नेताका दाउले देशलाई दुःख !

सम्पादकीय
नेपाल यति सुन्दर छ कि नेपाली मात्र होइन, घुम्न आउने विदेशीहरु लोभ्याउँछन्, मोहित हुन्छन् र भन्छन्, ‘यो देश स्वर्ग छ, नेपाल जस्तो देशमा जन्मिन पाउनु त अहो भाग्य नै हो, घुम्न मात्र पाउनु पनि सुन्दर अवसर र अनुभूति हो ।’ तर, यति सुन्दर देशमा वर्षौदेखि भइरहेको कुरुप राजनीतिक खेलले सुन्दरतामा कालो पोतिएको छ । प्राकृतिक पर्यावरणीय हिसाबले जे जति सुन्दर छ, देशको राजनीति, शासन व्यवस्था पनि सुन्दर हिसाबले चलेको भए आज हामीले कति स्वर्णिम अवसरमा बाँचिरहेका हुन्थ्यौ ? बिडम्बना भन्नुपर्छ, यो आम नेपालीका लागि एउटा दुर्भाग्यको परिघटना भएको छ । व्यवस्थाहरुमा बदलाव आए पनि अवस्थामा अपेक्षित र उल्लेख्य सुधार आउन सकेन । पुराना खराब पात्र र प्रवृत्तिहरु जसले देशले यथास्थिति र बेथितिमा देशलाई राखे र गतिशील पाइला रोके । आज पनि त्यही खालका पात्र र प्रवृत्तिहरु अनेक रुपमा देखिएका छन् । जसका कारण देश फेरि पुरानै नियति भोग्ने अवस्थामा पुगेको छ ।

राजतन्त्रात्मक शासन व्यवस्था ढालेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित छ । पुरानो २०४७ सालको संविधान प्रतिस्थापन गर्दै नयाँ संविधान जारी छ । अस्थिर राजनीतिबाट देशमा तीन तहको संघीय अभ्यास अन्तर्गत चुनाव भए पछि राजनीतिक स्थिरता र समृद्धिको बाटोमा देश थियो । तर, राजनीतिक दलहरु बिचको आन्तरिक र अन्तर कलह स्वार्थहरुले सिंगो देश माथि पटक पटक धावा बोलियो, खेलवाड गरियो । पाँच वर्षका लागि सत्ता आरोहण गरेको केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो, कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेको छ । सत्ता र शक्तिका लागि मुख्यतः सत्तारुढ दल एमाले भित्रैको आन्तरिक विवाद व्यवस्थापन हुन नसक्दा सरकार ढल्ने मात्र होइन, पार्टी विभाजन समेत भयो । यसमा ठुलो सैद्धान्तिक वैचारिक विषय केही देखिदैन । केबल नेताहरुका एकआपसको प्रस्तिस्पर्धा, पूर्वाग्रह समस्याको रुपमा देखियो । अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकार पनि सकसमा देखिन्छ । सरकार बनेको ७२ दिन पुरा हुँदा पनि मन्त्रीपरिषद विस्तार गर्न नसक्ने अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ । यसमा देउवाका आफ्नै दुःख छन् भने सत्ता गठवन्धन घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका आफ्नै दुःख छन् ।

वर्तमान सरकार उनीहरुकै शव्दमा अग्रगामीहरुको सरकार हो । तर, व्यवहारतः विगतको सरकार भन्दा हाल सम्मको कार्यशैली र गतिविधिले कुनै तात्विक अन्तर देखिन्न । सरकारको मधुमास मानिने सय दिन पुग्न २८ दिन बाँकी हुँदा देउवा मन्त्रिमण्डलमा जम्मा एक जना मन्त्री थपिएका छन् । शीर्ष नेताहरुका आआफ्नै राजनीतिक दाउपेच छन् । जसले देशलाई बन्धक बनाएको छ । डेढ दर्जन बढी मन्त्रालयको जिम्मेवारी अझै प्रधानमन्त्री देउवाकै काँधमा छ । विभागीय मन्त्री नहुँदाको अपजस र असहजको भार प्रधानमन्त्री स्वयंम्ले भोगिरहेका छन् । एकैछिनलाई मानिदिऔं, प्रधानमन्त्री देउवा, नेपाल या यादवका आ आफ्ना अप्ठ्यारा, जटिलता र दुःख छन् । तर, यसरी मानिदिँदा नेताहरुको सिमित स्वार्थ देउपेचका कारण देशले पाइरहेको दुःख कदापि बिर्सिन मिल्दैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *