जहाँ पैसा होइन,शव आउँछ ! ३ महिनामा १ सय ८४ शव

आदर्श अनलाइन, काठमाण्डौं

पछिल्लो तीन महिनामा १ सय ८४ जनाको शव नेपाल आएको छ ।

रोजगार, अध्ययन लगायतको उद्धेश्य राखेर परदेशिएकाहरु मध्ये विभिन्न देशमा मृत्यू भएका १ सय ८४ मध्ये १ सय ७१ जना मृतकका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति दिएको छ ।

गत साउनदेखि असोज मसान्तसम्ममा १८४ जना कामदारको विमानस्थल आएको र शब ढुवानीको व्यवस्था बोर्डले गरेको कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । कोषले केही समययता मृतक कामदारको शव ढुवानीमा सघाउँदै आएको छ ।

बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषबाट मृतकका परिवारलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिन्छ भने बीमा बापतको रकम प्राप्त गर्न पनि सघाउँछ । कल्याणकारी कोष र आवधिक जीवन बीमा प्रक्रिया पुर्‍याएर गएका कामदारको मृत्यु भएमा कामदारको परिवारले १७ लाखसम्म क्षतिपूर्ति पाउन सक्छन् ।

आर्थिक वर्ष २०७५र७६ मा वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली कामदारको विदेशमा मृत्यु भएको थियो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मात्रै एक वर्षका बीचमा ७ सय ५३ जना मृतक कामदारका परिवारलाई क्षतिपूर्ति दिलाएको थियो । अवैधानिक रुपमा गएर मृत्यु हुने कामदारको परिवारले यस्तो क्षतिपूर्ति पाउन सक्दैनन् ।

तथ्यांकलाई केलाउँदा दैनिक औसत २ जना नेपाली कामदारको शब नेपाल भित्रिरहेको छ । यसमा विद्यार्थी भिसामा गएर ज्यान गुमाउनेहरुको तथ्यांक जोडिएको छैन । विदेशमा ज्यान गुमाएर फर्किने नेपालीहरुमा बहुसंख्यक तराई तथा पूर्वी, मध्य र पश्चिम पहाडी जिल्लाका युवा छन् । ताप्लेजुङ, पाँचथर, इलाम, सर्लाही, महोत्तरी, मोरङ, सर्लाही, सप्तरी, सुनसरी, सिराहा रुपन्देही, नवलपरासी, खोटाङ, गुल्मी, नवलपरासी, रोल्पा लगायतका जिल्लाका कामदारहरुले विदेशमा बढी ज्यान गुमाएको बोर्डको तथ्यांकले देखाउँछ ।

किन हुन्छ मृत्यु ?

विदेशमा धेरैले ‘कार्डिक एरेस्ट’ का कारण ज्यान गुमाएको पाइन्छ । तथ्यांकअनुसार वर्षौंदेखि नै यो समस्या नेपालीहरुमा उच्च छ । दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिक एरेस्टको शिकार हुने गरेका छन् ।

त्यसैगरी मादक पदार्थका रुपमा विभिन्न केमिकलहरु मिसाएर खाने तथा एकैपटक धेरै रक्सी खानेलगायतका कारण पनि हृदयाघात हुने गरेको घटनाहरुले पुष्टि गरेका छन् । असन्तुलित दैनिकी एवम् मानसिक तनावका कारण पनि नेपालीहरु विदेशमा हृदयघातको शिकार भएको बोर्डका अधिकारीहरु बताउँछन् ।

धेरै नेपालीहरुले सडक दुर्घटनामा परी मृत्यु अंगाल्नु परिरहेको छ । कार्यस्थलमा हुने दुर्घटनामा परेर मृत्यु हुनेहरुको संख्या पनि सानो छैन । यस्तो दुर्घटनामा बढीजसो निर्माण र औद्योगिक क्षेत्रका मजदुरहरु पर्ने गरेको बोर्डले जनाएको छ ।

बढी जोखमयुक्त काममा नेपाली कामदारलाई लगाइने कारण कार्यस्थलमा हुने दुर्घटनाबाट अंगभंग हुने नेपालीको संख्या पनि ठूलो छ । रोजगारीमा गएका नेपालीहरु अपराधको शिकार पनि बन्ने गरेका छन् । लुटेरा समूहको आक्रमणमा तथा व्यक्तिगत रिसइवीमा पनि हत्या हुने गरेका छन् । नेपालीहरु नेपालीसँगै तथा अन्य देशका कामदारसँग झगडा गरेर पनि धेरैले ज्यान गुमाउने गरेका छन् ।

त्यसैगरी केहीले मृत्यूदण्ड पाएका छन् भने प्राकृतिक प्रकोपका कारण केहीको मृत्यू भएको छ । कतिपयको मृत्यु चाहिँ कालगतिले नै हुन्छ । विदेशमा आत्महत्या गर्नेको संख्या पनि कम छैन ।-अनलाइन खबरबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *