सरकारी उल्झनले आएन धौलागिरी अस्पतालमा ‘ट्रमा एम्बुलेन्स’

फाइल तस्बिर

एम्बुलेन्स खरिद फाइल फिर्ता, तीन महिना बित्दा खरिदमा थप अन्यौलता

सुवास गौतम

अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुले संकलन गरेर पठाएको रकमले ‘ट्रमा एम्बुलेन्स’ खरिद थालेको धौलागिरी अस्पतालले तीन महिना बित्दा समेत एम्बुलेन्स खरिद गर्न पाएको छैन ।

धौलागिरीमै पहिलो पटक ‘ट्रमा एम्बुलेन्स’ भित्राउन थालेको धौलागिरी अस्पतालले एम्बुलेन्सको कर छुटको विषयमा संघीय सरकारले ढिलाई गर्दा दाताले पठाएको २८ लाख रुपैयाँ त्यसै थन्किएको छ ।

अष्ट्रेलियामा बस्दै आउनुभएका बागलुङ निवासी मोहन बिष्ट र सुमन विष्ट लगायतको संयोजनमा संकलन भएर आएको २८ लाख रकम पठाएको तीन महिना बित्दा समेत सरकारी ढिलासुस्तीका कारण एम्बुलेन्स खरिद गर्न नसकिएको धौलागिरी अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो । सोमबार बागलुङमा आयेजित पत्रकार सम्मेलन मार्फत् अस्पताललाई आवश्यक सुविधा सम्पन्न एम्बुलेन्स खरिदमा अव्यवहारिक सरकारी नीतिका कारण समस्या भएको अध्यक्ष राना मगरले बताउनुभयो ।

“कर छुट सहित २८ लाखमा दोस्रो दर्जाको सुविधा सम्पन्न ‘ट्रमा एम्बुलेन्स’ आउने रहेछ, त्यही अनुसार अष्ट्रेलियामा बस्ने नेपालीहरुले तीन महिना अगाडी रकम पठाउनुभयो” अध्यक्ष मगरले भन्नुभयो “कर छुटका लागि नगरपालिका, गण्डकी प्रदेश सरकारको सिफारिसमा केन्द्रमा पठाए पनि केन्द्रले उक्त एम्बुलेन्स खरिद नीति विपरित भएको भन्दै फाइलनै फिर्ता पठाएको छ, जसका कारण एम्बुलेन्सको अभावमा धेरै बिरामीलाई पोखरा, काठमाण्डौं पठाउन निकै समस्या हुनेछ ।”
धौलागिरी अस्पतालमा अहिले १२ वर्ष पुराने एम्बुलेन्स सञ्चालनमा छ । उक्त एम्बुलेन्समा पठाइएको बिरामी एम्बुलेन्स बिग्रिएर बाटोमै अलपत्र समेत पर्दै आएका कारण सुविधा सम्पन्न एम्बुलेन्स खरिद गर्न थालिए पनि स्वास्थ्य मन्त्रालयले अस्पतालले चाहेको एम्बुलेन्स खरिद गर्न रोक लगाई ५५ लाख रुपैयाँको एम्बुलेन्स खरिदका लागि सुझाव दिएको अस्पताल विकास समितिका सदस्य गिता शर्माले बताउनुभयो ।

जनताले पठाएको पैसाले एम्बुलेन्स खरिद गर्न खोज्दा समेत मन्त्रालयले उल्टै अझ महङ्गो एम्बुलेन्स खरिदका लागि सुझाव दिएको भन्दै नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलवाड गरिएको अस्पताल व्यवस्थापनको गुनासो छ । अहिलेको स्वास्थ्य मन्त्रालयको नीतिमा फोर ह्वील क्षमताको मात्रै एम्बेलेन्स खरिदका लागि कर छुट गर्ने रहे पनि अस्पतालले खरिद गर्न थालेको फोर्स एम्बुलेन्स टु ह्वीलको रहेकाले समस्या भएको मन्त्रालयका डा.रोशन पोख्रेलले जानकारी दिनुभयो ।
मन्त्रालयले भने जस्तो एम्बुलेन्स खरिदका लागि २७ लाख अपुग भए पछि अहिले अस्पतालमा ल्याउने भनेको सुविधा सम्पन्न ‘ट्रमा एम्बुलेन्स’ अन्योलमा परेको धौलागिरी अस्पताल बागलुङले जनाएको छ । अस्पतालले जिल्लामा सञ्चालित १२ एम्बुलेन्सले गाउँबाट बिरामी बोकेर अस्पतालमा ल्याउने र अस्पतालमा उपचार हुन नसकेमा सुविधा सम्पन्न एम्बुलेन्समा राखेर थप उपचारका लागि पोखरा, काठमाण्डौं पठाउने लक्ष्य रहेको जनाएको छ ।

राष्ट्रिय राजमार्ग भएकाले अस्पताललाई फोर्सकै एम्बुलेन्स उपर्युक्त हुने भन्दै मन्त्रालयले यसमा सहजीकरण गर्न नसकेर उल्टै कानूनी उल्झन लगाएर फाइल अस्पतालमा फिर्ता पठाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानाले बताउनुभयो । अस्पतालले ल्याउने भनेको ‘ट्रमा एम्बुलेन्स’ मा बिरामी, कुरुवा र स्वास्थ्यकर्मी बस्न मिल्ने, अक्सिजन, भेन्टिलेटर तथा आइसियूको सुविधा समेत राख्न सकिने दाबी छ ।

अस्पतालले भारतीय कम्पनीको फोर्स गाडीलाई एम्बुलेन्स बनाउन २८ लाख रकम बुझाई सकेको भए पनि अहिले मन्त्रालयले कर छुटको सिफारिस नगर्दा रकम फिर्ता मागिएको छ । कर छुट नहुँदा उक्त एम्बुलेन्स खरिद गर्न झण्डै एक करोड बढी रकम लाग्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *