दुःख किसानको, नाफामा बिचौलियाको राज

आदर्श अनलाइन, बागलुङ

उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, त्यस माथि बिचौलियाको मनोमानीले आहत छन् कृषकहरु । किसानले निकै मेहनत लगाएर फलाएको तरकारी बेचेर किसानले कमाउने भन्दा बिचौलियाले धेरै कमाउँदा किसानहरु सधै मारमा पर्ने गरेको बागलुङका तरकारी तथा फलफूल किसान बताउँछन् ।

यही चरम पीडा र अन्यायका बिच बिचौलियाको अन्त्य गर्ने तयारीमा किसानहरु एकजुट हुन थालेका छन् । बागलुङ नगरपालिकाले गत वर्ष कृषि हाट बजार सञ्चालनमा ल्याए पनि निरन्तर र उपर्युक्त स्थानमा नहुँदा निरन्तरता पाउन सकेको छैन । यसमा कोरोनाले पनि थप समस्या निम्त्याएको थियो । पायक पर्ने स्थानमा हाट बजार नहुँदा किसानहरु बिचौलियाको मारमा पर्दै आएको तरकारी किसान गोपाल पौडेल बताउनुहुन्छ ।

“हामीले एक महिना लगाएर उत्पादन गरेको तरकारीमा जति नाफा हुन्छ, बिचौलियाले दुःखनै नगरी एकैदिनमा कमाउँछन्” पौडेलले भन्नुभयो “बिचौलियाको अन्त्य गर्न कृषि हाट बजारको खाँचो छ, नगरपालिकाले पायक पर्ने स्थानमा हाट बजार राख्नुपर्दछ, जुन स्थानमा उपभोक्ताले सोझै किसानको उपज खरिद गर्न पाउनेछन् ।”

बागलुङ बजारमा कृषि हाट तथा थोक बजार संचालनका लागि नगरपालिकाले १५ लाखको लागतमा बागलुङ नगरपालिका–३ गुठीमा छाप्रो बनाए पनि उपयुक्त स्थान नभएको किसानको गुनासो रहेको छ । अन्य बसतुको मूल सिनर्धारण भएपनी तरकारीको मूल्य निर्धारण नभएकाले हामी जस्ता किसानहरु सधै मारमा पर्ने काठेखोला गाउँपालिका–८ कादेशका किसान चान्सिङ बुढाले बताउनुभयो दिनुभयो ।

“मुल्य निर्धारण हुँदा पसलै पिच्छे फरक मुल्य हुन्छ, बिचौलियाले तरकारीमा विभिन्न बाहनाबाजी बनाउदै मुल्य घटाएर राख्छ, अन्ततः उसले महङ्गोमा बिक्री गर्दछ” बुढाले भन्नुभयो “एउटै मूल्य निर्धारण भएमा हामीले जहाँ लगेर पनि मूल्य पार्न सकिन्थ्यो, बिचौलियाका कारण हामीले दुःख गर्ने, अरुले नाफा कमाउने भइरहेको छ ।”

व्यवसायीहरुले आफुहरुले हजारौं मूल्य पर्ने सटरमा पसल राखेर सरकारलाई कर तिर्ने गरे पनि डोके व्यवसायीहरुले चोक चोकबाट पसल राखेर सरकारलाई कर पनि नबुझाई विक्री गर्दा मुल्यमा फरक पर्ने भएकाले नगरपालिका र सम्बन्धित निकायले त्यसको समाधान गरिदिनुपर्ने बागलुङ बजारका फलफूल तथा तरकारी व्यापारी बताउँछन् ।

कोरोना महामारीका कारण थपा परेको कृषि पेशा तथा व्यापारमा राज्य पक्षबाट थप कर असुली तथा बिभिन्न बाहनामा कार्वाही गर्दै आएकोे तर बजारका फूटपाथ तथा पोके व्यापारीलाई नगरपालिकाले करको दायरामा ल्याउन नसक्नु दुखद् भएको बागलुङ बजारका फलफूल व्यवसायी खिम केसीले बताउनुभयोे ।

अहिले जिल्ला कृषि ज्ञान केन्द्र आएपछि जिल्ला कृषि सहकारी संघ र बागलुङ नगरपालिकाको सहयोगमा कृषि हाट तथा थोक बजार संचालन गर्ने गरी शनिबार मात्रै समित समेत गठन भएको छ । यसबाट किसानहरुको गुनासो सम्बोधन हुने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई बताउनुहुन्छ ।

“हामीले अगुवा किसान तथा कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा कृषि हाट बजार सञ्चालक समिति गठन गरिएको छ” भट्टराईले भन्नुभयो “बिचौलियाको अन्त्य गर्न अन्य जिल्लामा सञ्चालित हाट बजार सफल भएको नेपालका ६७ जिल्लामा हाट बजार सफल भइसकेको छ, त्यसैले बागलुङमा छिट्टै हाट बजार खोल्नेछौं, जुन बिचौलिया रहित हुनेछ ।

कृषि ज्ञान केन्द्रका प्रमुख भट्टराईले हाट तथा थोक बजारको संचालनको लागि सरकारले बनाएको निर्देशिका अनुसार समिति गठन र बजार संचालनको लागि केन्द्रिय सरकार र प्रदेश सरकारले कृषि हाट तथा थोक बजार संचालनमा बनाएको निर्देशिका अन्तर्गत हाट बजार सञ्चालन ल्याउने तयारी भएको बताउनुभयो ।

उहाँले काठेखोला, ढोरपाटन, सिगाना लगायतका स्थानमा समेत स्थानीय तहले हाट बजारका लागि संरचना तयार पारे पनि सञ्चालनमा नआएको बताउनुभयो । प्रत्येक पालिकामा हाट बजार सञ्चालनमा ल्याउन सकेमा किसान र उपभोक्ता दुबैलाई फाइदा पुग्ने उहाँको भनाई छ ।

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले गत वर्ष सञ्चालन गर्न थालिएको हाट बजार कोरोनाका कारण रोकिएको र अब थप व्यवस्थित हिसाबले हाटबजार पुनः सञ्चालनमा ल्याइने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *