकांश पन्तहरु भारद्धाज गोत्रका छन् । गोत्र पुख्यौली, ऋषिमुनी आदि पुर्खाबाट चलेको पाइन्छ । वास्तवमा गोत्र परम्परागत रुपमा आफ्नो वंश, कूल, जात, धर्म आदिसंग सम्वन्धित हुन्छ । आफ्नो वर्ग, समुह, जत्था, हुल सवैलाई गोत्रको आधुनिक अर्थमा लिन सकिन्छ । परापूर्वकालमा पनि मानिसहरुले धर्मको आधारमा यसरी वर्गीकरण भएर गोत्रको पार्दुभाव भएको हो । धर्म, संस्कृति, सामाजिक, रहन–सहन वसोवास आदिले गर्दा उनीहरुको व्यवहार, शारीरिक वनावट, रङ्ग आदि फरक हुदै गएको पनि पाइन्छ । देशको भूभाग, हावापानी, रहन सहन, भाषा संस्कृतिले गर्दा एकथर, गोत्रबाट अर्को थर गोत्रमा परिवर्तन हुने अवस्था सृजना भएको हुन सक्दछ । यसलाई परसंस्कृतिको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । पर्वत लिमिठानामा वसोवास गर्ने पूर्वीय व्राह्मणहरुले पनि कुमाई व्राह्मणहरुको जस्तो धार्मिक, सामाजिक, सांस्कृति क्रियाकलापहरु गर्ने गर्दछन् । किनकि भौगोलिक प्रभाव, जातिय प्रभाव आदिले गर्दा यसो हुन गएको हो । पन्तहरु पनि विभिन्न थर गोत्रका हुनु सामाजिक र सांस्कृतिक पक्षवीच भिन्नता आउनुका कारणहरु मध्ये यो पनि प्रमुख कारण हो ।
प्रधान ब्राह्मण बंशको बारेमा पन्तलाई पं्रथम प्रधान ब्राह्मण दर्जामा हेरिन्छ । जहाँ पन्त भारद्धाज गोत्री (भारद्धाजङिरस बार्हस्पत्य इति त्रिः प्रवर मध्याविन्वनी शाखा) पं जयदेव पन्त कोकण देशबाट तीर्थयात्रामा आएका थिए । गंगोलीमा पनि यिनले तीर्थयात्रा गरे । १० औ शताब्दीमा चन्द राजाको पालामा मनकोटी राजाको दरवारमा गएका थिए । उनले प्रतिष्ठापूर्वक रिखाडी गाउँ त्यसपछि उप्रग गाउँ समेत प्राप्त गरे । जयदेवजीको छोरा रविदेव उनको रामदेव, रामदेवजीको भानुदेव भानुदेवका,े श्रीधरको बलभद्र भए । बलभद्रको छोरा शिवदेव उनको दामोदर, शम्भुदेव र भानुदेव तीन पुत्र भए । दामोदरबाट शर्मा र श्रीनाथ दुई छोरा भए । भानुदेवको नाथु र विश्वरुप, शम्भुदेको भदवास यिनै चारभाइको नामबाट पन्त त्यस समयमा पनि चार घरानमा विभाजित छन् । १) शर्म पन्त, २) श्रीनाथ पन्त ३) नाथुपन्त ४) भवदास पन्त (पाण्डेय, कुमाउँको इतिहास ः ५५९)
पन्तहरुको इतिहास कोट्याउदा केही प्रमाणिक इतिहास पनि पाइएको छ । कृष्ण गण्डकी पवित्र पुलिन बागलुङ क्षेत्रमा पन्तहरु बसेका थिए । यो इतिहास बागलुङ बलेवाको लक्ष्मीनारायण मन्दिरको शीलालेख तथा घण्टको लेखबाट स्पष्ट हुन्छ । विक्रमको सोह्रौ शताव्दितिर पर्वते राजाहरुको खुवयश थियो । टाढाटाढाका विद्धानहरुले पनि उनीहरुको यश सुनिसकेका थिए । त्यसैले रमापति र उमापति जस्ता उदृत विद्धानहरु नेपाल पसे । वर्तमान धवलागिरी अञ्चलको जिल्ला बागलुङ र पर्वतको सेरोफेरोमा बस्ने पन्तहरु मुल रुपमा चार हाँगामा बाँडिएका छन् –ती बसुपन्त, नाथुपन्त, भगी पन्त तथा सरम पन्त हुन् । यी चारै पन्तका पूर्वज कुमाउँका थिए भन्ने कुराको प्रसिद्ध तान्त्रिक विद्धान प्रेमनिधि पन्त र महाकवि सुकृतिदन्त पन्त दुवैले उल्लेख गरेका छन् । ‘श्री मत्कर्म धराधरेन्द्र वसति’ तथा कुर्माचलो जन्मभू’ आदि पद्यहरुमा पन्तहरु कुर्माचलीय हुन् भन्ने कुरा स्पष्ट हुन्छ । (डा. प्रपन्नाचार्य ः २६)
पर्वत लिमिठानामा बसोबास गर्ने पन्तहरुको चिनारी
हाम्रो देश नेपाल भौगोलिक दृष्टिकोणले सानो छ तरपनि जातजाति, भाषा भाषी, धर्म–संस्कृति, परम्परा, हावापानी, धार्मिक मूल्य , मान्यता र साँस्कृतिक सम्पदामा अत्यन्त धनी छ । यहाँको प्राकृतिक सौन्दर्य र सम्पदाले विश्वलाई आकर्षित गरेको छ । नेपालमा बसोवास गर्ने विभिन्न जातजातिहरु मध्ये व्राह्मण जातिको बाहुल्यता रहेको यस लिमिठानामा धेरै थर र गोत्रका मानिसहरु परापूर्व कालदेखि बसोवास गर्र्दै आएका छन् । ती थरहरु मध्येको मुख्य थर पन्त हो । वर्तमान समयमा पन्त समुदायको जनसंख्या यस लिमिठानामा पातलिदै गएको छ । शहर बजारमा गएर वस्ने पन्तहरुमा सानो परिवारको अवधारणा विकास भैसकेको छ । लिमिठानामा पन्तहरुको आगमन भए पश्चात बसोवास हुदै आएको छ । त्यस गाउँमा बूढाघरबाट पन्त परिवारको विकास भएको देखिन्छ । त्यहाँ सवैभन्दा पुरानो घर भएकोले होला बूढाघर भनेर त्यस घरलाई चिनिन्छ । तर अहिले भने त्यहाँ बूढो घर छैन । यहाँ बसोवास गर्ने पन्त समुदायको बारेमा गरिएको स्थलगत सर्वेक्षण अनुसार जनसंख्याका लागि प्रभाव पार्ने तत्वहरु जस्तै स्वास्थ्य, शिक्षा, पेशा, खानपान, धर्म आदिको प्रत्यक्ष तथा अप्रत्क्ष प्रभाव परेको देखिन्छ । देशको समग्र राजनीतिक, सामाजिक, आर्थिक प्रभावको यस क्षेत्रका पन्त परिवारमा समेत परेको छ ।
पश्चिम नेपालको पर्वत क्षेत्रको वर्तमान धौलागिरी अञ्चल भएको छ । साथै पर्वत वर्तमान समयमा एउटा जिल्ला बनेको छ । पर्वत जिल्लाको सदमुकाम कुश्मा (कुसुमा) भएको छ । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ नै छ । दुवै तिर पर्वत माला सजिएका छन् । माझमा कालीगण्डकी उतुङ तरङ, भुमङ्ग भएर बगिरहेकी छन् । प्राचिन कालमा मुक्तिनाथ जाने एकमात्र बाटो यही थियो । (डा.प्रपन्नाचार्य, ०५७ ः २६) अग्ला शरीर भएका, गहुँगोरा, लामा चुच्चो नाक भएका, अध्ययनलाई बढी ध्यान दिने, आफ्नो विद्धताले अरुलाई प्रभावित पार्ने आदि क्षमता, दक्षता भएका हुन्छन् । ज्योतिष विद्यामा विशेष ध्यान दिने, सितिमिति आफ्नो दुःख अरुलाई नभन्ने, नदेखाउने, पराक्रमी, मेहनती र स्पष्टवक्ताका रुपमा चिनिन्छन् । आफूले थालेको काम (पक्का) फत्ते गरेरै छाड्ने वानी पन्तहरुको हुन्छ । उदार, सहयोगी, सवैलाई सम्मान गर्ने, आँटिला, जागरिला, अरुको प्रलोभनमा नफस्ने हुन्छन् । पन्तहरु निर्णय सिन्धुको काममा निपूर्ण हुन्छन् । यिनीहरुले गरेको निर्णय सर्वमान्य हुन्छ भन्ने गरिन्छ । पन्त समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक जस्ता विभिन्न क्रियाकलापमा पश्चिमीकरण, आधुनिकीकरण, औद्योगिकरण, विश्वव्यापीकरण, परसंस्कृतिकरण आदिको प्रभाव स्पष्ट देख्न सकिन्छ । भेषभुषा, बोलीचालीमा समेत व्यापक परिवर्तन आएको छ, बोल्दा अंग्रेजी शब्दको प्रयोग गरेर बोल्ने क्रम बढ्दै गएको छ । गीत संगीतमा समेत पपगीतको प्रचलन यूवा वर्गमा बढी देखिन्छ ।
समग्रमा भन्नुपर्दा नयाँ र पुरानो पुस्ता बिच सामाजिक साँस्कृतिक, आर्थिक जस्ता विभिन्न क्षेत्रमा भिन्नताहरु देखा परेका छन् । पर्वत जिल्लामा रहेका र यहाँबाट देशका विभिन्न स्थान र सहरमा वसाई सरेर र गएका पन्तहरुले आ–आफना क्षेत्रमा कार्यशील भएर यश कायम गरेको पाइन्छ । आफनो कर्म गरेर खानु पर्छ भन्ने दृढ विश्वासको साथ कार्य क्षेत्रमा रहेको पाइन्छ । काठमाडौँ, पोखरा, बागलुङ, लम्जुङ, चितवन, नवलपरासी, नेपालगञ्ज लगायतका जिल्लामा रहेर कला साहित्य, संगीत, अध्यापन, अनुसंन्धान निजामति सेवा, राजनीति, पत्रकारिता, व्यवसाय आदि गरेर समाज र राष्ट्रको सेवामा अनवरत क्रियाकलाप गर्दै आएको पाइन्छ । यसैगरी कृषि, ज्योतिष, कर्मकान्ड र अन्य घरायसी सीपवाट पनि सेवा पु¥याउँदै आएको पाइन्छ । मूल पुरुष मुरारी पन्त देखि उहाँका छोराहरु हरि, विष्णु, महेश्वर त्यसपछि पनि नरेन्द्र पन्त, श्रीधर पन्त, जगनाथ पन्त, पिताम्बर पन्त, हेलिराज पन्त, भोजराज पन्त, रुद्र प्रसाद, जयदेव, वामदेव, हितराज पन्त, यादवराज पन्त, श्रीधर, लक्ष्मीप्रसाद, दामोदर, वेदगर्भ, विशेपन्त, तुलसी, रुदप्रसाद्र, चेतप्रसाद, हरि, दुर्गाभक्त, गोविन्दभक्त, शोभाभक्त, समुन्द्रभक्त लक्ष्मी, श्याम, गोपाल, भुवनेश्वर, हर्क, तिल, दुर्गा, अम्बिका, दोर्ण, गणेश, भीम, गोपी, लिला, गोकर्ण, पूर्ण, नेत्र, गेश, दीघ पन्त समाज सेवा, जनसेवामा र सर्वप्रथम अँग्रेजी पढ्ने दुर्गा र गजव पन्त, समाज सेवा गरेर नथाक्ने गोमा, चन्द कुमारी, अनुराधा पन्त सधै अग्र स्थानमा रहनु भयो । साहित्य सृजना र नारीजागरणका लागि रामेश्वरी, साधना पन्तले अथक सेवा दिदै आएको अवस्था छ । यसरी शिक्षा, सेना, प्रहरी, समाजसेवा, कृषक ,नेता, ज्योतिष, लगायतले यस क्षेत्रमा अमूल्य योगदान पु¥याउदै आएको पाइन्छ । यसैगरी नयाँ पुस्तामा पनि आफनो जन्मभूमी, पुर्खाको इतिहासलाई वचाइ राख्न क्रियाशील भएको देखिन्छ ।
विशे पन्त, फलेवासको कुलोसँग जोडिएको नाम
प्रत्येक समाजमा यस्ता व्यक्ति जन्मिन गाह्रो हुन्छ जुन व्यक्तिगत स्वार्थलाई भन्दा समाजसेवा प्रति सदैव समर्पित हुन्छ । यस्तै चर्चित समाजसेवी, निस्वार्थ सेवामा क्रियाशिल व्यतिm हुन विशे पन्त । विशे पन्त, पन्त वंशावली अनुसार छैटौ पुस्ताका एक अग्रज समाजसेवी हुन् । टीकाराम पन्तका ३ भाइ छोराहरु जेठा चन्द्रप्रसाद पन्त, माइला विशु पन्त र कान्छा टोपराज पन्त थिए । ती ३ भाइ मध्ये चर्चित समाजसेवीको रुपमा विशु पन्त चिनिए । उनको वास्तविक नाम विशुपन्त भएपनि गाउँलेहरुले उहाँलाई विशे पन्त भनेर चिन्दथे र बोलाउँथे ।
फलेवास समुन्द्री सतहदेखी झण्डै ६६० मिटर उचाईमा रहेको छ । यहाँको भू–बनोट ज्यादै राम्रो रहेको, खेतीयोग्य जमिन रहेको छ । परापूर्व कालमा फलेवासमा राम्रो उत्पादन नहुने, कोदो, घैया आदि रोप्नु पर्ने भएकाले फलेवासमा फलेवासमा मानिस वस्न रुचाउदैनथे । फलेवासमा सिचाइ र खानेपानीको ठूलो समस्या थियो । त्यसैले फलेवासमा विवाह गर्न र विवाह गरेर छोरी दिन जो कोही राजी हुदैनथे । अक्षता बनाउन ढुङग्रोमा चामल राख्ने प्रचलन थियो भन्ने सुनिन्छ । फलेवासको यस्तो अवस्था रहेकाले विशे पन्तले वि.सं. १९८८ सालमा त्यहाँका वृजलाल, कण्ठे लम्साल जस्ता व्यक्तिको सहयोग लिएर लमाय खोलाबाट कुलो बनाउने अठोट गरी रु ७००० जम्मा गरेर कुलो खन्न सुरु गर्नु भयो । तर पहिलो पटक उहाँलाई पूर्ण रुपमा सफलता मिलेन । त्यसैबेला उहाँको छोराको मृत्यु भएकाले फलेवासमा भएको जग्गा कालिभक्तपन्तलाई दिई भारतको गुहाटी तर्फ लागेको पाइन्छ । त्यहाँ गएर ११ वर्षसम्म गाई पाल्ने, दूध, ध्यूको व्यापार गर्ने, बेच्ने कार्यमा संलग्न भए पनि समाजसेवी विशे पन्तलाई त्यो पेशाबाट पूर्ण सन्तोष मिलेनछ । विं.सं २०११ मा उहाँ फेरि फलेवास फर्केर समाजसेवा तल्लिन भई निरन्तरता दिएको पाइन्छ । त्यही वर्ष कुलो बनाउने कार्य प्रारम्भ गरी ४–५ हल चल्ने पानी ल्याउन सफल भएपछि विं.स.२०१२– २०१३ सालसम्म १०० हल चल्ने पानी निरन्तर रुपमा कुलोबाट आउन थालेछ । त्यसबाट विशे पन्तको महान इच्छा पूर्ण रुपमा सफल भएछ । फलेवासमा कुलो आएपछि ठूलो परिवर्तन आएको यर्थाथता छर्लङ छ । वर्षभरिमा ६ महिना खान पनि धौ–धौ हुने गाउँ अहिले पूर्ण रुपमा स्व–उत्पादनमा निर्भर छ भने अन्य गाउँलाई वेच विखन गरी सहयोग पु¥याउन सक्ने भएको छ । यो सबै योगदान विशे पन्तको नै हो । फलेवासको कुलो भन्ने वितिकै अहिले पनि सबैको मुखमा विशे पन्तको नाम झुडिन्छ ।
समाजसेवामा निरन्तर निस्वार्थ लागि रहने विशे पन्तको व्यतिmगत जीवन भने त्यति सफल देखिदैन । उनका तीन वटी श्रीमती र तीन वटी छोरी रहेका छन् । समाजसेवामा विना स्वार्थ लाग्दै जाँदा उनले आफ्नो घरको वारेमा ध्यान दिन नपाएको जस्तो उनको जीवनीबाट पाउन सकिन्छ । उनका श्रीमतीहरुले उनको मृत्यु पछि निवेक गरेर जीविका चलाउनु पर्ने अवस्था आएको देखिन्छ । तर गाउँका बूढापाकाहरुले “ ती विशेका स्वास्नीहरुलाई त गाउँलेहरुले पाथी भरेर राख्नु पर्ने हो तर कसैले न पाथी भर्याे न त दया नै देखायो ” भनी उल्लेख गरेको पाइन्छ ( डा. चन्द्रबहादुर श्रेष्ठ ) । यसरी विशे पन्तको जीवनीबाट हामीले निस्वार्थ सेवामा लाग्ने पे्ररण पाउन सकिन्छ । उनी एक समाजसेवी, विकासवादी, एक असल चिन्तक हुन भनी चर्चा गर्दा सन्दहे हुने छैन । तीन दिशामा कालीगण्डकी, लमाय र चिर्दी खोलाले घेरेको गाउँपनि एक मरुभूमी तुल्य थियो । त्यस्तो गाउँलाई बाहै्र महिना हरियो बनाएर छाड्ने विशे पन्तलाई यस क्षेत्रले कालान्तरसम्म स्मरण गर्ने छ । फलेवासको कुलो भन्ने विक्त कै उनको नाम स्मरण भई नै रहने छ ।
कालीभक्त पन्त एक बहुमुखी प्रतिभा
कालीभक्त पन्तको जन्म धौलागिरी अञ्चलको एक सानो जिल्ला पर्वतको रमणीय गाउँ लिमिठाना वि.सं. १९६४ साल भाद्र ६ गते विहिबारका दिन बुवा नरेन्द्र पन्त र आमा नीलकुमारी पन्तका कान्छा छोराको रुपमा भएको हो । उहाँको न्वारानको नाम भीमप्रसाद रहे पनि जन्मेको १४ दिनमा घाममा सुताएको बेला आफैले ‘काली’ भन्ने शब्द उच्चारण गरेकोले उहाँको नाम कालीभक्त राखिएको थियो । (गोविन्दभक्त पन्तबाट प्राप्त जानकारी )प्राकृतिक दृष्टिले मनोरम ठाउँ पर्वत जिल्लाको लिमिठाना जन्मनु भएका कालीभतm पन्त सानै उमेरदेखि तीक्ष्ण सुधारवादी विचार भएका व्यतिm हुनुहुन्थ्यो । उहाँलाई बाबु नरेन्द्र पन्त र दाजु पं. जगन्नाथ पन्तबाट शिक्षा प्राप्त गर्नु भएको थियो । दाजु जगन्नाथ पन्त कर्मकाण्ड र ज्योतिष कार्यमा संलग्न हुनुहुन्थ्यो । भाइ कालीभक्त भने केटाकेटी उमेर देखिनै नयाँ नयाँ कुराको खोजी गर्ने बानी उहाँको थियो । ७ वर्षको उमेरदेखि शिक्षा प्रारम्भ गर्नुभएको पन्तले परम्परागत संस्कृत शिक्षा, आधुनिक शिक्षा, उर्दु भाषा सम्बन्धी शिक्षा, अदालती शिक्षा हासिल गर्नु भएको थियो । छोरीलाई पनि शिक्षा दिनु पर्दछ भन्ने चिन्तन अगाडि सार्नु भएका पन्तले औपचारिक शिक्षाका रुपमा बनारसवाट मध्यमा सम्मको शिक्षा प्राप्त गर्नु भएको पाइन्छ ।
यसैगरी आधुनिक शिक्षाका रुपमा उहाँले वि.संं. १९८०–८१ मा कलकत्ताबाट मयाट्र्किुलेसन परीक्षा उर्तीण गर्नुभएको पाइन्छ । नरेन्द्र पन्त पढेलेखेका पंण्डित हुनाले आफ्ना सबै सन्तान छोराहरु लक्ष्मीप्रसाद पन्त, जगन्नाथ पन्त, पिताम्बर पन्त, हरिप्रसाद पन्त र कालीभक्त पन्तलाई जमाना अनुसारको शिक्षादिक्षा दिनु भएको थियो । त्यसगरी छोरीहरु देवी, लक्ष्मी र द्रौपती पनि व्यवहारिक ज्ञानमा निपूर्ण हुनुहुन्थ्यो । कालीभक्त पन्तका र कृष्णकुमारी पन्तका ६ भाइ छोराहरु र ३ छोरीहरु हुनुहुन्छ । कालीभक्त पन्तले साहित्य, राजनीति र शिक्षण पेशामा लाग्नुभएको थियो । उहाँले पर्वत लिमिठाना वि.सं. २००३ सालमा लिमिठाना अमर प्राइमरी स्कूल (अमर पाठशाला) को स्थापनागरी शिक्षण पेशामा संलग्न हुनुभयो । साहित्यमा र इतिहासमा रुचि भएकाले उहाँका पश्चिम ४ नं. को इतिहास, किसान गीता, हाम्रो राष्ट्र्यि कर्तव्य दर्शन, हाम्रो सांस्कृतिक इतिहास, हाम्रो गीत सुधारको राष्ट्रिय बाटो, छुतभेद र कर्तव्य, शुंभवध नाटक लगाएत १ दर्जन भन्दा वढी साहित्यिक र अनुसन्धानात्मक कृतिहरु प्रकाशन भइसकेका छन् । यसैगरी केही अप्रकाशित कृतिहरु पनि रहेका छन् ।
कालीभक्त पन्तलाई एक कुशल साहित्यकार, कवि, गीतकार, गजलकार, नाटककार, अनुसन्धानकर्ता, राजनीतिज्ञ, समाजसेवी, शिक्षक, राष्ट्रवादी व्यतिmत्वका रुपमा लिन सकिन्छ । उहाँले अदालती ज्ञान समेत लिनु भएको थियो । यसैगरी हिन्दी, अगे्रजी, उर्दू भाषाको ज्ञान समेत उहाँमा थियो । कालीभक्त पन्तले शिक्षा क्षेत्रमा ठूलो योगदान गर्नुभएको पाइन्छ । उहाँले वि.सं. २००३ सालमा लिमिठाना अमर प्राइमरी विद्यालयमा, २००४ मा कर्नास, २००५ मा स्याङजा जिल्लाको पञ्चमुल र २००६ सालमा आरुचौरमा संस्कृत व्याकरण र नेपाली भाषाको अध्यापन गर्नु भएको थियो । वि.सं. २००८ सालमा मातृभूमि विद्यामन्दिर, फलेवास विद्यापिठ, भोकसिङ्ग, भन्ज्याङ प्राइमरी स्कूल र लिमिठाना अमर प्राइमरी स्कूल लगायत ४६ वटा विद्यालयलाई स्वीकृत गराउनु भएको थियो । वि.सं. २०१७–१८ सालमा लिमिठाना स्थित अमर प्राइमरी स्कूललाई बटुक बहादुर र शेरबहादुरको सहयोगमा उहाँले मिडिल स्कुलका रुपमा स्वीकृत गराउनु भएको थियो । यसका साथै कृषि क्षेत्रमा जनचेतना फैलाउने काम पनि उहाँले गर्नुभएको थियो ।